काठमाडौं । सहकारी ठगी र सङ्गठित अपराध मुद्दामा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले इजलासमै आक्रोश पोखेका छन् ।
बिहीबार इजलासमा आफ्ना कुरा राख्ने क्रममा प्रतिशोधको हिसाबले पक्राउ गरिएको बहसमा संलग्न कानून व्यवसायीहरूले बताए ।
सहकारी पीडित र लामिछाने पक्षका कानून व्यवसायीले बहस गर्दागर्दै लामिछानेले आफ्ना कुरा पनि राख्ने इच्छा जाहेर गरेका थिए । त्यसपछि अनुमति पाएका लामिछानेले आफूलाई हिरासत राख्ने समय सरकारले लम्ब्याउन खोजेको आरोप लगाए ।
’बयान लिने काम अघि बढाउँदैन । यत्तिका दिनसम्म जम्मा ४ घण्टा बयान भयो । सरकारले प्रतिशोध साधेर धेरै दिन थुनामा राख्न खोजेको छ,’ लामिछानेले भने, ’ दुइटा ठुला दलले षड्यन्त्र गरेर मलाई फसाएका हुन् । उनीहरूले मेरो राजनीति सिद्ध्याउन खोजेका हुन् ।’
उनले चर्केर बोलेपछि न्ययाधिशले यो अदालत भएको र संयमित भएर कुरा राख्न आग्रह गरेका थिए । त्यसपछि उनले आफू पीडित भएको जिकिर गर्दै आक्रोश स्वभाभिक रहेको बताउँदै माफी मागेका थिए ।
बिना कारण सरकारले हिरासतमा राखेको दाबी गर्दै उनले आफूलाई प्रहरी हिरासतमा पनि ज्यादती भएको बताए ।
सहकारी ठगी र सङ्गठित अपराधमा रविविरुद्ध माघ २२ गते जाहेरी परेको थियो ।
त्यो जाहेरीका अधारमा प्रहरीले कात्तिक २ गते पक्राउ परेर पोखरा ल्याएको थियो । उनलाई पहिलो पटक अदालतले आइतबार ६ दिन हिरासतमा राख्न म्याद दिएको थियो । बिहीबार सरकारी वकिल कार्यालयले रविलालाई २५ दिन हिरासतमा राख्न समय मागेपनि थप ७ दिन समय दिएको छ ।