वीरगंज । विश्वमा निःसन्तानपन र बाझोपन एउटा जटिल समस्या बन्दै गइरहेको छ । विवाह भएको लामो समय बितिसक्दा पनि सन्तान नभएर धेरै दम्पतीहरू चिन्तित बनेका छन् । ती नै दम्पतीहरूको सन्तानको चाहना पुरा गर्ने उद्देश्यले ल्याइएको उपचार पद्धति ‘आइभिएफ’ हो । अहिले जनमानसमा आइभिएफ बारेमा धेरै चर्चा हुने गरेको छ । आइभिएफ गरेर सन्तान जन्माउँदा बच्चा एबनर्मल जन्मिन्छ वा ९ महिना नै बेड रेस्ट गर्नुपर्छ भन्ने भ्रम फैलिएको पाइन्छ ।
तर आइभिएफ गर्दैमा बच्चा एबनर्मल नजन्मिने सुर्या आइभिएफका डा. मोनिका यादवले बताइन् । उनले सामान्य गर्भधारणमा पनि कहिलेकाहीँ एबनर्मल बच्चा जन्मिने र आइभिएफमा पनि कहिलेकाहीँ त्यो सम्भावना रहने बताइन् । त्यसोभए आइभिएफ उपचार के हो त ? यो उपचार किन र कसरी गर्ने ? यो उपचार गर्दा कति खर्च लाग्छ ? आइभिएफ गरिसकेपछि बच्चा जन्माउने सम्भावना कत्तिको हुन्छ ? लगायतका प्रश्नहरूमा वीरगंजस्थित सुर्या आइभिएफ सेन्टरका आइभिएफ विशेषज्ञ एवं डबल गोल्डमेडलिस्ट डा. मोनिका यादवसँग ज्योति दैनिकले गरेको कुराकानीको सम्पादित अंश :-
१. आइभिएफ भनेको के हो, कस्तो समस्या भएका मानिसहरूलाई आइभिएफ उपचारको आवश्यक पर्छ ?
आइभिएफ भनेको इनभिट्रो फर्टिलाईजेसन हो, यो भनेको भ्रूण ल्याबमा विकाश गराउने हो । यसमा महिलालाई इन्जेक्सन दिएर डिम्बबाट धेरै अण्डा विकाश गराएर अण्डा झिकिन्छ । अण्डा झिकेपछि ल्याबमा शुक्रकीटसँग मेल गराएर भ्रूण बनाइन्छ । त्यसरी बनिसकेको भ्रूणलाई पनि हामी ल्याबमै राखेर विकाश गराउँछौँ । त्यसपछि फेरि गएर महिलाको पाठेघरमा हस्तान्तरण गर्छौँ । यो प्रक्रियालाई नै हामी आइभिएफ भन्छौँ ।
२. आइभिएफ गरेर बच्चा जन्माउन कति समय लाग्छ ?
सबैको समयावधि एउटै हुँदैन । सामान्यतया कस्तो छ भने सुई लगाएदेखि अण्डा झिकेको र त्यही साइकलमा हामीले ट्रान्सफर गर्यौँ भने डेढ दुई महिनामै यो प्रक्रिया सकिन्छ । तर होइन हामीले अण्डा झिकेर भ्रूण बनाएर फेरी त्यो भ्रूणलाई फ्रिज गरेर, महिलालाई फेरि महिनावारी गराएर, पाठेघरको लाइनिङ बनाएर भ्रूण हस्तान्तरण गर्यौ भने लगभग २ देखि साढे दुई महिना लाग्छ ।
३. निः सन्तानपन, बाझोपनको समस्या भएर उपचारका लागि आउने मानिसको संख्या कस्तो छ ?
