लेबननको राजधानी बेइरुतमा हिज्बुल्लाहका नेताहरूलाई निशाना बनाउँदै पुनः व्यापक रूपमा इजरेली हमलाका क्रम सुरु भएका छन्।
स्थानीय सञ्चारमाध्यमका अनुसार सहरभर गरिएका प्रहारमध्ये एउटा त्यहाँको अन्तर्राष्ट्रिय विमानस्थलको ठिक बाहिरसमेत थियो।
ती खासगरी हिज्बुल्लाहको बलियो पकड रहेको दक्षिणी दाहिय क्षेत्रमा परेका थिए।
इजरेली अधिकारीहरूलाई उद्धृत गर्दै आएका विवरणमा हमलाको मुख्य निशानामा हिज्बुल्लाहका सम्भावित नयाँ नेता ठानिएका हासिम साफी अल–दिन रहेको बताइएको छ।
उनी इजरेलद्वारा मारिएका पूर्वनेता हसन नस्रल्लाहका नजिकका भाइ पर्छन्।
प्रत्यक्षदर्शीहरूले ती विस्फोटन गत साता नस्रल्लाह मारिँदाको जस्तो भएको तुलना गरेका छन्।
हासिम साफी अल–दिन भूमिगत बङ्करमा रहेको ठानिएको छ। उनको अवस्था अज्ञात छ।
दुई लेबननी सैनिकको मृत्यु
अन्यत्र लेबननको दक्षिणमा इजरेली हमलामा परेर आफ्ना दुई सैनिकको मृत्यु भएको लेबननको सेनाले जनाएको छ।
इजरेलले पूर्ण आकारको अतिक्रमण सुरु गरेको तेस्रो दिनमा मारिएका लेबननी सैनिकमध्ये एकजनाको दक्षिणी लेबननमा रेडक्रससँग मिलेर उद्धार अभियान सञ्चालन गरिराखेका बेला र अर्काको सैन्य चौकीमा भएको हमलामा परेको बताइएको छ।
रेडक्रसले आफ्ना चार जना स्वयंसेवकलाई समेत हलुका चोटपटक लागेको र उनीहरूका आउजाउ संयुक्त राष्ट्रसङ्घीय शान्ति सेनासँगको समन्वयमा भइरहेको जनाएको छ।
यसैबीच इजरेलले दक्षिणी लेबननमा एक क्षेत्रीय राजधानी अनाबतियसहित थप २० वटा नगर र गाउँका मानिसहरूलाई आफ्नो सुरक्षाका लागि घर छाड्न आदेश दिएको छ।
बेइरुतमा गए राति भएको इजरेली हवाई हमलामा नौजना मारिएको र तीमध्ये ७ जना स्वास्थ्यकर्मी रहेको हिज्बुल्लाहले जनाएको छ।
इजरेली सेनाले त्यसबारे कुनै प्रतिक्रिया जनाएको छैन। तर उसले आफ्ना सैनिकहरूले सीमानजिकै हिज्बुल्लाह लडाकुहरू मारेको जनाएको छ।
हिज्बुल्लाहले सीमाका दुवैतर्फ इजरेली फौजलाई निशाना बनाएको जनाएको छ।
'भयानक'
बेइरुतबाट बीबीसीसँग बोल्दै विश्व खाद्य कार्यक्रमका लेबनन निर्देशकले म्याथ्यू हलिङवर्थले त्यहाँको अवस्थालाई “भयावह” बताए।
“दक्षिणी उपनगरहरूबाट कालो मुस्लो उडिरहेको छ, हामीले त्यो दिनदिनै काममा आउँदा देख्छौँ र दिनभरि देखिरहन्छौँ। सहरभर विस्थापित भएका मानिसहरूको सङ्ख्या अस्वाभाविक रूपमा उच्च छ,” उनी भन्छन्।
“दक्षिण लेबनन र दक्षिणी उपनगरबाट भइरहेको लडाइँबाट भागिरहेका मानिसहरूका कार जताततै देखिन्छ। जताततै गाडीको चाप देखिन्छ, मानिसहरू बाहिरै सुतिरहेका छन्।”
इन्टरन्याश्नल रेस्क्यू कमिटीका लेबनन निर्देशक ह्वान गाब्रिअल वेल्सले सरकारद्वारा सञ्चालित आश्रय स्थलमा बसिरहेका विस्थापित मानिसहरूमध्ये आधाजसो १५ वर्ष मुनिका बालबालिका रहेको आफ्नो संस्थाको सर्वेक्षणले देखाएको बताउँछन्।
लेबननको स्वास्थ्य मन्त्रालयले पछिल्ला तीन दिनमा इजरेली हमलाबाट ४० स्वास्थ्यकर्मी र अग्नि नियन्त्रकहरू मारिएका छन्।