काठमाण्डौ । कृष्णजन्माष्टमीको दिन आज देशभरका कृष्ण मन्दिरहरुमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । ललितपुरको पाटनमा रहेको कृष्ण मन्दिरमा पूजाअर्चनाका लागि दक्षिण र उत्तरतर्फ दर्शनार्थीका लागि लाइनको व्यवस्था गरिएको छ ।
भक्तजनको लाइन व्यवस्थापनका लागि नेपाल स्काउट, ललितपुर महानगर प्रहरीले सहयोग गरेका छन् । यस्तै इमाडोलको कृष्ण मन्दिर, कागेश्वरी मनोहरा नगरपालिकामा रहेको नवतनधाम, बूढानीलकण्ठमा रहेको श्रीकृष्ण मन्दिर, बत्तीसपुतलीमा रहेको श्रीरामचन्द्र मन्दिर परिसरसहित काठमाण्डौ उपत्यका बाहिरका कृष्ण मन्दिरहरुमा पनि दर्शनार्थीको घुइँचो लागेको छ ।
द्वापर युगमा भाद्र कृष्ण अष्टमीको मध्यरातमा भगवान विष्णुको आठौँ अवतारका रूपमा कृष्ण जन्मिएका विश्वास गरिन्छ ।
आज देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ । आजको दिनलाई कृष्णअष्टमी र रातलाई मोहरात्रि भनिन्छ । अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न जन्मनुभएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्नुभएको थियो ।
लोकमा अधर्म बढ्दै जाँदा भगवानले विभिन्न रूप लिने परम्पराअनुरूप कंसलगायत दानवको अन्त्यका लागि नारायणले कृष्णको रूप लिएको विश्वास छ । कंसको कालकोठरीमा वासुदेव र देवकीको पुत्रका रूपमा जन्मिएका कृष्णले मथुरामा देखाएको बाललीला र महाभारत युद्धअघि अर्जुनलाई दिएको गीताज्ञान प्रख्यात छ ।
कंस र उनका सहयोगी शकट, भञ्जन, तृणवर्त, वत्सासुर, बकासुर पुतना लगायतको दमन गरी कृष्णले लोकमा शान्ति कायम राखेको पुराणमा उल्लेख छ । नेपालभर रहेका श्रीकृष्णमन्दिरमा आजका दिन घुइँचो लाग्ने गर्छ ।