जनकपुर । जसपा नेपाल मधेशकी सांसद ललिता दासले मधेश प्रदेश सरकारले वन अधिकृत सरुवाका लागि रकमको चलखेल भएको आरोप लगाएकी छन् ।
मधेश प्रदेशसभा बैठकमा जसपा नेपालका नेतृसमेत रहेकी प्रदेशसभा सदस्य ललिता दासले ८ वटै जिल्लाका वन कार्यालयका वन अधिकृत सरुवामा मुख्यमन्त्री सतीशकुमार सिंहले रकम लिएर गरेको आरोप लगाइन् । उनले लहानका प्रमुख (अधिकृत) सुजितकुमार झाको सरुवामा मुख्यमन्त्री सिंहले रकम खाएको आरोप लगाइन् ।
प्रदेशसभा बैठकमा बोल्दै सांसद दासले उत्कृष्ट काम गरेका वन अधिकृत झाको अचानक सरुवा गरेर मुख्यमन्त्रीले रकम खाएर गरेको आरोप लगाइन् । प्रदेशसभा सदस्य ललिता दासले भनिन्, ‘अधिकृत झा अबैध बालुवा गिट्टी उत्खनन रोक्ने र वनको अतिक्रमित जग्गा फिर्ता ल्याउने काम गर्नुभयो । तर उहाँको अचानक सरुवा भयो । जुन खालको चर्चा परिचर्चा भइरहेको छ, मलाई लाग्छ मुख्यमन्त्रीले केहि न केहि रकम लिएर सरुवा गर्नुभयो ।’ प्रदेशसभा सदस्य दासले मुख्यमन्त्रीले मारुती सिमेन्ट उद्योग र अबैध बालुवा गिट्टी उत्खनन गर्ने माफियासँग मुख्यमन्त्रीले रकम खाएको समेत दावी समेत गरिन् । उनले भनिन्, ‘अधिकृत झाको सरुवा भएपछि अहिले वनको नियमित गस्ती हुँदैन’, उनले भनिन्, ‘राम्रा कर्मचारीलाई प्रोत्साहित गर्नुपर्छ । तर दण्डित गर्ने काम भयो ।’ मुख्यमन्त्रीले राम्रा कर्मचारीको सरुवा गरेर गुण्डाराज कायम गराउन खोजेको आरोप उनले लगाइन् ।
जसपा नेपालले गरे बहिष्कार
त्यस्तै प्रदेश खेलकुद सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफल चलिरहेकै समय सांसदहरु बाहिरिएपछि मधेस प्रदेशसभा बैठक अवरुद्ध भएको छ । प्रदेशसभामा बिहीबार बसेको बैठकमा खेलकुद तथा समाजकल्याण मन्त्री प्रमोदकुमार जैसवालले समितिको प्रतिवेदनसहितको विधेयक प्रदेशसभामा छलफलका लागि पेश गरेपछि छलफल चलिनै रहँदा सांसदहरु बाहिरीएपछि बैठक अवरुद्ध भएको थियो ।
जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक रामअशिष यादवले सदनमा गणपुरक संख्या नरहेको भन्दै नियमापत्ति जनाएपछि चलिरहेको बैठकलाई सभामुख रामचन्द्र मण्डलले स्थगित गरेका थिए । खेलकुद विधेयकमाथि छलफलका क्रममा सत्तापक्ष जनमत पार्टीका प्रमुख सचेतक महेशप्रसाद यादव बोलिरहँदा जसपा नेपालका प्रमुख सचेतक यादवले नियमापत्ति जनाएपछि बैठक स्थगित भएको थियो । उनले भने, ‘सदनमा गणपुरक संख्या छैन ।
सरकार कति गैरजिम्मेवार छ, त्यो यसले देखिएको छ । यति महत्वपूर्ण विधेयक जुन वर्षौ देखि खेलाडिको प्रतिक्षापछि सदनमा थियो । यसलाई पास गर्नुपर्नेमा सरकार कति गैरजिम्मेवार छ, त्यो देखिएको छ ।’ गणपुरक संख्या नरहेकाले नियमापत्ति जनाएपछि बैठकलाई सभामुख मण्डलले शुक्रबार दिउँसो १ बजेसम्मका लागि स्थगित उनले गरे ।
प्रदेशसभा बैठक सञ्चालनका लागि प्रदेशसभामा रहेका कुल सांसदको एक चौथाइ सांसद उपस्थित हुनुपर्ने व्यवस्था छ । मधेश प्रदेशसभामा १०६ जना प्रदेशसभा सदस्य कायम रहेको छ भने हाल सोको एक चौथाई अर्थात कम्तिमा २७ जना सांसद उपस्थित हुनुपर्नेमा त्योभन्दा पनि कम सांसद बैठकमा उपस्थित थिए । सो बैठकमा ७२ जना उपस्थित थिए । तर बैठक सञ्चालन भएको केही घण्टामै उनीहरु गइसकेपछि बैठक नै अवरुद्ध भएको थियो ।