सिरहा । सिरहा प्रहरीले सुनचाँदीका गरगहनासहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले शुक्रबार सिरहा नगरपालिका-७ महिसोथाबाट सुनचाँदीका गहनासहित एक जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा पाँचथरको आरुबोटे नगरपालिका-५, बाजघरा स्थायी घर भई हाल झापा जिल्लाको दमक बस्ने २८ वर्षीय रोशन बराइली छन् । उनको साथबाट सुन र चाँदीका गरी साढे ५ लाख बराबरको अवैध गरगहना बरामद भएको छ ।
बराइलीको साथबाट चाँदीको बाला ६४ थान, ब्रासलेट ११ थान, चुरा २९ थान र रड एक थान गरी २ लाख १७ हजार ६ सय ८० रुपैयाँ बराबरको २६५२.४ ग्राम चाँदीका गहना बरामद भएको छ ।
यसैगरी, हरियो पोतेमा सुन जडित माला १८ थान, रातो पोतेमा सुन जडित माला ३० थान, सेतो मोतीमा सुन जडित माला ५ थान, खुल्ला चन्द्रमा ६ थान, पोतेमा जडित चक्र ८ थान, पोतेमा जडित मंगलसुत्र १ थान गरी ३ लाख ३५ हजार २ सय २८ रुपैयाँ बराबरको २६.०५ ग्राम सुनका गरगहना भएको जिल्ला प्रहरी कार्यालय, सिरहाले जनाएको छ ।
प्रहरीले उनको प्रदेश-१-०१-०१४ प ४६२५ नम्बरको अपाचे मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ । सिरहाबाट चोहर्वातिर गइरहेका उनलाई प्रहरीले शंका लागेर चेकजाँच गर्दा उनले बोकेको झोलाबाट बिना बिलबिजकको उक्त अवैध गरगहना बरामद भएको थियो ।
यस विषयमा थप अनुसन्धान भइरहेको र पक्राउ परेका व्यक्ति, गरगहना तथा मोटरसाइकल राजस्व अनुसन्धान कार्यालय, इटहरीलाई जिम्मा लगाउने तयारी भइरहेको सिरहाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश पण्डितले जानकारी दिए ।