सिराहा। सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–११ मा बोरिङ जडानका क्रममा उपभोक्ताबाट रकम असुली गरेको आरोप लागेको छ। स्थानीय उपभोक्ताहरूले वडा अध्यक्ष अशोक श्रेष्ठको मिलेमतोमा प्रति बोरिङ ३० देखि ४० हजार रुपैयाँसम्म रकम उठाएको बताएका छन्।
उपभोक्ता उषा महतोका अनुसार, उनले सहित ६ परिवारले ७ हजारका दरले जम्मा ४० हजार रुपैयाँ वडा अध्यक्ष श्रेष्ठको निर्देशनमा पवन महतोलाई बुझाएको आरोप लगाएका छन्। उनले भनिन्, “पैसा जम्मा नगरेसम्म बोरिङ नदिने भनेपछि हामीले ७ हजारका दरले उठाएर ४० हजार पवन भाइलाई दियौँ। त्यसमध्ये १० हजार फिर्ता दिने भनेको थियो, तर अझै फिर्ता भएको छैन।”
सिंहेश्वर ठाकुर र धुर्निदेवी महतोले पनि आफूहरूले ३०/३० हजार रुपैयाँ बुझाएको दाबी गरेका छन्। वडा नम्बर ८ का उपभोक्ता उपेन्द्र महतोबाट समेत रकम असुल भएको बताइएको छ।
रकम असुलीका लागि गठन गरिएको समिति अपारदर्शी ढंगले निर्माण भएको स्थानीयहरूले आरोप लगाएका छन्। सबैभन्दा बढी बोरिङ जडान लक्ष्मी यादवको नेतृत्वमा रहेको समितिले गरेको जनाइएको छ, जसका अध्यक्ष यादव वडा कार्यालयका कर्मचारी रहेको खुलासा भएको छ।
योजनाका सचिव सूर्यनारायण महतोले भने आफू उपभोक्ता समितिमा रहेको जानकारी नै नभएको बताए। उनले भने, “म समितिमा बसेको जानकारी छैन, बुझेर थप कुरा भन्छु।”
यस सम्बन्धमा वडा अध्यक्ष श्रेष्ठले भने आफूले कुनै रकम नलिएको दाबी गरेका छन्। उनले भने, “मैले पछि काम लाग्छ भनेर उठाउन भनेको थिएँ, तर त्यो पैसा मैले लिइनँ। अरू के भयो थाहा भएन।”
यता पवन महतोले सुरुमा आफू यस प्रक्रियामा संलग्न नभएको बताउँदै पछि पाइप लाइन र धाराहरू जडान गर्नका लागि पैसा उठाएको स्वीकार गरेका छन्।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार दासले भने, “मकहाँ पनि यस्तो कुरा आएको छ, तर समयमा काम सम्पन्न नभएकोले योजनाहरूको भुक्तानी समेत नभएको जानकारी पाएँ।”
यस घटनाले धनगढीमाई नगरपालिकामा उपभोक्तामाथि असुली र भ्रष्टाचारको गम्भीर प्रश्न खडा गरेको छ।