काठमाडौं । पछिल्लो समय मोटोपन नियन्त्रण गर्न र विभिन्न रोगबाट मुक्त हुन ‘इन्टरमिटेन्ट फास्टिङ’ बस्ने चलन छ । जस्तो कि १६ घण्टे, १८ घण्टे उपवास ।
यस्तो फास्टिङमा समयलाई आठ र १६ घण्टामा विभाजन गरिन्छ । अर्थात् ६ घण्टा वा आठ घण्टामा खाना खाने, बाँकी १६ वा १८ घण्टा उपवास बस्ने । इन्टरमिटेन्ट फास्टिङ बस्नेहरूले सामान्यतया दिउँसो १२ बजेदेखि ७-८ बजेसम्म खानपान गर्छन्, त्यसपछि पूर्ण उपवास बस्छन् ।
केही प्रारम्भिक अध्ययनहरूले दाबी गरेका थिए यस प्रकारको उपवासले एकदेखि दुई महिनाभित्र वजन घटाउँछ । साथै रक्तचाप र मधुमेह पनि कम हुन्छ । यद्यपि, यसको दीर्घकालीन साइड-इफेक्ट पनि हुने अमेरिकन हार्ट एसोसिएसनले हालै गरेको अध्ययनले बताएको छ ।
१०-१५ वर्षसम्म गरिएको अध्ययनमा संलग्न २० हजार व्यक्तिको स्वास्थ्य अनुगमन गरी तथ्यांक संकलन गरिएको थियो । यसमा उपवास बस्ने र उपवास नबस्नेहरूको समूह बनाइएको थियो । वर्षौंदेखि निरन्तर उपवास बस्ने मानिसमा विशेषगरी हृदयघात र यससँग सम्बन्धित कारणले मृत्यु हुने सम्भावना ९० प्रतिशत बढी देखिएको थियो । यस अध्ययनअनुसार उपवासले छोटो अवधिको लागि फाइदा पुर्याएपनि दीर्घकालीन रुपमा असर गरेको देखियो ।
पहिलेका अध्ययनहरू छोटो अवधिको प्रभावमा आधारित थिए र हृदयघात वा मृत्युको अध्ययन समावेश थिएन । खाने बानीमा समयको पालना गर्नु मुटुका लागि खतरनाक हुनसक्ने अध्ययनले पत्ता लगाएको छ ।
पोषणको दृष्टिकोणबाट ‘इन्टरमिटेन्ट फास्टिङ’
डा. सुधाश्री अधिकारी, पोषणविद्
पछिल्लो समय इन्टरमिटेन्ट फास्टिङ फेसन जस्तो भएको छ । नेपालको सन्दर्भमा इन्टरमिटेन्ट फास्टिङ हाम्रो पुर्खाहरूले पनि गर्थे । बेलुकाको खाना ७ बजेभित्र खाइसक्थे र बिहानको खाना ८ बजेपछि खान्थे यस्तोमा १२ देखि १४ घण्टाको फास्टिङ त हुन्थ्यो नै । अहिले बेलुकाको खाना नै ढिलो खाने अनि खाना खाइसकेपछि पनि सुत्ने बेला विभिन्न स्न्याक्स खाने बानी हुन्छ । त्यसले गर्दा यो फास्टिङ नयाँ लागेको हुनसक्छ ।
पहिले पुर्खाहरूले जस्तो बेलुकाको खाना छिटो खाने र बिहानको खाना ८ बजेपछि खाँदा १२ देखि १४ घण्टे फास्टिङ त हुन्छ नै, त्यसलाई बिस्तारै बढाएर १६ घण्टा पुर्याउन सकिन्छ । एउटाले तौल कम गर्न १६ घण्टे फास्टिङ गर्यो भने अर्कोले पनि त्यही लहलहैमा लागेर फास्टिङ गर्ने १६ घण्टा केही नखाने अनि ८ घण्टा चाहिने भन्दा धेरै खाने गरियो भने फाइदाजनक नहुन सक्छ ।
१८ वर्षमुनिका बालबालिकालाई धेरै ऊर्जा चाहिने भएकाले उनीहरूले यस्तो उपवास नबस्नु नै राम्रो हुन्छ । साथै गर्भवती महिलाले पनि अन्य सामान्य व्यक्तिको तुलनामा समय-समयमा खानुपर्ने भएकाले उनीहरूका लागि यो उपयोगी नहुन सक्छ ।
१६ घण्टे उपवास बसेर आठ घण्टामा माछामासुबाट प्राप्त हुने प्रोटिन धेरै मात्रामा सेवन गर्दा मुटुको समस्या र मिर्गौलाको समस्या देखिन सक्छ । १६ घण्टा उपवास बसेर आठ घण्टामा खाने खाना सन्तुलित हुनुपर्छ । १६ घण्टा भोकै बस्नुछ, त्यसैले धेरै मात्रामा खानुपर्छ भन्ने सोचियो र खाइयो भने उपवासले फाइदा गर्नुको साटो हानि गर्न सक्छ ।
१६ घण्टे फास्टिङ सबैको लागि उपयुक्त हुँदैन
१६ घण्टे फास्टिङबाट तौल नियन्त्रण, कोलेस्टेरोल र उच्च रक्तचाप नियन्त्रण हुन्छ भनेर विभिन्न अध्ययनले बताएको छ । तर इन्टरमिटेन्ट फास्टिङ सबैको लागि उपयुक्त नहुने मुटुरोग विशेषज्ञ डा. अभिषेक ठाकुर बताउँछन् ।
