सहकारी ठगी प्रकरण २ कात्तिकमा पक्राउ परेपछि रास्वपा सभापति रवि लामिछानेले भनेका थिए, सरकार मर्यो, हामीलाई जुठो पर्यो। पोखराका सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका रवि अहिले कास्की प्रहरीको हिरासतमा छन्। तर, पक्राउ पर्ने वितिक्कै रास्वपाले सडक आन्दोलन थालेको थियो। रास्वपाका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखकविरुद्ध चर्का नारा लगाए।
तर, पोखरा आन्दोलनमा जनताले साथ नदिएपछि काठमाडौं फर्किएका रास्वपा नेताहरुले गत शुक्रबार काठमाडौंमा प्रदर्शन त गरे। तर, यहाँ पनि उल्लेख्य सहभागिता हुन नसकेपछि रास्वपा विखलबन्दमा परेको छ। हुन् त फौजदारी अभियोगमा पक्राउ परेका अनि अदालतले अनुसन्धानका लागि हिरासतमा अनुमति दिएकालाई आन्दोलनका भरमा छुटाउन पनि मिल्दैन।
रास्वपाले सडक आन्दोलन गरेपनि बालुवाटारदेखि सिंहदरबार गएर हारहुगार गरिरहेको छ।
कार्यवाहक सभापति नपाए पनि कार्यवाहक जसरी नै सक्रिय रहेका उपसभापति डिपी अर्यालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटार र गृहमन्त्री रमेश लेखकलाई सिंहरबारमा भेट गरेका छन्। उनी दिउँसो सडकमा सरकारविरुद्ध आन्दोलन गर्ने र साँझ भने सरकारी अधिकारीलाई भेट गरिरहेका छन् । गृहमन्त्री लेखकबाट सकारात्मक प्रतिक्रिया नपाएपछि उनी बालुवाटार पुगेका थिए।
तर, आइतबार भएको भेटमा प्रधानमन्त्री ओलीले पनि तत्काल केही गर्न नसकिने जवाफ दिएका छन्। ओलीले ‘अहिले मुद्दा फिर्ता लिने अवस्था पनि नरहेको र मुद्दा अदालती प्रक्रियामा प्रवेश गरिसकेकोले केही गर्न नसकिने बताएका थिए।
उपसभापति अर्यालले भने रविलाई छुटाउने वातावरण बनाइदिन आग्रह गरेका थिए। अर्यालले प्रधानमन्त्री ओलीसँग ‘भनेका थिए, ‘तपाईंले नै हुकाईदिएको पार्टी हो, भोलिका दिनमा तपाईंले भनेअनुसार नै हुन्छ, अहिले रविलाई छुट्ने वातावरण मिलाइदिनुपर्‍यो।’
प्रधानमन्त्री ओलीसँग रास्वपा नेताहरुको भेटबारे एमाले केन्द्रीय सदस्य विष्णु रिजालले पनि खुलासा गरेका छन्। ‘दिनभर व्यक्तिगत रुपमा गालीगलौज गरेर राती–राती कुन मुखले हारगुहार गर्न सकेको भन्दै उनले टिप्पणी गरेका छन्। उनले लेखेका छन्, ‘दिनभरि प्रधानमन्त्रीविरुद्ध व्यक्तिगत रूपमा गालीगलौज गर्ने, शब बनाएर दाहसंस्कार गर्ने जस्तो अशोभनीय काम गर्ने, नामै लिएर लाञ्छना लगाउने रास्वपाका साथीहरू राती–राती कुन मुख लिएर बालुवाटारमा कुरेर ‘रविजीलाई बचाइदिनुपर्‍यो, लौ न’ भनेर हारगुहार गर्दा हुन् ?’, उनले फेसबुकमा लेखेका छन्, ‘यति हेक्का राखे हुन्छ– राजनीतिमा धैर्य र इमान चाहिन्छ। जे गर्छ, कानुनले गर्छ । डोलप्रसादजी र सन्तोषजीले सम्माननीय प्रधानमन्त्रीज्यूलाई अनुरोध गरेजस्तो उहाँले चाँहदैमा मुद्दा फिर्ता सम्भव हुन्न।’
