वीरगञ्ज । विश्व प्रसिद्ध गढीमाई मन्दिरमा हालै सम्पन्न भेटी गणनामा यस वर्ष कुल नौ लाख ६६ हजार ४ सय १३ रुपैयाँ सङ्कलन भएको छ । दान पेटीको गणनाबाट सात लाख ३५ हजार ३४१ रुपैयाँ र रसिद मार्फत दुई लाख ३१ हजार ७२ रुपैयाँ गरेर कुल नौ लाख ६६ हजार ४ सय १३ रुपैयाँ सङ्कलन भएको हो ।
महागढीमाई नगरपालिकाको मन्दिर परिसरमा रहेका चार वटा दान पेटीमा घटस्थापनादेखि कात्तिक ११ गतेसम्म सङ्कलित भेटीको गणना कार्य बुधवार सम्पन्न भएको हो ।
महागढीमाई नगरपालिकाका मेयर उपेन्द्र यादवले जानकारी अनुसार, नगद भेटीका साथसाथै नेपाली र विदेशी मुद्रा, सात थान सुनको गहना र २६ थान चाँदीका गहना पनि सङ्कलन भएका छन् । भक्तजनहरूले रसिदमार्फत थप दुई लाख ३१ हजार ७२ रुपैयाँ दान गरेका छन् ।
यस वर्ष दसैँ र तिहार पर्वको बिचमा भक्तजनहरूको भीड बढेकाले ठूलो परिमाणमा भेटी सङ्कलन हुने अनुमान गरिएअनुसार नै भेटीमा विविधता देखिएको छ।
गढीमाई मन्दिरले धार्मिक कार्यक्रमहरूको आयोजना र विशेष अवसरहरूमा दर्शनार्थीहरूको सेवामा जोड दिँदै आएको छ। विशेष गरी गढीमाई मेला, जसमा लाखौँ श्रद्धालु सहभागी हुन्छन्, मन्दिरका लागि प्रमुख आर्थिक स्रोत बनेको छ।
सङ्कलित भेटी गढीमाई विकास समितिको कोषमा जम्मा गरी मन्दिरको संरक्षण, व्यवस्थापन, र विकासमा उपयोग गरिने योजना रहेको मेयर यादवले बताएका छन्।