छालासम्बन्धी समस्या लिएर आउनेहरुमा घाममा समय कति बिताउनुहुन्छ ? के-कस्ता प्रोडक्ट अनुहारमा लगाउनुहुन्छ ? भन्ने प्रश्न सोध्ने गरिन्छ । आजभोलि यो प्रश्नको सूचीमा अर्को प्रश्न पनि थपिएको छ । त्यो हो ‘स्क्रिनमा कति घण्टा समय बिताउनुहुन्छ ?
यो प्रश्न झट्ट सुन्दा धेरैले अचम्म मान्दै प्रश्नमाथि अर्को प्रश्न गर्दै छालाको समस्या र स्क्रिन टाइमबीच के सम्बन्ध छ भन्ने गर्छन् ?
के छ त सम्बन्ध ?
ल्यापटप, मोबाइल फोन र बत्तीहरुबाट निस्कने निलो प्रकाशले छालामा प्रत्यक्ष अप्रत्यक्ष रूपमा असर गरिरहेको हुन्छ । निलो प्रकाश भनेको आँखाले देख्न सक्ने विभिन्न रङको प्रकाशमध्ये एक हो, जुन सूर्यको विकिरण यूभीए र यूभीबीसँग मिल्दोजुल्दो हुन्छ । तर यी दुईभन्दा यो कम खतरनाक मानिन्छ ।
कम खतरनाक भन्नुको अर्थ विद्युतीय उपकरणबाट कमै मात्रामा निलो प्रकाश निस्कन्छ । तर विद्युतीय उपकरणमा बच्चादेखि वृद्धसम्म अभ्यस्त छन् । दिनप्रतिदिन यसका प्रयोगकर्ता र प्रयोग गर्ने समय बढिरहेको छ ।
यस्तोमा कम विकिरण निस्कने भए पनि लगातार सम्पर्कमा रही समय बिताउँदा असर पक्कै गर्छ । त्यसैले घाममा निस्कन छाड्ने वा सनस्क्रिन लगाएर पनि छालामा समस्या छ भने निलो प्रकाशलाई पनि एक कारकको रूपमा लिन सकिन्छ ।
छालालाई कसरी असर गर्छ ?
निलो प्रकाशले छालामा हुने मेलानिनको उत्पादनमा वृद्धि ल्याउँछ । मेलानिनले छालालाई प्राकृतिक रूपमा रङ दिन्छ । निलो प्रकाशमा बसेर मेलानिन बढेर छालामा कालो धब्बा वा चायापोतो बस्न सक्छ । विशेषगरी गाढा रङ भएकाहरुमा मेलानिनको बढी प्रभावले छाला थप कालो देखाउन सक्छ ।
यो प्रकाशले छालाको संरचना बढाउने कोलाइजनलाई पनि हानि पार्छ । एक सेन्टिमिटरको दूरीमा उपकरण राखेर हेर्ने बानीले समस्या थप बढाउँछ । पछिल्लो समय भएका अध्ययनहरूले पनि लामो समयसम्म निलो प्रकाशको नजिक रहँदा स्किन कोषलाई क्षति पार्ने, छालाको काममा दखल पार्ने, अनुहारलाई चमकदार र जवान बनाउने कोलाजन र इलास्टिनलाई टुक्राउने गर्छ ।
यी दुई तत्व टुक्रिन सुरु गरेमा छाला झोलिने, उमेरअगावै चाउरी पर्ने जस्ता समस्या ल्याउन सक्छ ।
निद्रामा दखल पारेर छालालाई प्रभावित
मध्यरातसम्म नसुतेर मोबाइल, ल्यापटप, टिभी जस्तो उपकरण चलाइरहने बानी छ भने यसले रातको निद्रासँगै छालामा पनि समस्या गराउँछ ।
यसको पछाडिको कारण भनेको निलो प्रकाशले निद्राको हर्मोन मेलाटोनिनलाई दबाइदिन्छ । जसकारण निद्राको चक्रलाई बाधा पुर्याउन सक्छ । अनिद्राले बिस्तारै बिस्तारै कोलाइजेनको कार्यमा प्रभावित पारी डार्क सर्कल ल्याउने, छाला पातलो बनाउने र बुढ्यौलीको सङ्केत देखाउन थाल्छ । छालाको समस्या मात्र नभई शरीरमा आल्यस्यता ल्याउने र मस्तिष्कको कार्य पनि यसले प्रभावित पार्छ ।
सबैभन्दा बढी आँखामा असर
रेटिनाहरु निलो प्रकाशका लागि बढी संवेदनशील हुन्छन् । आँखाले निलो प्रकाशबाट आउने हानिकारक किरणलाई रोक्न नसक्दा आँखाको कोर्निया पार गरी भित्र पसेर रेटिनाको कोषिकाहरूलाई क्षति पुर्याएर रेटिनामा आक्रमण गर्दा रेटिना कोषहरूमा असर पार्छ ।
स्क्रिनबाट उत्सर्जित निलो प्रकाशको मात्रा बढी भएमा आँखाको केन्द्रित गर्ने सेन्सिटिभिटी कम गर्छ, जसले आँखामा तनाव उत्पन्न गर्छ ।
स्क्रिनमा आफ्नो काममा व्यस्त हुँदा मानिसले आँखा कम झिम्क्याउने र आँखा सुक्खा हुने र पोल्ने लक्षण देखिन्छ । लामो समयसम्म स्क्रिन अगाडि बसिरहने व्यक्तिमा टाउको दुख्ने, दृष्टि धमिलो हुने, घाँटी र काँधमा दुख्ने समस्या देखिएको छ ।
बेलायतको ‘दी न्यु इङ्ल्याण्ड जर्नल अफ मेडिसिन’को रिपोर्टअनुसार बत्ती निभाई स्मार्टफोन, टिभी, कम्प्युटरको स्क्रिन लामो समयसम्म हेरिरहँदा त्यसले आँखाको ज्योति विस्तारै कम गराउँदै अन्धोपनसम्मको समस्या निम्त्याउँछ ।
रिपोर्टले ती विद्युतीय सामग्रीबाट निस्कने निलो प्रकाशले आँखालाई सुक्खा गराई रेटिनामा असर पुर्याएको र यो कार्य वर्षौंसम्म रहँदा दुई जनाको ज्योति गुमेको उदाहरण दिएको छ ।
कसरी बच्ने ?
– स्क्रिन टाइम घटाउने
– स-साना बालबालिकालाई स्क्रिन टाइममा अभ्यस्त नगराउने
– अफिसमा काम गर्दा होस् वा घरभित्र काम गर्दा सनस्क्रिन लगाएर मात्र बस्ने
– आजभोलि निलो प्रकाशको विकिरणबाट छालालाई जोगाउने जिंकअक्साइड, टिटानियम डाइअक्साइड र आइरन अक्साइडयुक्त सनस्क्रिन बजारमा उपलब्ध छ । जुन चिकित्सकको सिफारिसमा लगाउन सकिन्छ ।
– आँखालाई ढाक्ने विकिरणबाट बच्ने चस्मा लगाउने, स्क्रिन हेर्दा २०-२० मिनेटमा आँखा झिम्काउने ।