‘कसैको लागि यो फास्टिङ उपयोगी भयो भन्दैमा सबैको लागि यो उपयोगी नहुन सक्छ । कसैको शरीरमा यो हानिकारक हुनसक्छ भने कसैका लागि लाभदायक पनि,’ उनी भन्छन्, ‘जस्तो- मधुमेहको समस्या भएको व्यक्ति, मुटुको औषधि सेवन गरिरहेका व्यक्ति, गर्भवती महिला र ६० वर्षमाथिका व्यक्तिहरूले भने यस्तो फास्टिङ बस्नु हुँदैन ।’
यस्तो फास्टिङले केही फाइदा त हुन्छ तर यसलाई लामो समयसम्म पालना गर्न सकिंदैन । त्यसैले उपवास छोडेर पहिलेको डाइटमा फर्किएपछि तौल झन् बढ्न सक्छ । साथै १६ घण्टा उपवास बसेर ८ घण्टा खाने समयमा धेरै खाना खाइयो भने त्यसले पनि खासै फाइदा गर्दैन । त्यसैले डाक्टर तथा पोषणविद्को सल्लाह लिएर मात्र यस्तो फास्टिङ गर्नु उपयुक्त हुने ठाकुर बताउँछन् ।
१६ घण्टे फास्टिङले ग्यास्ट्रिकको समस्या
१६ घण्टा गरिने इन्टरमिटेन्ट फास्टिङले धेरै फाइदा गरेको छ । तर यससँगै लामो समयसम्म फास्टिङ गर्दा पेटमा भइरहेको एसिडलाई असर गर्न सक्छ । समयमा खाना नपुगेपछि एसिड खाना नली वा सानो आन्द्रामा जान्छ, जसले पाचन प्रक्रिया असर पुर्याउँछ । त्यसैले ग्यास्ट्रिक, एसिडिटी जस्ता समस्या देखा पर्न सक्ने पेट तथा कलेजो रोग विशेषज्ञ डा. अखिलेश कश्यप बताउँछन् ।
‘मधुमेह, तौल घटाउन र उच्च रक्तचाप नियन्त्रणमा यसको फाइदा दिएको देखिन्छ । तर ग्यास्ट्रिकका बिरामीहरूलाई यसले फाइदाभन्दा बढी हानि गर्छ,’ उनी भन्छन् ।
कसैलाई अल्सर, पेटको आन्द्राबाट रक्तस्राव भइरहेको छ भने पनि त्यति लाभ दिंदैन । कसैलाई ग्यास्ट्रिक भएको नै थाहा नहुन सक्छ, जसले यस्तो फास्टिङ बस्दा थप स्वास्थ्य समस्या आउन सक्छ । डा. कश्यप भन्छन्, ‘ग्यास्ट्रिक नभएका व्यक्तिलाई ग्यास्ट्रिक गराउन सक्छ भने भएको व्यक्तिलाई झनै बढी जटिलता थप्न सक्ने देखिन्छ । सकेसम्म यस्तो गर्नुअघि आफ्नो स्वास्थ्य परीक्षण गराएर चिकित्सकको सल्लाहमा सही तरिकाले फास्टिङ गर्नु राम्रो हुन्छ ।’
सकेसम्म ग्यास्ट्रिक भएको व्यक्तिले १६ घण्टा फास्टिङ र व्रत नबसेको राम्रो हो । अल्सर भएको व्यक्ति, क्यान्सर भएको र ग्यास्ट्रिक भएका व्यक्तिलाई यस्तो फास्टिङ हानिकारक हुनसक्ने कश्यप बताउँछन् ।
खाना खाने समय नमिल्दा समस्या निम्तिन सक्छ
डा. ऋषिकुमार काफ्ले, वरिष्ठ मिर्गौला रोग विशेषज्ञ
यदि हामीले ५०-६० वर्षअघिका नेपालीहरूको खानपानशैली हेर्यौं भने इन्टरमिटेन्ट फास्टिङ गरेको नै पाउँछौं । बेलुकाको खाना ७ बजेभन्दा अघि बिहानको खाना ९-१० बजेतिर खाने चलन थियो । यसो गर्दा फास्टिङ १६ वा १८ घण्टे नभएर १२ देखि १४ घण्टाको हुने गर्थ्यो । त्यो बेला मान्छेहरूमा धेरै स्वास्थ्य समस्या पनि देखा परेको पाइँदैन थियो ।
अहिलेको इन्टरमिटेन्ट फास्टिङमा भने मान्छेहरू १६-१८ घण्टासम्म खाली पेट बस्छन्, जसले गर्दा विभिन्न समस्या निम्ताएको हो । इन्टरमिटेन्ट फास्टिङले रोग निम्ताएको हैन, हामीले खाना खाने समय परिवर्तन गरेकाले समस्या निम्तिएको हो ।
अमेरिकन हार्ट एसोसिएसनले गरेको एउटा अध्ययनले इन्टरमिटेन्ट फास्टिङ मुटुको लागि हानिकारक भनेको छ । यस्तोमा कालान्तरमा यसले मिर्गौलालाई पनि असर नगर्ला भन्न सकिंदैन । किनभने मिर्गौलाको समस्या देखिन समय लाग्छ ।
यदि लामो खाली पेट नबसी पुर्खाहरूले जस्तो फास्टिङ गरेर बिहानको नास्ता, दिउँसोको खाना र बेलुकाको खाना मिलाएर खायौं भने र सही तरिकाले फास्टिङ गर्यौं भने त्यो लाभदायक हुनसक्छ ।