प्रत्यक्ष सिमाना जोडिएको भारत र चीनपछिको तेश्रो निकट छिमेकी देश बङ्गलादेशमा नेपालको जस्तै मानसिकता भएका नागरिक छन् । बङ्गलादेश अहिले अप्रत्याशित रूपले राजनीतिक सङ्कटमा फस्यो । त्यहाँ जनविद्रोह भएको छ । ऐतिहासिक पृष्ठभूमि एवम् १६ वर्षदेखि निरन्तर सत्तामा रहेकी प्रधानमन्त्री शेख हसिनाले देश छोडेर पलायन हुने परिस्थिति सिर्जना भयो । त्यसकारण त्यहाँको सङ्कटका कारणले नेपालमा पार्ने प्रभावबारे हामी सचेत हुनुपर्छ । बङ्गलादेशमा अराजक स्थिति फैलिरह्यो र नियन्त्रण हुन सकेन भने नेपालमा घुसपैठ हुनसक्छ । यसमा सबै सचेत हुनुपर्छ ।
अर्को भनेको त्यहाँ भएका अझै चार सय नेपाली विद्यार्थीको चिन्ता हो । अहिले त्यहाँ एकाएक जनविद्रोह बिस्फोट भएको छ । जुन आरक्षणको विषय समाधान भइसकेको थियो । यसको पृष्ठभूमिमा रहेको कुशासन, भ्रष्टाचार, जनआकांक्षाको उपेक्षा नहोस् भन्नेतर्फ ध्यान नदिनुको अहिलेको परिणाम हो । नागरिकको जल्दोबल्दो विषयमा जोडिएका मुद्दामा ढिलाई नहोस् भन्ने पाठ यो घटनाबाट नेपालका राजनीतिज्ञले सिक्नुपर्ने देखिन्छ । त्यसैले हाम्रो सरोकार बङ्गलादेशसँग छ । धेरै हिसाबले हामीले चासो चिन्ता लिनुपर्ने देखिन्छ ।
नेपालमा पर्ने तत्कालको प्रभाव भनेको मुख्य व्यापारको आयात निर्यात ठप्प हुनु हो । नेपालबाट बङ्गलादेशमा ४० मेघावाट बिजुली निर्यात गर्ने भनेर अन्तिम चरणमा पुर्याएका छौँ । त्यसको सम्झौता गरेर पठाउने काम आउँदै थियो । अहिलेलाई त्यो रोकिएको छ । बङ्गलादेशसँग भएका कयौँ सन्धि सम्झौतालाई फेरि जोड्ने कुरा हुनसक्छ । योभन्दा पनि महत्त्व भनेको त्यहाँ रहेका नेपाली नागरिकको सुरक्षा र त्यहाँको सङ्कटप्रति सजगतापूर्वक हेर्न जरुरी छ ।
भारतसँगको खुला सीमाना भएका कारण नेपालका पूर्वी सीमामा निगरानी बढाएर नेपाल प्रवेश जोकोहीलाई कडा जाँच गरी प्रवेश गराउनुपर्ने आजको आवश्यकता हो । बङ्गलादेशसँग नेपालको थुप्रै कुराहरु पाइपलाइनमा छन् । जस्तै बीबीआईएम सम्झौता जसले ‘प्यासेन्जर भेइकल मोटर प्रोटोकल’ र ‘कार्गो भेइकल मोटर प्रोटोकल’ भन्ने छ । अहिलेसम्म बङ्गलादेशी नम्बर प्लेट भएका गाडी नेपाल आउन नसक्ने परिस्थिति छ । उताबाट आउने सामान बाकेको ट्रक नेपालमा आउन नसक्ने र नेपालका ट्रक सीमा क्षेत्रमा गएर ल्याउनुपर्ने बाध्यता छ । यताबाट सामान बोकेका ट्रक पनि सीमा क्षेत्रसम्म गएर बङ्गलादेशका ट्रकमा सामान सार्नुपर्ने बाध्यता छ ।
त्यस्तै यात्रुले पनि निजी गाडी लिएर सहज यात्रा गर्न सक्ने बीबीआईएन सम्झौतालाई अगाडि बढाउन काम बाँकी नै छ । यस सम्झौतामा नेपाल, भारत, बङ्गलादेश र भुटानमा आफ्नो देशको नम्बर प्लेट भएका गाडी सहज रूपमा आहोरदोहोर गर्न पाउने भन्ने छ । जसमा भुटानले शुरुवाती चरणमा अवलोकन गर्ने भनेर अन्तिम टुङ्गोमा आइसकेको अवस्था छ । जसले गर्दा बङ्गलादेशबाट झन्डै १० लाख पर्यटक नेपाल ल्याउन सकिन्छ । यी कुरालाई अगाडि बढाउने बेलामा यस्तो घटना घटेको छ । सम्झौता भएका सन्धि अब के हुन्छ भन्ने भयो ।
