वीरगन्ज । पर्सामा सुरक्षित गर्भपतन गराउने युवती र महिलाको संख्या बढ्दै गएको छ । स्वास्थ्य कार्यालय पर्साका अनुसार, जबकि अघिल्लो आर्थिक वर्ष २०७९/८० को भन्दा गत आर्थिक वर्ष २०८०/८१ मा सुरक्षित गर्भपतन गराउनेको संख्या बढेको हो ।
आइतबार वीरगन्जमा स्वास्थ्य लाइभ मिडियाले आयोजना गरेको सुरक्षित गर्भपतनका लागि जवाफदेहिता विषयक अन्तरकृयामा स्वास्थ्य कार्यालय पर्साले उपलब्ध गराएको तथ्यांकमा पर्सामा गत आर्थिक वर्षमा १ हजार ६ सय ७१ जना महिलाले सुरक्षित गर्भपतन गराएको उल्लेख छ । जबकि अघिल्लो आर्थिक वर्ष २०७९/८० मा सुरक्षित गर्भपतन गराउनेको संख्या १ हजार ४ सय ९८ मात्र थियो ।
स्वास्थ्य कार्यालय पर्साकी पब्लिक हेल्थ नर्सीङ अधिकृत मीरा यादवका अननुसार,पर्सामा गत आर्थिक वर्षमा २० वर्ष मुनिका १३७ जना युवतीले सुरक्षित गर्भपतन गराएका छन् भने २० वर्ष माथि उमेरका १ हजार ५३४ जना महिलाले सुरक्षित गर्भपतन गराएका छन् ।
तीमध्ये १२ हप्तासम्मको गर्भपतन गराउनेको संख्या १ हजार ६२६ छ भने १२ हप्ताभन्दा बढीको गर्भपतन गराउनेको संख्या ४५ मात्र रहेको यादवले जानकारी दिइन् ।
यस्तै अघिल्लो आर्थिक वर्ष २०७९/८० मा भने पर्सा जिल्लामा सुरक्षित गर्भपत गराउनेको संख्या १ हजार ४९८ मात्र थियो । तीमध्ये २० वर्ष मुनिका ५९ र २० वर्षमाथिको संख्या १ हजार ४३९ थियो । अघिल्लो आर्थिक वर्षमा पर्सामा १२ हप्तासम्मको गर्भपतन गराउने १ हजार ४६९ जना र १२ हप्ताभन्दा बढीको गर्भ पतन गराउने २९ जना थिए ।
यस्तै पर्साको सदरमुकाम तथा मधेस प्रदेशकै एकमात्र महानगर वीरगन्ज महानगरपालिकामापनि सुरक्षित गर्भपतन गराउनेको संख्या बढेको छ । महानगरपालिकाको स्वास्थ्य महाशखाले उपलब्ध गराएको तथ्यांकमा, वीरगन्ज महानगरमा गत आर्थिक वर्ष २०८0/÷८१ मा १ हजार ३७७ जनाले सुरक्षित गर्भपतन गराएका छन् । जबकि अघिल्लो आर्थिक वर्ष २०७९/८० मा भने उक्त संख्या १ हजार २८९ जना मात्र थियो ।
वीरगन्ज महानगरमा गत आर्थिक वर्षमा २० वर्ष मुनिका १२९ जना युवतीले सुरक्षित गर्भपतन गराएका छन् भने २० वर्ष माथि उमेरका १ हजार २४८ जना महिलाले सुरक्षित गर्भपतन गराएका छन् । तीमध्ये १२ हप्तासम्मको गर्भपतन गराउनेको संख्या १ हजार ३३२ छ भने १२ हप्ता भन्दा बढीको गर्भपतन गराउनेको संख्या ४५ जनामात्र रहेको स्वास्थ्य महाशाखाकी अधिकृत इन्दिरा लोहनीले जानकारी दिइन् ।
यस्तै अघिल्लो आर्थिक वर्ष २०७९/८० मा भने वीरगन्ज महानगरपालिकामा सुरक्षित गर्भपत गराउनेको संख्या १ हजार २८९ मात्र थियो । तीमध्ये २० वर्ष मुनिका ५९ जना र २० वर्षमाथिको संख्या १ हजार २३६ जना थियो । अघिल्लो आर्थिक वर्षमा वीरगन्ज महानगरपालिकामा १२ हप्तासम्मको गर्भपतन गराउने १ हजार २६० जना र १२ हप्ताभन्दा बढीको गर्भ पतन गराउने २९ जना थिए ।
पर्सामा सुरक्षित गर्भपतनका बारेमा नागरिकमा सचेतना बढ्दै गएका कारण यो सेवा लिनेहरुको संख्या बढेको स्वास्थ्य कार्यालय पर्साकी पब्लिक हेल्थ नर्सीङ अधिकृत यादवले बताइन् ।उनका अनुसार, केहि वर्ष यता जिल्लाका १४ वटै पालिकामा किशोरकिशोरलाई लक्षित असुरक्षित यौनसम्पर्क, यसले पार्ने असरका साथै सुरक्षित गर्भपतन बारे सचेतनामुलक कार्यक्रमहरु सञ्चालन हुदैं आएको छ ।गत वर्षमात्रै स्वास्थ्य कार्यालयको समन्वयमा जिल्लाका चार स्थानमा समुदायमै सुरक्षित गर्भपतन सम्बन्धि सचेतनामुलक कार्यक्रम सञ्चालन गरिएको उनले बताइन् ।
सामाजिक सञ्जालको बढ्दो प्रयोगको कारणलेपनि यसबारेमा किशोरकिशोरीहरु जानकार हुन थालेको उनले बताइन् । यीसबै कारणले जिल्लामा सुरक्षित गर्भपतन लिनेहरुको संख्यामा बढोत्तरी आएको तर्क उनको छ ।
कार्यक्रमका प्रमुख अतिथी वीरगन्जका मेयर राजेशमान सिंहले सुरक्षित गर्भपतन सेवाका बारेमा विशेष गरी युवायुवतीलाई लक्षित गरेर सचेतनामुलक कार्यक्रम अझ सञ्चालन गर्नुपर्नेमा जोड दिए ।यससंगै असुरक्षित गर्भपतनले निम्त्याउने संकटका बारेमापनि उनिहरुलाई सचेत गराउनुपर्ने उनले बताए ।
वीरगन्जकै निजी औषधि पसलहरुमा असुरक्षित गर्भपतनका औषधिहरुको बिक्रीवितरण भइरहेको जानकारी आँफुलेपनि पाएको भन्दै उनले त्यसलाई रोक्न महानगरले छिट्टै अनुगमन थाल्ने जानकारी गराए ।
स्वास्थ्य लाइभ मिडियाका अध्यक्ष अर्जुन अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा मधेस प्रदेशको स्वास्थ्य निर्देशनालयकी नर्सिङ अधिकृत आरती ठाकुर, नारायणी अस्पतालकी प्रसूती रोग विशेषज्ञ डाक्टर मञ्जु राउत, वीरगन्ज महानगरपालिकाको स्वास्थ्य महाशाखाका अधिकृत अनिषकान्त कुशवाहा लगायतकोपनि सहभागीता थियो ।