वीरगन्ज । वीरगन्ज–१७अलौंस्थित आइसिपी चोकमा बिहीबारदेखि स्थानीयबासीले गर्दै आएको प्रदर्शनसहितको आन्दोलन शुक्रबार दिउँसोदेखि स्थगीत भएको छ ।जिल्ला प्रशासन कार्याालय पर्सामा शुक्रबार भएको वार्तामा ट्यांकरको ठक्करबाट मृत्यु भएका युवकका परिवारलाई क्षतिपुर्ति दिने लगायतका सहमति भएपछि आइसिपी चोकमा बिहीबार दिउँसोदेखि गरिएको प्रदर्शन र सडक जामसहितको आन्दोलन शुक्रबार दिउँसो २ बजेदेखि स्थगीत भएको हो ।
प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल र वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहको उपस्थितीमा भएको वार्तामा मृतकका परिवारलाई क्षतिपुर्त बापत यातायात व्यवसायीले ९ लाख ५० हजार रुपैयाँ दिने, अस्पतालमा लागेको उपचार खर्च व्यहोर्ने र दुर्घटनामा परेको मोटरसाइकल मर्मतपनि गरिदिने तथा आन्दोलनका कार्यक्रम स्थगीत गर्ने सहमति भएको वार्तामा सहभागी वीरगन्ज–१७ का वडाध्यक्ष सन्जिवबहादुर छत्कुल्लीले मधेसखबरलाई जानकारी दिए।
वार्तामा मृतक युवकका परिवाारजन र आफन्त, यातायात व्यवसायीका प्रतिनिधी, पर्साका प्रहरी उपरीक्षक कुमोद ढुंगेल,सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल लगायतको पनि सहभागीता रहेको मेयर सिंहका जनसम्पर्क सल्लाहकार नवराज फुयाँलले मधेसखबरलाई जानकारी दिए।वार्तामा सहमति भएपछि शव नारायणी अस्पतालमा पोष्टमार्टम गरेर परिवारजनले बुझेर अन्त्येष्टीका लागि लगेको वडाध्यक्ष छत्कुल्लीले जानकारी दिए ।
वीरगन्ज–१७ अलौंस्थित आइसिपी चोकमा बिहीबार अपरान्ह ३.३० बजेतिर ना ६ ख ७५०३ नम्बरको ट्यांकरको ठक्करबाट ना २९ प ६९५१ मोटरसाइकल चालक वीरगन्ज–१७ अलौंका २३ वर्षिय रवि कुमार साह तुराहा (टिनु) गम्भीर घाइते भएकोमा वीरगन्जको गण्डकस्थित बयोधा मेडिसिटी हस्पिटलमा उपचारका क्रममा बिहीबार राति नै उनको मृत्युु भएको थियो ।
दुर्घटना लगत्तै अलौंका स्थानीयबासीले बिहीबार अपरान्हदेखि नै आइसिपी चोकस्थित सडकमा टायर बालेर प्रदर्शन गर्नुका साथै सडक अवरुद्धपनि गरेका थिए । प्रदर्शनका कारण वीरगन्ज भन्सारको आईसिपी क्षेत्रमा बिहीबार अपरान्हदेखि नै यातायात आवागमन ठप्प थियो । बिहीबार प्रदर्शनकारीमाथि प्रहरीले लाठी चार्ज गर्दा सामान्य झडप पनि भएको थियो।