त्यस्तै ‘प्रिफेन्सियल ट्रेड एग्रिमेन्ट’ (पीटीए) आर्थिक सन्धि छ । यसमा छलफल भएर अन्तिम टुङ्गो लाग्न मात्र बाँकी छ । यो सम्झौतामा बङ्गलादेशले लगाउँदै आएको अतिरिक्त शुल्कहरु हटाउने भन्ने थियो । यसलाई सम्पन्न गर्नुपर्ने विषय अड्कियो । साथै नेपालबाट प्राकृतिक वस्तु निर्यात गर्ने विषयमा पनि प्रभाव पर्न सक्छ । त्यसैले अब बङ्गलादेशमा आउने नयाँ सरकारसँग कुराकानी गरेर सहजीकरण गनुपर्छ ।
यसका साथै नेपालसँग बङ्गलादेश ऐतिहासिक, सांस्कृतिक र आर्थिक सम्बन्ध भएको देश हो । नेपाल रहेको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि खाडीको प्रयास बिमस्टेकको प्रधान कार्यालय भएको देश पनि हो । यसबाट हामीले लाभ लिने विषय थिए । त्यसैगरी कृषिका विषय थिए । अहिलेको अवस्थाले बङ्गलादेशसँग हुने सबै आदानप्रदान ठप्प भएको छ ।
बङ्गलादेशको घटनाले दिएको सन्देश
बङ्गलादेशबाट नेपालले पाठ सिक्नैपर्छ । विकास निर्माण र आर्थिक वृद्धिले मात्र नागरिक सन्तुष्ट नहुन सक्छन् । भ्रष्टाचार मौलाउने, मानिसले बोल्न लेख्न नपाउने जस्ता मूल्य, मान्यता कुल्चियो भने पार पाउने अवस्था नहुँदो रहेछ भन्ने पाठ सिक्नुपर्छ । राजनीतिक नेतृत्व सन्तुलित हुनुपर्छ ।
सरकारले प्रजातान्त्रिक मूल्य मान्यतालाई सन्तुलित राख्ने र केही मुद्दा उठ्यो भने शान्तिपूर्वक समाधान गराउनुपर्छ । बङ्गलादेशका नोबेल पुरस्कार पाएका महोम्मद युसूफ जस्तो व्यक्तिलाई थुनामा लैजाने खालका काम भयो । उहाँलाईसमेत त्यहाँ निस्सासिएर बस्नुपर्ने स्थितिमा राखिएको थियो । त्यस्तै पत्रकारले बोल्यो र लेख्यो भने राज्यबाटै डराउनुपर्ने अवस्था उत्पन्न भयो । राज्यले दमन गर्यो भने जनविद्रोह हुन सक्छ भन्ने पाठ नेपालले लिनुपर्छ ।
अर्को विषय भनेको एउटै व्यक्ति लामो समयसम्म सत्तामा रहनु उपयुक्त हुँदैन भन्ने बुझ्नुपर्छ । किनकी त्यसले तानाशाही प्रवृत्ति मौलाउने, दम्भ मौलाउने र सुशासनलाई ध्यान नदिने खालको प्रवृति देखा पर्छन् । जसले राष्ट्रलाई नै सङ्कटमा पार्छ भन्ने उदाहरण बङ्गलादेशको यो घटना देखाएको छ ।
अन्य देशमा धेरैजसो दुई पटक मात्र कार्यकारी प्रमुखमा हुन्छन् । त्यहाँ राष्ट्रिय स्थायित्व रहन्छ । जुन देशमा लामो समयसम्म एउटै व्यक्तिले सरकारमा रहेर शासन गर्छ यो कुराले कुनै पनि देशमा असन्तुष्टि बढाउँछ । त्यसैले नेपालमा पनि एउटा व्यक्ति दुई पटकभन्दा बढी प्रधानमन्त्री वा कार्यकारी प्रमुख जान नपाउने व्यवस्था गराउनुपर्छ भन्ने बहस चलाउनुपर्ने आवश्यकता देखिन्छ ।