उपचारको कुरा गर्नुपर्दा नेपालमा मात्रै होइन, विश्वमा नै निःसन्तानपन बढी रहेको छ । पहिले निःसन्तानपनको दर महिलामा धेरै देखिने र पुरुषमा कम देखिने हुन्थ्यो । तर अहिले दुवैमा धेरै देखिएको छ । नेपालकै कुरा गर्ने हो भने वैदेशिक रोजगारले निःसन्तानपन बढिरहेको हामीले पाएका छौँ ।
४. के कारणले निःसन्तानपनको समस्या हुन्छ ?
यसका विभिन्न कारणहरू हुन्छन् । महिलाकै कुरा गर्ने हो भने विवाह गर्ने उमेर पहिले भन्दा अहिले ढिलै छ । पहिले २२ वर्षभन्दा मुनि नै विवाह गर्ने चलन थियो भने अहिले त्यही कुरा ३५ वर्ष वा ३५ पछि वा ४० पनि पुगेको देखिरहेका छौँ । महिलाको हकमा डिम्ब जति उमेर बढ्दै गयो त्यो त्यत्ति नै कम हुँदै जाने हो । ढिलो विवाह गर्यो भने विवाहको भण्डारण पनि कम हुँदै जान्छ । बच्चा पाउँछु भन्दा पनि सजिलैसँग बच्चा नभइदिने, त्यो समस्या पनि आउँछ । त्यसपछि विवाह छिट्टै गरेपनि करिअर बनाउन बच्चा बनाउने कुरालाई पछि सार्ने र पुरुषकै कुरा गर्ने हो भने वैदेशिक रोजगारमा गएकाहरूको धेरैमा वीर्यमा समस्या देखिरहेका छौँ । वैदेशिक रोजगार अहिले निःसन्तानपनको लागि ठुलै समस्याको रुपमा देखिएको छ । त्योबाहेक अहिले बाहिरी प्रदूषण, खानपान र जङ फुडहरूले गर्दा पनि महिला र पुरुष दुवैको शुक्रकीट र अण्डामा भण्डारण छिटै नै कम हुने देखेका छौँ । त्यस्तै पुरुषहरूले चुरो, रक्सी धेरै सेवन गर्नाले पनि शुक्रकीटमा निःसन्तानपन बढेको हामीले पाइरहेका छौँ ।
५. पहिले गर्भनिरोध औषधि खाएर बच्चा नभएका तर पछि फेरी बच्चा जन्माउन चाहनेहरूका लागि पनि यो उपचार उपयोगी हुन्छ ?
पहिले विशेषगरी गर्भ निरोध औषधि खाएपछि बच्चा हुन गाह्रो भयो भन्ने थियो । तर त्यस्तो होइन । गर्भ निरोधक खाने औषधिहरूमा सबैभन्दा छिटो प्रजनन क्षमता फिर्ता पाउने भनेकै निलोकन गर्भनिरोध चक्की हो । तपाईँले छाड्ने बित्तिकै २, ३ साइकलमा आफै ठिक भइहाल्छ । अर्को भनेको डिको इन्जेक्सन हो । त्यसमा अलिकति फर्टिलिटि आउन चैँ ढिलो हुन्छ तर त्यो लिँदैमा तपाईँको प्रजनन क्षमता कम भइहाल्छ भन्ने चाहिँ होइन ।
६. आइभिएफ गरेपछि सन्तान जन्माउने सम्भावना कत्तिको हुन्छ ?
निको भएको उदाहरणहरू त धेरै नै छन् तर यो १०० प्रतिशत नै निको हुने समाधान भने होइन ।, ‘कुनैपनि विधिबाट बच्चा भएन अब म आइभिएफ गर्न लागेको छु , अब मेरो बच्चा सय प्रतिशत नै हुन्छ है’ भनेर धेरैले सोध्नुहुन्छ, तर ती दम्पतीहरूलाई के भन्न चाहन्छु भने आइभिएफ गरेर मात्रै तपाईँको सय प्रतिशत नै बच्चा हुने सम्भावना हुँदैन । विश्वव्यापी सक्सेस डाटालाई हेर्ने हो भने पनि अधिकतम ५० देखि ६० प्रतिशत मात्र हुन आउँछ । कुनै महिलामा समस्या हुनसक्ला, कुनैको पुरुषमा समस्या हुन सक्ला तर आइभिएफ गर्दैमा तपाईँको सय प्रतिशत नै समाधान हुन्छ भन्ने हुँदैन ।
७. आइभिएफ गर्दा कुनै साइड इफेक्ट वा ज्यानै जाने जोखिम हुन्छन् कि ?
