वीरगन्ज । अध्यक्ष र प्रमुख प्रशाशकिय अधिकृत बीचको अनंतर विवादका कारण पर्साको पकाहामैनपुर गाउँपालिका मातहतका २ सयभन्दा बढि कर्मचारी मारमा परेका छन् ।
लामो समयदेखि चल्दै आएको विवाद नयाँ अधिकृत हाजिर पछि साम्य हुँदै गएपनि खाता संचालन लगायतका समस्या समाधान नभएका कारण ४ महिनाभन्दा अघिदेखि नै कर्मचारीहरुको तलब रोकिएको छ ।यसैगरी, ज्येष्ठ नागरिक, अपांग, एकल महिलालगायत करिब २ हजारभन्दा बढि व्यक्तिले सामाजिक सुरक्षा भत्तासमेत पाएका छैनन्।विवादका कारण गाउँपालिकाको खाता संचालन नभएपछि दशैं अगाडिदेखि नै कर्मचारीले तलब पाएका छैनन्।
गाउँपालिका अध्यक्ष सुरेश मेहताले विकास योजनामा अनियमितता गरेको र आफू खुसी बजेट मिलाउन खोजेका नयाँ प्रमुख प्रशासकिय अधिकृत देवनाथ साहलाई कार्यालयको काममा लगाउँदा झन् समस्या उत्पन्न हुने भएकोले उनलाई भूमिका विहिन वनाएको बताए ।
साथै प्रमुख प्रशासकिय अधिकृत साह जनप्रतिनिधिको अस्तित्व नस्वीकारेको र आफू नै सर्वोपरी भएको बताएपछि विवाद उत्पन्न भएको अध्यक्ष मेहताको आरोप छ ।
नयाँ अधिकृतको रूपमा देवनाथ साह हाजिर भएको केही दिन मै सम्पन्न भएको गाउँसभाले तलब पाउने आस बोकेका कर्मचारीहरु निराश भएका छन् ।
अधिकृत साह पहिला देखि नै एक विवादित अधिकृतको रूपमा परिचित हुँदै आएका छन् । विवाद कै कारण केहीदिन अघि पर्साको पटेर्वासुगौली गाउँपालिकाबाट लखेटिएका अधिकृत साहलाई कोई हाजिर गराउन नमान्दा हारगुहार गरी पकहामैनपुरमा हाजिर भएका थिए । तर त्यहाँ पनि उनले हाजिर भएदेखि नै भ्रष्टचारी मानसिकता बनाउँदा अध्यक्ष मेहताले खाता संचालन गर्न अख्तियारी नै रोकेका छन् ।जस कारण कर्मचारीहरुले तलब पाएका छैनन् ।
अधिकृत साहमाथि जनप्रतिन्धी जस्तै आफूलाई पनि बजेट चाहिने आरोप लागेको छ । यस विषयमा अधिकृत साहसंग बुझ्न खोज्दा उनले फोन उठाएनन् ।
लामो समयसम्म तलब नपाउँदा घर खर्च चलाउन निकै समस्या भोग्नुपरिरहेको गाउँपालिकाको एक शिकक्षले बताए । उनले ऋणसापटी गरेर घर खर्च चलाइरहेको बताए । ‘तलब नपाउँदा निकै समस्यामा छौँ, घर खर्च चलाउन र बालबालिकाको स्कुलको शुल्क तिर्न ऋण लिनुपरेको छ,’ उनले भने, ‘दशैं सकिन लागिसक्यो, तलब कहिले आउने हो थाहा छैन ।’