नेपालगन्ज । बिजयादशमीको घटस्थापनादेखि नेपालगन्जमा स्थापना गरिएका दुर्गा भवानीका मूर्तिहरुको विसर्जन आइतवार दिउँसोबाट गरिने भएकोे छ । नेपालगन्जको सुरक्षा व्यवस्थालाई कडा पारिएको र ड्रोनबाट निगरानी गरिने भएको छ ।
चाडपर्व लक्षित सुरक्षा योजना तयार पारेर कार्यान्वयन गरिरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले दुर्गा भवानीको मूर्ति विसर्जन जुलुसको सुरक्षा र निगरानीका लागि थप सुरक्षा योजना बनाएर कार्यान्वयन गरिरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले बताउनुभयो ।
उहाँले सोही योजना अन्तर्गत आइतवार ड्रोन क्यामेरामार्फत सुरक्षा अवस्थाको अनुगमन पनि निरन्तर भइरहेको बताउनुभयो । एसपी कार्कीका अनुसार नेपालगन्जका विभिन्न स्थानमा स्थापना गरिएका दूर्गा मूर्तिको विसर्जन जुलुस, बजारको बस्तुस्थिति र सुरक्षा अवस्थाबारे निगरानी गर्न जिल्ला प्रहरी कार्यालय बाँके र वडा प्रहरी कार्यालय नेपालगन्जद्वारा ड्रोनमार्फत अनुगमन गरिएको छ ।
मूर्ति स्थापना गरिएका सबै स्थानमा हरेक समय प्रहरी राख्न नसकेको अवस्थामा ड्रोन क्यामेरामार्फत पनि त्यहाँको बस्तुस्थिति बुझ्न सहज हुने भएकाले ड्रोन क्यामेराको प्रयोग गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
बाँके जिल्लाका शहर तथा ग्रामिण क्षेत्रमा स्थापना गरिएका करिब ४०० बढी दुर्गा मूर्तिलाई राप्ती नदी, डुडुवा खोल र मान खोलामा लगेर सेलाइने गरिन्छ । ट्रक, ट्राली लगायत विभिन्न सवारी साधनमा मूर्तिलाई राखेर लावालस्करका साथ, बाजागाजा, बैण्डबाजा बजाएर नाँचगान गर्दै जय मातादीको नारा लगाउँदै मूर्ति सेलाइने गरिएको स्थानीय अगुवा नन्दलाल वैश्यले बताउनुभयो ।
उहाँले घटस्थापनाको दिनदेखि स्थापना गरिएका दुर्गा मूर्तिको नौ दिनसम्म विशेष पुजापाठ गरी दसैंको भोली पल्ट सेलाइने परम्परा रहेको बताउनुभयो । बिसर्जन कार्यक्रमलाई सौहाद्र, शान्तिपुर्ण र सामाजिक सदभावकासाथ सम्पन्न गर्न विशेष सुरक्षा व्यवस्थापन गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताउनुभयो ।
उहाँले मूर्ति विसर्जन रैली अत्यन्तै मर्यादित, अनुशासित, शान्त एवम् शौम्य तुल्याउन विर्सजन जुलुस निस्कने रुटहरु लगायत जिल्लाभरिमा सुरक्षा व्यवस्था कडा बनाउन एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको बताउनुभयो ।