जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले धनुषाको विदेह नगरपालिकास्थित वैदेही स्कुल टोलको मुसहर बस्तीमा पुगेर मुसह समुदायका समस्याबारे जानकारी लिएका छन् ।
महिनामा एक पटक एक दलित बस्तीमा पुगेर त्यहाँका विकास निर्माण, शिक्षा, स्वास्थ्य तथा जीविकोपार्जन लगायत समस्याका बारेमा स्थानीयसंग छलफल गर्ने कार्यक्रमअनुसार मुख्यमन्त्री सिंह मंगलबार वैदेही स्कुल टोलको मुसहर बस्तीमा पुगेका हुन् । मुख्यमन्त्री सिंहले महिला, बालबालिका, युवा तथा वृद्धसँग उनीहरूका समस्याका बारेमा जानकारी लिए । बस्तीका विभिन्न घरका दैलौमै बसेर उनले मुसहर समुदायका बालबच्चाको पढाइलेखाइ, स्वास्थ्योपचारका व्यवस्था, सरसफाइ, आयआर्जनका कामसँगै बानीव्यवहारका बारेमा सवालजवाफ गरे।
मुख्यमन्त्री सिंहले संघीयताका कारण जनप्रतिनिधिका रूपमा स्थानीय तहमा दलित महिलाको प्रतिनिधित्व भएको भन्दै संघीयता संस्थागत गर्ने जिम्मेवारी सबै समुदायका जनताको रहेको समेत बताए ।
मुख्यमन्त्री सिंहले गत दुई दशकमा अन्य समुदायमा परिवर्तन आए पनि मुसहर समुदायमा त्यस्तो हुन नसकेको भन्दै मुसहर बस्तीका बच्चाको शिक्षामा पहुँच सुनिश्चित गर्न राज्य र समुदाय दुवै स्तरबाट पहल हुनुपर्ने बताए । उनले कम उमेरमा छोरीको बिहा नगरी लेखपढ गराएर मात्र बिहेबारी गर्न मुसहर महिलालाई सुझाए ।
मुख्यमन्त्री सिंहले मुसहर बस्तीका महिलाहरूलाई भने, ‘बच्चालाई घाँसदाउरा र मेलापात गराउने, वस्तुभाउका हेरालु बनाउने र अन्य घरका कामकाज गराउनेतिर नलाग्नुस्, सधैँ स्कुल पठाउनुस्, स्कुलबाट फर्कँदा घरमा पढोस् भन्ने कुरामा जोड गर्नुस् । समुदायको मुहार आपसेआप फेरिन्छ ।’
मुसहर बस्ती भ्रमणक्रममा मदिरा बिक्रीवितरण हुने रक्सी पसलअघि पुगेका मुख्यमन्त्री सिंहले रक्सीका कारण समाज बन्न नसकेको भनेपछि बिक्रीका लागि भुइँमा फिजाएर राखिएका रक्सीका बोतल पसलेले तत्काल हटाएका थिए उनले जाँडरक्सी सेवन गर्ने समुदायका पुरुषलाई लक्षित गर्दै ‘साँझको अफिस’ बन्द गर्न आग्रह गरे । उनले त्यसो भनेपछि दुःख गरेर कामएको पैसाबाट दिनहुँ रक्सी खानेहरूका बारेमा समुदायका महिला समेतले मदिरापानलाई साँझको अफिस भन्न थालेका थिए ।