जुनैपनि प्रक्रियामा धेरथोर साइड इफेक्ट त हुन्छन् नै । तर मेजर साइड इफेक्ट भनेको चैँ पोलिसिस्टिक ओभरियन सिन्ड्रोम (PCOS) भएका महिलाहरूलाई आइभिएफको प्रोसेसमा इन्जेक्सन दिएर अण्डा बनाउँदाखेरि ओवरी हाइपरस्टिमुलेशन सिंड्रोम (OHSS) भनेर एउटा कम्प्लिकेटेट हुनु कमन हो । त्यस्तो अवस्थामा पेटमा पानी जम्मा हुने, फोक्सोमा पानी जम्ने, पेट दुख्ने, फुल्ने वा बान्ता आउने सम्भावना हुन्थ्यो पहिले, तर अहिले टेक्नोलोजी एडभान्स भएको कारणले विभिन्न दबाइहरूको प्रयोग गरेर आइभिएफ प्रोसेसमा यसलाई पनि कम गर्या छ । तर आइभिएफ गर्दा ओएचएस भनेर पानी जम्मा हुने एउटा समस्या चैँ मेजर रूपमा देखिरहेका छौँ । तर ज्यानै जान सक्ने जोखिम चाहिँ एकदमै कम छ ।
८. सुर्या आइभिएफमा नै किन उपचार गराउने ?
मधेश प्रदेशको पहिलो आइभिएफ वीरगंजस्थित सुर्या आइभिएफमा आधुनिक टेक्निकल मेसिनहरूको प्रयोग गरिएको छ । मेसिन मात्र नभएर दक्ष चिकित्साहरू पनि हुनुहुन्छ । भ्रूण र बच्चा सफल हुनका लागि ल्याबको पनि उत्तिकै महत्वपूर्ण भूमिका रहन्छ । यहाँ सबै टिम नै राम्रो हुनुहुन्छ । त्यसैले म सुर्या आइभिएफमा नै आउन भन्छु । त्यतिमात्र नभएर अहिले हामीले सबैको पहुँच पुग्नेगरि शुल्क ताकेका छौँ । पैसाकै कारणले आइभिएफ गर्न नपाएका निम्नवर्गिक दम्पतीलाई लक्षित गरेर विभिन्न प्याकेजहरू ल्याएका छौँ । त्यसैले पनि म सुर्या आइभिएफमा आउन सल्लाह दिन्छु ।
९. सुर्या आइभिएफको लक्षित समूहहरू को हुन् ?
खागसरि जो निःसन्तान दम्पतीहरू हुनुहुन्छ वहाँहरू सबै नै हाम्रो लक्षित समुदाय हो । तर अहिले आर्थिक मान्दिले गर्दा धेरै मानिससँग पैसा छैन । पैसा नभएकै कारण सन्तान जन्माउने कुराबाट कोहिपनि वञ्चित नहोस् भनेर हामीले निम्न वर्गलाई पनि लक्षित गरेर विभिन्न प्याकेजहरूमा आइभिएफ गरिरहेका छौँ ।
१०. निःसन्तानपन रोक्नको लागि कस्तो पूर्व तयारी गर्नुपर्ला ?
