चितवन । नेकपा एमालेका महासचिव शंकर पोखरेलले रवि लामिछानेको स्टन्टबाजी र हिप्नोटिजमको शिकार चितवनवासी भएको निश्कर्ष सुनाउनु भएको छ ।
तिहारलगायत बिभिन्न चाडको अवसरमा एमाले चितवनले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा महासचिव पोखरेलले पटक–पटक नेपालको लोकतान्त्रिक परिवर्तनको अगुवाइ गरेको चितवन आफै रबिको स्टण्डवाजीको शिकार बनेको निश्कर्ष सुनाउनु भएको हो । रवि लामिछानेले चलाएको नयाँ खोज्ने हिप्नोटिजमको शिकार पनि चितवन भएको महासचिव पोखरेलको निश्कर्ष छ ।
‘चितवनले पटक–पटक लोकतान्त्रिक परिवर्तनको अगुवाइ गर्यो । रवि लामिछानेले नयाँ खोज्ने अभियान चलाए । त्यसैको नेतृत्व गर्यो । नयाँ अभियानको नेतृत्वतर्फ लग्यो’, महासचिव पोखरेलले भन्नुभयो, ‘हामीले नयाँ सोच बनाएर ल्याएको नेतालाई परीक्षणको मौका नदिई खराब हुन भन्दा जनताले पत्याउँदैनन भनेर पटक–पटक काम गर्ने मौका दिन पहलकदमी लियौं र काम गर्ने मौका दियौं । दुईदुई पटक हाम्रै कारणले गृहमन्त्री भए । त्यो समय उनले के काम गरे भन्ने कुरा चितवनकै जनताले पनि निकै छिटो थाहा पाउनुभयो भन्ने लाग्दछ ।’
महासचिव पोखरेलले संगठित रुपमा सहकारीको पैसा गोरखा मिडियामा लगेर चाँडै धनी हुने सपना देखाएर सहकारी आन्दोलनलाई बिथोल्ने काम रवि लामिछानेले नै गरेको पनि बताउनु भयो । ‘जसले सहकारीको मान्यता भत्काएर नयाँ विचलनको यात्रा सुरु भयो । सहकारीको पैसालाई कम्पनीतर्फ डाइभर्ट गर्ने सुनियोजित षडयन्त्र भयो । त्यो विचलनको आन्दोलनले आमसहकारी आन्दोलनलाई कमजोर बनाउने माध्यम गोर्खा मिडिया बन्यो,’ पोखरेलले भन्नुभयो ।
सहकारी आन्दोलन तुहाउने काम मात्रै गरेको नभई लामिछानेले महिलाहरुलाई सम्मान नगरेकाले चितवनका महिलाहरुलाई स्टन्टबाजीको पछि नलाग्नसमेत महासचिव पोखरेलले सुझाउनु भएको छ । नेपाली समाज सामाजिक सम्बन्धमा अडेको समाज भएको उल्लेख गर्दै उहाँले रवि लामिछानेले कहिल्यै नारीप्रति सम्मान नगरेको बताउनु भयो ।
नारीप्रति अनास्था र अविश्वास प्रकट गर्दै हिँड्ने व्यक्तिलाई नेपाली समाजको नयाँ आन्दोलनका रुपमा बुझ्ने जुन प्रकारको प्रवृत्ति चितवनबाट अगाडि बढ्न खोज्यो, अब चितवनका जनताले समीक्षा गर्नुपर्दछ’, पोखरेलले भन्नुभयो, ‘भन्न सक्नुपर्छ, नेपाली परम्पराविरुद्धका अभियान नेपाली संस्कारलाई कमजोर बनाउने अभियान हो ।’ महासचिव पोखरेलले अव नयाँको नाममा फेरि गल्ती दोहोर्याउँदै जाने काम नगर्न चितवनवासीलाई अपिलसमेत गर्नुभयो ।