काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले लोकतन्त्रमा जनता र राज्य बिचको सम्बन्ध घनिष्ठ हुनुपर्ने बताउनुभएको छ ।
नेकपा एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागद्वारा सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) का नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई बधाई तथा शुभकामना दिन मंगलबार आयोजना गरिएको कार्यक्रममा बोल्दै महासचिव पोखरेलले जनता र राज्य बिचको सम्बन्ध बिग्रियो भने राज्य कमजोर हुने बताउनुभयो ।
कमजोर राज्यले जताको संरक्षण र विकास तथा समृद्धिको नेतृत्व गर्न नसक्ने उहाँको भनाइ छ । ‘जबसम्म राज्य बलियो हुँदैन तबसम्म मुलुकको विकास हनु सक्दैन, लोकतन्त्रमा राज्य र जनता बिचको सम्बन्ध घनिष्ठ हुनुपर्दछ’, पोखरेलले भन्नुभयो ।
उहाँले जबसम्म मुलुक बलियो हुन सक्दैन तबसम्म सामुदायिक रेडियोका श्रोत पनि बलिया नहुने बताउनुभयो । मुलुकमा जति समृद्धि, व्यापार, व्यवसाय र उद्यमशीलता बढ्छ त्यति नै सञ्चारमाध्यम पनि फस्टाउने पोखरेलको भनाइ छ ।
जति बेला जनता र राज्य जोडिन्छन्, त्यतिबेला विकास, उद्यमशीलता र व्यवसाय बढ्ने उहाँले बताउनुभयो । जनता र राज्यका विरुद्ध खाडल खडा गरेर राज्य बलियो नबन्ने कुरामा सञ्चारमाध्यमले ध्यान दिनु पर्नेमा उहाँले जोड दिनुभयो ।
समयको मागलाई बुझेर भविष्यको यात्रा तय गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । सञ्चारमाध्यमहरू पपुलिजमको सिकार हुनबाट जोखिनु पर्ने उहाँको भनाइ छ । राज्यको समस्या समाधान गर्न पुलिजम सधैँ बाधक हुने उहाँले स्पष्ट पार्नुभयो ।
जनतालाई अधिकार सम्पन्न बनाउने कुरा गर्दा कर्तव्यलाई पनि सँगै जोड्नु पर्नेमा उहाँको जोड छ । अधिकारसँग कर्तव्यलाई जोड्दा मात्र मुलुकले समृद्धि प्राप्त गर्ने उहाँले बताउनुभयो । नेपाली समाज अहिले अधिकार खोज्ने तर कर्तव्य पालना नगर्ने समस्यामा परेकाले सञ्चार माध्यमले समाजलाई त्यहाँबाट बाहिर निकाल्नु पर्ने उहाँको भनाइ छ । समाजलाई चाहिएको कुरामा अझै सञ्चारमाध्यम केन्द्रित हुन नसकेका पोखरेलले बताउनुभयो । अहिले पनि सञ्चारमाध्यमका मुख्य विषयवस्तु राजनीति नै बन्दै आएका उहाँले सुनाउनुभयो ।
हिजो राज्य विरुद्ध जनतालाई विद्रोही बनाउन आमसञ्चार माध्यमको प्रयोग गरिएको उहाँले बताउनुभयो । राज्य निरङ्कुश भएको बेला सञ्चारमाध्यमले त्यस रूपमा काम गरेका भए पनि आज व्यवस्था परिवर्तनसँगै सञ्चारमाध्यमको भूमिका पनि फेरिनु पर्ने पोखरेलको धारणा छ ।
महासचिव पोखरेलले बलियो राजनीतिक दल, जनताको समर्थन र राजनीतिक स्थायित्वबिना मुलुकले समृद्धि हासिल गर्न नसक्ने तथ्यलाई मनन गरेर आफ्नो भूमिका निर्वाह गर्न पनि सञ्चार क्षेत्रलाई सुझाव दिनुभयो ।
‘मुलुक समृद्ध बन्नका लागि तीन चीज अनिवार्य छ । जनताको समर्थन र बलियो राजनीतिक दल र राजनीतिक स्थायित्वबिना मुलुकले समृद्धि हासिल गर्न सक्दैन भन्ने सच्चाइलाई सवैले बुझेर त्यसैअनुसारको भूमिका निर्वाह गर्नुपर्छ,’ महासचिव पोखरेलले भन्नुभयो, ‘सामुदायिक रेडियोले यो भूमिका निर्वाह गर्न सकेको छ कि छैन ? तपाईहरु आफै समिक्षा गर्नाेस । यस भूमिकामा कमी भएको छ भने आफूलाई त्यसतर्फ अघि बढाउनोस ।’
युवा पलायन आजको प्रमुख समस्या भएको बताउँदै उहाँले सञ्चार माध्यमले त्यसको कारण के हो भन्ने कुराको विश्लेषण गर्न आवश्यक रहेको बताउनुभयो । पढेलेखेका युवा कृषिमा जानै नचाहे पछि समाजमा कामको समस्या पैदा भएको उहाँको भनाइ छ ।
यो तथ्यलाई उजागर गरेर कृषिलाई व्यवसायीकरण र बजारीकरणको विषय प्रवर्धन गर्न सञ्चारमाध्यमले सहयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । सञ्चारमाध्यमले व्यवसायी र किसानलाई उत्प्रेरित गर्नुपर्ने उहाँको सुझाव छ ।