एनसेल फाउन्डेसनको प्रमुख सहकार्यमा जनकपुरस्थित तिरहुतिया गाछीमा भूमि फाउन्डेसनले मिथिला भेगका लोक सङ्गीत संस्कृतिको संरक्षण र पुनरुत्थान गर्न भूमि लोक उत्सवको आयोजना गरेको छ।
महोत्सवमा स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहेको थियो भने स्थानीय मान्यगण, देशी, विदेशी अतिथिहरू एवं जनकपुरका स्थानीयवासी सहभागी थिए।
मधेश प्रदेशबाट लोप हुने अवस्थामा पुगेका लोक सङ्गीत तथा बाजाहरूको प्रस्तुतिदेखि भारतका गायिका डा. रञ्जना झाको समूहको शास्त्रीय मैथिली लोक संगीतको प्रस्तुति गरिएको थियो।
कार्यक्रममा मिथिला संस्कृतिका धरोहरका रूपमा रहेका तर हाल लोप हुने जोखिममा रहेका पमरिया, रसनचौकी र झरी–झरी नाचलगायतका प्रस्तुति समेटिएको थियो।
राष्ट्रियस्तरमा ख्याति कमाएका कलाकार सुशान्त घिमिरे र राग, झुमा लिम्बु, फ्याटकाउली, आशिष् एन्ड अभिषेक, रूपेश झा आदिले साङ्गीतिक प्रस्तुति गरेका थिए।
कार्यक्रममा काठमाडौँका नृत्य परम्पराको झल्कोसहित सुदन मुनिकारले भैरव काली नाच तथा सुबिमा श्रेष्ठको समूहले कत्थक नाच प्रस्तुत गरेका थिए।
दशैंका बेला मिथिला–मधेश क्षेत्रमा गाइने झिझिया नृत्यमा स्थानीय हिमाली स्कुलका विद्यार्थीहरूले निकै नै मनमोहक प्रस्तुति गरेका थिए।
युवा –यापर सन्तोष झाका मैथिली –यापले युवा पुस्तामाझ थप उर्जा तथा उत्साह बढाएको थियो।
‘स्थानीय कला र संस्कृतिको संरक्षण र प्रवर्द्धनका लागि मुख्य प्रायोजकको रूपमा हामीसँग सहकार्य गरेकोमा एनसेल फाउन्डेसनलाई विशेष धन्यवाद,’ भूमि लोक महोत्सवकी कार्यकारी निर्देशक चन्द्रेशा पाण्डेले भनिन्।
भूमि फाउन्डेसन अध्यक्ष रश्मि रञ्जन झाले जनकपुर शहरले यस कार्यक्रमप्रति देखाएको आत्मियता, स्वामित्वभाव र सहयोगले आउँदा वर्षहरुमा अझै धेरै उत्साहका साथ यस्ता कार्यक्रम आयोजना गर्ने हौसला बढाएको बताइन्।