काठमाडौँ । असोज ३ अर्थात् भोली बिहीबारबाट प्रदर्शनमा आउने रहेको सिनेमा ‘खुस्मा’को मंगलबार साँझ कमलपोखरीस्थित बिग मुभिजमा प्रिमियर शोको आयोजना गरिएको छ।
सिनेमाको प्रिमियर शोमा सशस्त्र द्वन्द्वकालको कथामा निर्माण भएको सिनेमा हेर्न राजनिज्ञ, सिनेमाकर्मी र पत्रकारको बाक्लो उपस्थिति रहेको थियो। प्रतिनिधि सभा सांसद ज्ञानेन्द्र शाही, निर्देशक निश्चल बस्नेत, रामबाबु गुरुङ, घनश्याम लामिछनाने, कोरियोग्राफर तथा निर्देशक रेनेशा वान्तवा राई, लेखक प्रदीप भारद्वाज, निर्माता रोहित अधिकारी, सरोज न्यौपाने, अभिनेताद्धय सलिनमान बनियाँ र आर्शिवाद क्षेत्री, अभिनेत्री गौमाया गुरुङ, पशुपति राई, लुनिभा तुलाधर तथा रुकुमका स्थानीय बासिन्दा पनि सिनेमा हेर्न हल पुगेका थिए।
सिनेमा हेरेर हलबाट निस्कँदै गर्दा सबैले सिनेमा उत्कृष्ट बनेको भन्दै निर्देशक अशोक थापा मगर निर्देशकीय पक्ष तथा अभिनेता धिरज मगर र अभिनेत्री उपासना सिंह ठकुरीको अभिनयको तारिफ गरेका थिए।
सिनेमामा कामगर्ने हरेक कलाकारले उत्कृष्ट काम गरेको उपस्थित पाहुनाहरुको भनाइ थियो। प्रिमियर शोमा सिनेमा हेरेका अधिकांशले सिनेमाको कथालाई माओवादी द्वन्द्वको असर भोग्ने सबैले आफैलाई परेको महसुस गर्ने अनुभव सुनाए।
कोरियोग्राफर तथा निर्देशक रेनेशा वान्तवा राईले खुस्मा हेरिरहँदा केही ठाउँमा आफू निकै इमोस्नल भएको बताइन्। उनले धिरजसँगै सिनेमाकी मुख्य अभिनेत्री उपासनाको अभिनयको पनि तारिफ गरिन्।
प्रतिनिधि सभाका सांसद ज्ञानेन्द्र शाहीले खुस्मा सिनेमा जस्तो नभइ एउटा दस्तावेज जस्तो भएको बताए। ‘खुस्मा खासमा भन्दा दस्तावेज नै हो । निर्देशक अशोक जीले पहिलो पटक सिनेमा निर्देशक गर्नु भाको भन्ने कुरा विश्वास नै लागेको छैन्। किनभने सिनेमा हरेक एङगलबाट प्रस्टसँग प्रस्तुत गर्नुभाको छ। मैले आजसम्म २०/२५ वटा सिनेमाको प्रिमियर शोमा आइसेकें। हरेक सिनेमामा म राम्रो छ हेर्दिनुहोला मात्र भन्थे। यसमा दम छ। तपाईले सिनेमा हेर्नु भएन भने तपाईले २०५२ सालपछिको नेपाल नै बुझ्नु हुन्न’, उनले भने ।
मगर समुदायको परिवेशमा निर्माण भएको प्रेम कथामा आधारित सिनेमाले जनयुद्धको प्रभावका बीच अंकुराएको प्रेमलाई पर्दामा देखाउने छ। एसडी योगी र छान्जु पार्क (कोरियन)को संगीत, सुरेन्द्र राना, राम अविरल बिष्ट र निर्देशक थापा मगरको गीत रचना रहेको छ। सिनेमाको वितरण गोविन्द शाहीको काफिया फिल्मसले गर्नेछ।