जिराभवानी । जीराभवानी मन्दिरमा लागेको त्रयोदशीको साउने मेला आजदेखि विधिवत् रुपमा समापन भएको छ । हरेक वर्ष साउन महीनाको शुक्लपक्षको त्रयोदशीको दिन लाग्ने मेला यस वर्ष आज सम्पन्न भएको हो ।
आज मेलामा पछिमी नवलपरासी जिल्ला र भारतको पश्चिमी चम्पारणको दोसाँधमा पर्ने पवित्र तीर्थस्थल त्रिवेणीधामबाट जल भरेर काँवरियाहरूले जीराभवानी मन्दिरमा बटेश्वरनाथ बाबालाई चढाएका थिए । जीराभवानी काँवरिया सङ्घको आयोजनामा काँवरियाहरू साउन २७गते प्रस्थान गरी त्रिवेणीधामबाट जल भरी पाँच दिनको पैदल यात्रापछि आज बिहान जीराभवानी मन्दिरको बटेश्वरनाथ बाबालाई जल चढाएका हुन् ।सो यात्रामा जीराभवानी गापा अन्तर्गत सेढवा, जीतपुर, नौकाटोला, परसवा, महादेवपट्टी, पकडीटोला, जगतिया, गम्हरिया, भवानीपुर, वसन्तपुर, काठमाडौंटोल, हरैया, सखुवनिया, शङ्करसरैया, कोढौली, सढी, सुपौली र जगरनाथपुर गापा अन्तर्गतका पिडारी, पिपलडाँढी तथा छिमेकी भारतका सिस्वा, धुमाटाड जसौली, रामपुर लगायतबाट करीब ९००जना काँवरिया सहभागी थिए ।
काँवरियाहरूले जल भरी गण्डक नहरको भारतीय बाटो भएर नौतनवा, बेलसन्ठी, शुभद्रा र धुमाटाडमा बास बसेर आज जीराभवानी मन्दिरमा पुगी विधिपूर्वक जल चढाएका हुन् ।काँवरियाहरूको स्वागत गर्न जीराभवानी गापाध्यक्ष अनोज चौधरी, उपाध्यक्ष रेखा चौधरीलगायतका स्थानीय जनप्रतिनिधिहरूको सहभागिता थियो । गाउँपालिकाले काँवरियाहरूको लागि काँवरसहित खाजा, पानी र विश्रामस्थलको व्यवस्थापन गरेको थियो ।साथै बिभिन स्थानीय सघ सस्थाले निशुल्क पानी र फ्रुटी बितरण गरेका थियोे