शुक्रबारदेखि दुई नयाँ बलिउड फिल्म नेपाली हलमा रिलिज भएका छन् । रोहित सेट्ठीको कप्स युनिभर्सको फिल्म ‘सिंघम अगेन’ र कार्तिक आर्यन स्टारर ‘भुलभुलैया ३’ प्रदर्शनमा आएका छन् ।
१४५ रनटाइमको एक्सन फिल्म ‘सिंघम अगेन’लाई सेट्ठीले निर्देशन गरेका हुन् । अजय देवगण, दीपिका पादुकोण र करिना कपुरको शीर्ष भूमिका रहेको यो फिल्ममा अक्षय कुमार, टाइगर श्राफ, रणवीर सिंहजस्ता स्टारको समेत केमियो छ ।
पत्नी अभ्नीलाई खलनायक डेन्जरले अपहरण गरेर लंका लगेपछि बाजिराव सिंघमले उसलाई छुटाउन गर्ने संघर्षको कथा यसमा छ । यसका लागि उसले रामायणको सहारा लिनुपर्छ ।
बाजीराव सिंघमको भूमिकामा अजय छन् । अभ्नीको रोलमा करिना, एसपी शक्ति सेट्ठीको भूमिकामा दीपिका र डेन्जर नामक खलनायकको रोलमा अर्जुन कपुर छन् । मुम्बई, हैदराबाद, कश्मिर र श्रीलंकामा छायांकन गरिएको यो फिल्मलाई नेपाली सेन्सर बोर्डले पीजी सर्टिफिकेट दिएको छ ।
‘भुलभुलैया ३’ पनि आजै
बलिउडको कमेडी हरर फिल्म ‘भुलभुलैया ३’मा कार्तिक आर्यन, विद्या बालन, माधुरी दीक्षित, तृप्ती डिमरीको शीर्ष भूमिका छ । आकाश कौशक निर्देशित यो फिल्मको छायांकन भारतको पश्चिम बंगालमा गरिएको हो ।
रूह बाबा (कार्तिक आर्यन) पश्चिम बङ्गालको रक्तघाट राज्यको एक प्रेत भएको हवेलीमा प्रवेश गर्छन्, जहाँ उनले दुई प्रतिशोधी आत्माको सामना गर्छन्, दुवैले मन्जुलिका भएको दाबी गर्छन् । मञ्जुलियाको रोलमा माधुरी र विद्या छन् । १५९ मिनेट रनटाइमको यो फिल्मलाई नेपाली सेन्सर बोर्डले पीजी प्रमाणपत्र दिएको छ ।