ढाका । बङ्गलादेशको एक विद्यार्थी समूहले आफ्ना केही नेतालाई आइतबार हिरासतबाट रिहा नगरेसम्म प्रदर्शन पुन: सुरु गर्ने चेतावनी दिएको छ । प्रहरी र अस्पतालबाट प्राप्त एएफपीको तथ्याङ्कअनुसार गत हप्ता भएको हिंसामा कम्तीमा दुई सय पाँच जनाको मृत्यु भएको थियो ।
यो प्रधानमन्त्री शेख हसिनाको १५ वर्षे कार्यकालको सबैभन्दा ठूलो उथलपुथल हो । सेनाको गस्ती र राष्ट्रव्यापी निषेधाज्ञा (कर्फ्यु) आदेश लागू भएको एक हप्ताभन्दा बढी समय बितिसक्दा पनि जारी छ र प्रहरीले कम्तीमा आधा दर्जन विद्यार्थी नेतासहित हजारौँ प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ ।
आन्दोलनको आयोजक ‘स्टुडेन्ट्स अगेन्स्ट डिस्क्रिमिनेसन’का सदस्यले निजामती सेवा भर्ती नियमहरुको विरुद्ध अभियान चलाएका थिए । यसअघि, उनीहरुले यो हप्ता सप्ताहव्यापी विरोध स्थगन वा अन्त्य गर्ने बताए पनि प्रदर्शनकारी विद्यार्थी नेताको रिहाइ नभएको भन्दै आन्दोलन लम्बिन सक्ने चेतावनी दिएका छन् । “समूहका प्रमुख नाहिद इस्लाम र अन्यलाई रिहा गरिनुपर्छ र उनीहरुमाथि लगाइएको मुद्दा फिर्ता लिनुपर्छ,” अब्दुल हन्नान मसुदले शनिबार एक अनलाइनलाई दिएको जानकारीमा बताउनुभयो ।
मसुदले आफू अधिकारीबाट लुकेर बसेको कारण आफ्नो स्थान नखुलाएको बताउँदै प्रदर्शनकारीको मृत्युका लागि जिम्मेवार सरकारी मन्त्री र प्रहरी अधिकारीविरुद्ध ‘खुला कारबाही’ गर्न पनि माग गरेका छन् । उहाँले अगाडि भन्नुभयो, “प्रशासनले अझै पनि विद्यार्थीको मागलाई बेवास्ता गर्दै अघि बढेमा विभेदविरुद्ध विद्यार्थी समूहले सोमबारदेखि कडा आन्दोलन गर्न बाध्य हुनेछ ।
इस्लाम र प्रदर्शनकारी समूहका अन्य दुई वरिष्ठ सदस्यलाई शुक्रबार राजधानी ढाकास्थित अस्पतालबाट जबर्जस्ती डिस्चार्ज गरिएको थियो र सादा पोसाकका जासुसहरूको एक समूहले उनीहरुलाई लगेको थियो । यसै साताको सुरुमा इस्लामले एएफपीलाई दिएको जानकारीअनुसार प्रहरीले हिरासतमा दिएको यातनाबाट लागेको चोटका कारण अस्पतालमा उपचार गराइरहेको र आफू आफ्नो ज्यानको खतरामा रहेको बताउनुभएको थियो ।
गृहमन्त्री असदुज्जमान खानले तीनै जनालाई आफ्नो सुरक्षाका लागि हिरासतमा लिइएको बताए पनि उनीहरुलाई औपचारिक रूपमा पक्राउ गरिएको हो वा होइन भन्ने पुष्टि गर्नुभएन । प्रहरीले आइतबार एएफपीलाई दिएको जानकारीअनुसार जासुसहहरुले अन्य दुई जनालाई हिरासतमा लिएका छन् । ‘स्टुडेन्ट्स अगेन्स्ट डिस्क्रिमिनेसन’ अभियन्ताले एएफपीलाई आइतबार बिहान एक जनालाई नियन्त्रणमा लिइएको बताएका छन् । बङ्गलादेशको सबैभन्दा ठूलो दैनिक पत्रिका प्रोथोम आलोका अनुसार आन्दोलन सुरु भएयता देशभर कम्तीमा नौ हजार व्यक्तिलाई पक्राउ गरिएको छ । रासस