काठमाडौं । संसद्का दुई ठूला दल नेकपा (एमाले) र नेपाली कांग्रेस मिलेर गठन भएको वर्तमान सरकारले आज एक सय दिन पूरा गरेको छ । राजनीतिक स्थिरता, आर्थिक सुधार र सुशासन स्थापनाको महत्वपूर्ण लक्ष्यसहित दुई ठूला दल मिलेर बनेको यस सरकारले विगत तीन महिनामा उल्लेखनीय प्रगति हासिल गरेको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा असार ३० गते गठन भएको सरकारले नागरिकमा देखिएको निराशालाई आशामा बदल्ने प्रयास गरिरहेको छ । प्रधानमन्त्री ओलीको नेतृत्वको सरकारले राजनीतिक स्थिरता कायम गर्ने, अर्थतन्त्रलाई चलायमान बनाउने र संविधान संशोधन गर्ने महत्वपूर्ण लक्ष्यहरूर लिएको छ ।
सरकार गठनसँगै देशको आर्थिक क्षेत्रमा सकारात्मक प्रभाव देखिएको छ । विशेषगरी सेयर बजारमा देखिएको उत्साह यसको प्रमाण हो । सरकारले अर्थतन्त्र सुधारका लागि विभिन्न नीतिगत सुधारहरू गरेको छ । गत असार १७ गते भएको सातबुँदे सहमति अनुसार सरकारले अर्थतन्त्र सुधार, परराष्ट्र सम्बन्धमा सुधार र नागरिक सेवा प्रवाहमा क्रमिक सुधार गर्दै आएको छ ।
प्रशासनिक सुधारको क्षेत्रमा सरकारले महत्वपूर्ण कदम चालेको छ । प्रधानमन्त्री ओलीले मन्त्रीहरूसँग र मन्त्रीहरूले सचिवहरूसँग कार्यसम्पादन सम्झौता गरी सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने प्रयास गरेका छन् । यस कदमले सरकारी कामकाजमा पारदर्शिता र जवाफदेहिता बढाएको छ ।
विपद् व्यवस्थापनको क्षेत्रमा पनि सरकारले सक्रिय भूमिका निर्वाह गरेको छ । देशका विभिन्न जिल्लाहरूमा हालै आएको बाढी, पहिरो र डुबानबाट प्रभावित नागरिकहरूको उद्धार र राहतका लागि सरकारले स्थानीय तहसँग समन्वय गरी काम गरिरहेको छ । दीर्घकालीन पुनर्निर्माणको योजना पनि तयार पारेको छ ।
सरकार गठनका बेला एमाले र कांग्रेसले राजनीतिक स्थायित्वका लागि संविधान संशोधनमा राष्ट्रिय सहमति निर्माण गर्ने सहमति गरेका छन् । यस प्रक्रियालाई अघि बढाउन दुवै दलका शीर्ष नेताहरूबीच निरन्तर छलफल भइरहेको छ ।
विपक्षी दलहरूले सरकारको काम कारबाहीमा आलोचना गरिरहे पनि सरकारले आफ्ना नीति तथा कार्यक्रमहरू निरन्तर अघि बढाइरहेको छ । आगामी दिनमा थप सुधारका कार्यक्रमहरू ल्याउने सरकारको तयारी छ ।
विशेषगरी आर्थिक विकास, रोजगारी सिर्जना र सामाजिक न्यायका क्षेत्रमा नयाँ कार्यक्रमहरू ल्याउने मन्त्रीहरुले आफ्नो सय दिनको उपलब्धिमा दाबी गरेका छन् ।
दुई प्रमुख राजनीतिक दलको सहकार्यमा बनेको यस सरकारले आगामी दिनमा अझ प्रभावकारी ढंगले काम गर्ने प्रतिबद्धता जनाएको छ । पहिलो सय दिनको अनुभवलाई आधार मानी सरकारले आफ्ना कार्यक्रमहरूलाई थप परिष्कृत गर्दै लैजाने योजना बनाएको छ । यसले मुलुकमा स्थायी शान्ति, समृद्धि र विकासको नयाँ युग सुरु हुने विश्वास गरिएको छ ।