तपाईँले ढिलै विवाह गर्नुभएको छ वा भरखरै विवाह गर्नु भएको छ, त्यसमा के छ त अवस्था भनेर सामान्य चेकजाँच गर्नुभएमा राम्रो देख्छु म । तपाई २८ वर्षको हुनुहुन्छ वा ३० वर्षकै हुनुहुन्छ । विवाह गर्ने योजना तपाईँले ३५ वर्षमा बनाउनु भएको छ भने पनि ३० वर्षकै उमेरमा आएर डाक्टरहरूसँग अण्डाको रिजर्भहरू कस्तो छ, के छ , पुरुषले पनि वीर्यमा जाँच गरेर ठिक छ छैन, आफू कहाँ छु भनेर थाहा पाउनु हुन्छ । यदि टेस्टमा केही असामान्य देखियो भने तपाईँले छिटै नै बच्चाको योजना बनाउनु पर्ने वा विवाहको योजना बनाउनुपर्ने हुनसक्छ । त्यो एउटा माइन्डमेकप गर्न सक्नुहुन्छ कि म संग समय छ, छैन भनेर । मैले ढिलै विवाह गरेपनि मलाई केही समस्या हुँदैन, भन्ने हुन्छ । त्यसकारणले एकचोटि डाक्टरहरूसँग सल्लाह लिनुभयो भने पछि गएर यो निःसन्तानपनको लागि गर्नुपर्ने सङ्घर्ष कम हुन्छ । यो विवाहितका लागि मात्र नभएर अविवाहितहरूका लागि पनि उत्तिकै उपयोगी हुन्छ ।
११. निःसन्तान भएका दम्पतीहरूलाई आइभिएफको बारेमा के सल्लाह दिनुहुन्छ ?
जनमानसमा आइभिएफ बारेमा बच्चा ल्याबमा बनाइन्छ, एबनर्मल बच्चा जन्मिन्छ वा आइभिएफ गर्दा ९ महिना नै बेड रेस्ट गर्नुपर्छ भन्ने भ्रम फैलिएको देखेका छौँ । उहाँहरूलाई के भन्न चाहन्छु भने आइभिएफ गर्दैमा बच्चा एबनर्मल हुने भन्ने होइन । सामान्य गर्भधारणमा पनि एबनर्मल बच्चा त भइरहेको हुन्छ र यसमा पनि त्यस्तो सम्भावना हुन्छ । र अर्को भनेको आइभिएफ गर्दैमा ९ महिना नै बेड रेस्ट भन्ने हुँदैन । तपाईँको केही जोखिम देखियो भने चैँ बेड रेस्ट गर्नुपर्छ। जस्तो रगत बग्यो भने बेड रेस्ट गर्नुपर्ने हुनसक्छ । जुन नर्मल गर्भधारणमा पनि बेड रेस्ट गर्नुभएको सुन्नुभएको होला । आइभिएफ पनि त्यस्तै हो । बेड रेस्ट नै गर्नुपर्ने भन्ने हुँदैन । कति महिलाहरू बच्चा जन्माएर फेरि काम गर्नुभएको पनि उदाहरणहरू छन् । त्यसैले आइभिएफलाई त्यसरी नकारात्मक रुपमा नहेर्नुहोला । आइभिएफ सय प्रतिशत नै उपचार हो भन्ने पनि नसोच्नु होला । तर बेलैमा चेकजाँच गराउनु भयो भने भविष्यमा निःसन्तानपनको जोखिम कम हुन्छ ।
१२. आइभिएफ गर्दा कति खर्च लाग्छ ?
आइभिएफ गर्दा यति नै खर्च लाग्छ भन्ने छैन । दम्पती हेरिहेरी हुन्छ, कुन दम्पतीलाई कस्तो प्रक्रियाबाट गराउने हो भन्ने हुन्छ । सामान्यतया दुई देखि तीन लाखसम्म लाग्नसक्छ ।
१३. आइभिएफ गरेर पनि बच्चै नहुने दम्पतीहरूलागि अन्य विकल्पहरू के हुनसक्छ ?
यदि महिला र पुरुषमा जतिगरेपनि समाधान नहुने, बच्चै नै नहुने देखिएमा त्यस्तोको विकल्प सरोगेसी वा एडप्सन नै हुनजान्छ ।