काठमाडौं – पर्सा अदालतमा कार्यरत प्रहरी स.इ कुशवाहा विरुद्ध सेवाग्राहीमाथि दुव्र्यवहार गरेको आरोपमा जनआक्रोश चुलिएको छ। प्रहरीको पोसाकमा नदेखिने कुशवाहाले सादा पोसाकमै "प्रहरी हुँ" भन्दै शक्ति प्रदर्शन गर्ने, अदालत आउने बादी-प्रतिवादीसँग घुस लिने र मुद्दा मिलाइदिने बिचौलिया गतिविधिमा संलग्न रहेको गम्भीर आरोपसमेत उठेको छ।
आजको विवादले कुशवाहा पुनः चर्चामा आएका छन्। उनले बिना कुनै कारण एक सेवाग्राहीलाई धम्क्याउँदै सार्वजनिक स्थानमा हेल्मेट खोस्ने, फाल्ने, "जहाँ जान्छस् जा" भन्दै धाकधम्की दिएको र अन्य प्रहरीमार्फत उनलाई जबर्जस्ती बाहिर निकाल्न लगाएको बताइन्छ। कुशवाहाको यस प्रकारको व्यवहारले आम नागरिकको मनोबल गिराएको र "प्रहरी हाम्रो साथी" भन्ने अवधारणा माथि नै प्रश्न उठाएको छ।
सम्बन्धित निकायले यस्ता बिचौलिया प्रवृत्तिका प्रहरीमाथि कडा कारवाही नगरेको खण्डमा प्रहरी संगठन नै बदनाम हुने खतरा रहेको चेतावनी सर्वत्र फैलिएको छ। जनताको सुरक्षाको लागि खटिएको प्रहरी संगठनभित्र यस्ता केही व्यक्तिहरूको कारणले सम्पूर्ण संगठनलाई नै हानि पुग्ने अवस्थामा गम्भीर ध्यानाकर्षण गराउनु आवश्यक देखिन्छ।
जनताको विश्वासमा प्रहार गर्दै घुस र अनियमितताको बाटो रोज्ने प्रहरीलाई तत्काल कारबाही नगरे सामाजिक असन्तोष चर्किने सम्भावना प्रबल छ।
नेपालको प्रहरी ऐन र प्रहरी नियमावली अनुसार, नेपाल प्रहरीका कर्मचारीहरू (स.इ सहित) आफ्नो कर्तव्य पालनाका लागि तोकिएको पोशाक (यूनिफर्म) मा नै रहनुपर्छ, विशेष अवस्थामा मात्र साधा पोशाकमा खट्न अनुमति हुन्छ। साधारणतया, प्रहरीले सार्वजनिक स्थल वा अदालतजस्ता संवेदनशील स्थानमा तोकिएको पोशाकमा नै आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने हुन्छ, ताकि प्रहरीको पहिचान स्पष्ट होस् र अनुशासन कायम रहोस्।
साधा पोशाकमा खट्नुपरेको विशेष परिस्थितिमा भने, त्यसका लागि उच्च अधिकारीको स्वीकृति वा आदेश आवश्यक हुन्छ। यसकारण, यदि कुनै प्रहरी अधिकारीले बिना स्वीकृति साधा पोशाकमा अदालत परिसरमा काम गरिरहेका छन् भने त्यो नियम विपरीत ठहरिन सक्छ।