सहकारी ठगी र संगठित अपराधको अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरणमा समेत अनुसन्धान अगाडि बढेको छ ।
कास्की प्रहरीले त्यससम्बन्धी प्रतिवेदन तयार गरिरहेको छ ।
पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका रविले राजनीतिमा प्रवेश गर्नु अघिदेखि हालसम्म जोडेको सम्पत्ति र उनको परिवारको चल/अचल सम्पत्ति सम्बन्धमा छानबिन हुने उच्च स्रोतले लोकान्तरलाई बतायो ।
स्रोतले भन्यो, ‘रविविरुद्ध सम्पत्ति शुद्धीकरणमा मुद्दा दर्ता गर्न प्रतिवेदन बनिरहेको छ । शुरूमा यो (सहकारी ठगी र संगठित अपराध) मुद्दामा थुनछेक बहस भएपनि लगत्तै सम्पत्ति शुद्धीकरणको मुद्दा समेत दर्ता गर्ने तयारी छ ।’
गत वैशाखमै सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ लाई संशोधन गरी प्रहरी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका निकायले सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान र अभियोजन गर्न पाउने अधिकार प्रत्यायोजन गरिएको थियो ।
गोरखा मिडिया नेटवर्कको प्रबन्ध निर्देशक हुँदा सहकारीको रकम अपचलन गरेको अभियोग रविमाथि छ । रकम अपचलनमा गोरखा मिडियाका तत्कालीन अध्यक्ष जीबी राईको निर्देशन र सञ्चालक छविलाल जोशी बञ्जाडेको मध्यस्थता देखिएकाले प्रहरीले संगठित अपराधमा समेत अनुसन्धान गरिरहेको छ ।
रविले आफूमाथि लागेको अभियोगसम्बन्धमा प्रहरीलाई इन्कारी बयान दिइरहेका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का डीएसपी सुन्दर तिवारीको नेतृत्वमा चारजना प्रहरी अधिकारी कास्की प्रहरीमा बसेर रविसँग बयान लिइरहेका छन् ।
सूर्यदर्शनलगायत केही सहकारीको रकम गोरखा मिडियामा ल्याउँदा आफ्नो संलग्नता नरहेको दाबी गरेका रवि र गितेन्द्रबाबु (जीबी) राई ‘पार्टनर’ भएकाले उनीहरूबीच भएको फोन सम्वादका बारेमा पनि प्रहरीले विस्तृत अनुसन्धान गरिरहेको छ ।
गोरखा मिडियाका अध्यक्ष समेत रहेका जीबी राई र रविबीच भएका फोन संवाद र एसएमएस समेत प्रहरीले केलाउने भएको छ । रवि गृहमन्त्री हुँदा उनले मलेसियाका समकक्षीसँग फोनमा वार्ता गरेका थिए । उनले जीबी मलेसियामा रहेकाले ल्याउने प्रयास गरेको बताएका पनि थिए ।
मलेसियन सरकारले सुपुर्दगी सन्धि नहुँदा जीबीलाई दिन नमिल्ने बताएपछि रेड नोटिस जारी हुँदा पनि उनलाई ल्याउन नसकिएको प्रहरीको दाबी छ । तर, फरार रहेकै बेलामा जीबी र रविबीच संवाद भएको आशंका अनुसन्धानमा संलग्न प्रहरी अधिकारीको छ ।
पछिल्ला दिनमा रविले सबै दोष जीबीमाथि थोपार्दै आएका छन् ।
‘गोरखा मिडिया नेटवर्कमा प्रवेश गरेदेखिकै रविको बैंक खाता, ट्राभल हिस्ट्री र उनले गरेका फोन संवादका विषयमा विस्तृत अनुसन्धान भइरहेको छ,’ उच्च स्रोतले लोकान्तरसँग भन्यो, ‘यी विषय खोतल्दा केही तथ्य हात पर्न सक्छन् ।’
गोरखा मिडियामा प्रवेश गर्दा १५ प्रतिशत शेयर लिएर पछि फिर्ता गरेको भनेका रविले बयान फेर्दै आएका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका एक प्रहरी अधिकृतका अनुसार रविको फोन तथा एसएमएस संवाद र बैंक खाताको विवरण माग्न प्रहरीले सम्बन्धित कार्यालयहरूमा पत्राचार गरिसकेको छ ।
जीबीले हुण्डीमार्फत मलेसियामा पैसा पठाएको दाबी प्रहरीले गरेको छ ।
हुण्डीमार्फत पैसा पठाउँदा रविको संलग्नता रहे/नरहेको सम्बन्धमा समेत प्रहरीको अनुसन्धान केन्द्रित हुने एक अनुसन्धान अधिकृत बताउँछन् ।
यसैबीच, कास्कीमा बयान सकिएलगत्तै रविलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा बयानका लागि पठाइने छ ।
यसअघि पूर्व डीआईजी एवं गोरखा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक छविलाल जोशी बञ्जाडेलाई कास्कीबाट बयानका लागि रुपन्देही पठाइएको थियो ।
‘जुन–जुन सहकारीको रकम गोरखा मिडियामा पुगेको छ, ती सहकारी भएका जिल्लामा मुद्दा दर्ता भएकाले त्यहाँ रवि र छविलाई बयानका लागि पठाइने छ,’ कास्की प्रहरीले भन्यो, ‘कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीका पीडितले काठमाडौं प्रहरीमा जाहेरी दिएकाले त्यहाँ पनि पक्राउ पुर्जी जारी भएपछि छवि र रविलाई बयानका लागि पठाइने छ ।’
कास्की हुँदै सुप्रिम सहकारी रुपन्देही, सानो पाइला सहकारी वीरगञ्ज, सहारा सहकारी चितवन र स्वर्णलक्ष्मी सहकारी कालीमाटीबाट समेत गरी गोरखा मिडियामा कुल ६५ करोड ५४ लाख रुपैयाँ पुगेको देखिन्छ ।