काठमाडौं । बडादशैँको फूलपाति अर्थात आज असोज २४ गतेदेखि प्रदर्शनमा आएका तीन वटा फिल्महरुमध्ये ‘१२ गाउँँ’ बाट डेब्यू गर्ने अभिनेत्रीहरु मध्येकी एक हुन् न्यान्सी खड्का । हुन त उनी मिस नेपाल ईन्टरनेशनल नेपाल–२०२२ पनि हुन् । नेपाललाई प्रतिनिधित्व गर्दै जापानमा पुगेर मिस इन्टरनेशनल २०२२ मा सहभागिता जनाएर उनले रियल मिस पपुलर च्वाइस अर्वाड समेत जितिन् ।
पत्रकारिता तथा पब्लिक स्पिकिङमा अमेरिकाबाट स्नातक गरेकी न्यान्सीले मिस नेपाल २०२२ मा भाग लिएर उपाधि जितेपछि अभिनयमा जाने कि नजाने भन्ने कुराको द्विविधामा थिइन् । आफ्नो अभिनय क्षमता परिक्षण गर्नकै लागि उनले गुरुकुलमा रंगकर्मी सुनिल पोखरेलसंग केही महिनाको अभिनयको प्रशिक्षण लिइन् । अभिनयमा आफूलाई सहज पाएपछिले राम्रो फिल्मबाट प्रस्ताव आएमा डेब्यू गर्ने निर्णय गरिन् ।
संयोग कस्तो भयो भने त्यतिबेलै उनको फेसबुक ह्याक भयो । लोकप्रिय गायक सुमित खड्काकी छोरी न्यान्सीको फेसबुक ह्याक भएपछि ह्याकरले धेरै जनालाई म्यासेज पठाइदियो । तीमध्ये एउटा म्यासेज भिएफवाइ टक्सका दशरथ सुनारलाई पनि गयो, न्यान्सीले आफूलाई नचिने पनि दशरथले इन्स्टाग्राममा न्यान्सीलाई उक्त म्यासेजका बारेमा जानकारी गराए । ‘कुराकानीको क्रममा उहाँले फिल्ममा अभिनय गर्ने हो ?’ भनेर प्रस्ताव राख्नु भयो । विराज भट्टको फिल्म ‘१२ गाउँ’ बाट प्रस्ताव आएको सुनेपछि म अभिनय गर्न तयार भएँ, न्यान्सीले कलाकर्मीसंग भनिन्– ‘विराज सरसंग भेटपछि पहिला अर्कै फिल्मका लागि कुरा भयो, तर मेरो क्षमता बुझेर होला मलाई अझ प्रभावकारी भूमिकाका प्रस्ताव राख्नु भयो । म काम गर्न तयार भएँ ।’
‘मैले डेब्यू फिल्ममै एकदमै बोल्ड एण्ड ब्यूटिफूल चरित्र निर्वाह गर्ने मौका पाएकी छु, न्यान्सी भन्छिन्– ‘धेरै इमोसन देखाउने मौका पाएकी छु । डेब्यू फिल्ममै पावरफूल क्यारेकटरमा देखिन पाउनु मेरो लागि भाग्यको कुरा हो ।’ न्यान्सीका अनुसार ‘१२ गाउँ’ हीरो सेन्ट्रिक फिल्म भए पनि उनको चरित्र निकै शसक्त छ । फिल्मको शसक्त भूमिकाकै कारण उनले यो भूमिकामा अभिनय गर्न प्रस्ताव पाए लगत्तै तयार भइन् ।
‘पहिलो फिल्ममा अभिनय गरिसकेपछि त मलाई म आफू यसैका लागि बनेकी रहेछु भन्ने अनुभव भएको छ, उनी भन्छिन्– ‘अभिनय गर्ने क्रममा ममा कुनै पनि प्रकारको नर्भसनेस थिएन । सेटमा पनि निर्देशकले कुनै पनि कुरा दोहोयाएर भन्नै परेन ।’ फिल्ममा उनको जोडी विराट भट्टसंग हो कि समीर भट्टसंग ? यो कुराको जवाफका लागि भने उनले फिल्म नै हेर्न आग्रह गरिन् । फिल्ममा श्वेताको चरित्र निर्वाह गरेकी न्यान्सी आफ्नो न्वारानको नाम पनि श्वेता नै भएकाले डेब्यू फिल्म आफ्ना लागि धेरै कुराले महत्वपूर्ण भएको बताउँछिन् ।
न्यान्सीले अभिनयमै करियर बनाउने निर्णय गरिसकेकी छिन् । बुवा गायक सुमित खड्का तथा आमाले उनलाई कुनै पनि क्षेत्रमा करियर बनाउनका लागि मार्ग प्रसस्त गरिसकेका छन् । ‘म सितारा बन्नै जन्मिएकी हुँ भन्ने कुरा मेरो बुवा–आमालाई राम्ररी थाहा छ, आत्मविश्वासले भरिएको स्वरमा उनी भन्छिन्– ‘त्यसैले मैले फिल्ममा अभिनय गर्छु है भनेर उहाँहरुसंग अनुमित लिनै परेन, उहाँहरुलाई थाहा छ, म जे गर्छु, उत्कृष्ट गर्छु ।’