पछिल्लो पटक रास्वपा सभापति लामिछाने पक्राउ परेपछि रास्वपाले त आन्दोलन गरिरहेकै थियो। तर, अस्थिरता बढाउन माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि आन्दोलन थालेका छन्। माओवादीले शनिबार काठमाडौंमा प्रदर्शन गरेको थियो। आन्दोलन बढेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा असामाजिक क्रियाकलापहरु फस्टाउन नदिइने बताएका छन्।
मंगलबार सशस्त्र प्रहरी बल नेपालको निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहमा प्रधानमन्त्री ओलीले विभिन्न शक्तिहरु नेपाली मनलाई विभाजित गर्न खोजेका बताए। ‘विभिन्न नाममा नेपाली मनहरुलाई विभाजित गर्ने, साम्प्रदायिक विद्वेष अथवा अरु प्रकारका क्रियाकलापहरु अराजकता, संविधान विपरीतका क्रियाकलापहरु र कानुन विपरीतका क्रियाकलापहरु, असामाजिक क्रियाकलापहरु, अराजकता मच्चाउने खालका क्रियाकलाप र प्रयासहरु भइरहेका छन्। हामीले कुनै पनि हालतमा यस्ता असामाजिक क्रियाकलापहरुलाई मौलाउन, फस्टाउन पनि दिँदैनौं’, उनले भने।
आरजुसँग मागे समय
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उपसभापति डोलप्रसाद अर्याल(डिपी)ले परराष्ट्र मन्त्री डा.आरजु राणा देउवासँग भेटका लागि आग्रह गरेको खुलेको छ ।
सहकारी ठगी प्रकरणमा कात्तिक २ गते पक्राउ परेका पार्टी सभापति रवि लामिछानेलाई हिरासतमुक्त गराउन उपसभापति अर्याल यति बेला सरकारसँग लबिङमा छन् । यसअघि सोमबार उनले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई भेटेका थिए ।
यसैबीचमा अर्यालले मंगलबार नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी समेत रहेकी परराष्ट्र मन्त्री राणालाई भेट्न चाहेको खुलेको हो ।
अर्यालले मन्त्री राणाका स्वकीय सचिव कमल रावललाई मोबाइलमा म्यासेज गरेर भेटका समय मिलाइदिन अनुरोध गरेको तस्बिर बाहिरिएको छ ।
तस्बिरमा रास्वपा उपसभापति अर्यालकै मोबाइलको स्क्रिन देखिएको छ । जसमा अर्यालले मन्त्री राणाका स्वकीय सचिवलाई म्यासेज लेखिरहेका देखिन्छन् । अर्यालको मुहार भने देखिदैन् ।
स्क्रिनको म्यासेज बक्समा अङ्ग्रेजी अक्षरमा ‘कमल जी म डिपी अर्याल । एक पटक मन्त्रीज्यूसँग सर्ट मिटिङको टाइम मिलाउनु न’ लेखेर पठाइसकेको देखिन्छ । उक्त तस्बिर अर्यालसँगै रहेको कसैले लिएर सामाजिक सञ्जालमा भाइरल बनाएको हुनसक्ने देखिएको छ । अहिले उक्त म्यासेज सामाजिक सञ्जालमा छ्यापछ्याप्ती छ ।
उक्त म्यासेज उपसभापति अर्यालकै हो वा होइन भनेर पुष्टि गर्न खोज्दा उनीसँग सम्पर्क हुन सकेन् । तर, मन्त्री राणाको सचिवालयले भने रास्वपा उपसभापति अर्यालबाट मन्त्री राणासँग भेटको समयका लागि अनुरोध आएको पुष्टि गरेको छ ।