वीरगन्ज । बारा महागढीमाइ नगरपालिकामा ६ दिन अगाडि भएको हत्या प्रकरणमा प्रहरीले मुख्य अभियुक्तलाई पक्राउ गरेको छ । महागढीमाइ नगरपालिका वडा नम्बर–१ मा धारिलो हतियार प्रहार गरी भएको हत्या प्रहरणमा प्रहरीले सबुत प्रमाणसहित मुख्य अभियुक्तलाई पक्राउ गरेको हो ।
बारा प्रहरीले मृतक श्रीनारायण प्रसाद यादवकै गाउँले सुफाइ चौधरीलाई पक्राउ गरेको स्रोतले जनाएको छ । पक्राउ परेका चौधरी मृतक यादवको खेत जोतखन गर्ने व्यक्ति रहेको प्रहरी स्रोत बताउँछ ।
चौधरी नै मुख्य अभियुक्त रहेको पाइएको अनुसन्धानमा सहभागी एक अधिकारी बताउँछन् । पक्राउ परेका मुख्य अभियुक्त चौधरीलाई सबुत प्रमाणसहित दिउँसो पत्रकारसम्मेलन गरेर सार्वजनिक गरिने तयारी गरिएको बारा प्रहरी प्रवक्ता प्रकाश सापकोटाले बताए ।
गएको शनिबार महागढीमाइ नगरपालिका सेमरा निवासी श्रीनारायण प्रसाद यादवमाथि धारिलो हतियार प्रहार भएको थियो ।
रातीको सयममा उनको टाउको पछाडि खुकुरीबाट प्रहार गरिएको थियो । गम्भीर घाइते भएका यादवको उपचारको क्रममा मृत्यु भएको थियो ।
घटना लगत्तै बारा प्रहरीले घटनाको अनुसन्धानमा स्पेशल टोली खटायो । प्रहरीको टोलीले लगातार गरेको अनुसन्धानपछि मुख्य अभियुक्तसम्म प्रहरी पुग्न सफल भएको स्रोतको दाबी छ ।
घटनामा संलग्न रहेको आशंकामा करिब आधा दर्जन शंकास्पद व्यक्तिहरू पक्राउ परेका थिए । तर सबुत प्रमाणको आधारमा अनुसन्धान गर्दै जाँदा मुख्य अभियुक्त फेला पर्न गएको बारा प्रहरीको दाबी छ ।
मूलतः प्रहरीको ‘स्पेसल’ टोलीले विभिन्न पाटोबाट गरेको अनुसन्धानका कारण हत्या भएको एक साता नबित्दै मुख्य अभियुक्त चौधरीलाई पक्राउ गर्न सकिएको प्रहरी भनाइ छ ।
महागढीमाइ नगरपालिका वडा नम्बर–१ को सडकखण्डमा अबेर राती ५५ वर्षीय वृद्धको हत्या भयो । वृद्धको हत्या भएपछि प्रहरी चकित मात्रै परेन, अच्चमितसमेत भयो ।
स्रोतका अनुसार त्यसपछि प्रहरीले बेग्लै रणनीति बनायो । त्यही रणनीति अनुसार सुरुमा शंकास्पद व्यक्तिहरू उठाउन थाल्यो ।
यहीक्रममा ‘स्क्रीनिङ्ग’ गर्दै जाँदा प्रहरी नियन्त्रणमा रहेका चौधरीले हत्या आफूले गरेको स्वीकार्दै घटनाको जडबारे प्रहरीमा बयान गरे ।
जुन बयानमा चौधरीले स्वीकारेका छन्– मृतक यादवसँग पुरानो रिसइबी थियो, त्यहीकारण खुकुरीले प्रहार गरी मारे ।
प्रहरी हिरासतमा रहेका चौधरीले प्रहरी बयानमा भनेका छन्, ‘करिब २/३ वर्ष अगाडि म उहाँको खेत जोतखन गर्थे, तर पछि उहाँले मसँग त्यो खेत फिर्ता लिनु भयो । त्यसपछि त्यो खेत जोतखन गर्न अरुलाई दिनु भयो, अनि मेरो मनमा रिस पलायो । यही रिसइबीका कारण मेलै उनलाई मार्ने योजना बनाए, अस्ति राती भेटनु भयो त्यही बेला खुकुरीले प्रहार गरदिए ।’
प्रहरीले यादवमाथि प्रहार गरेको खुकुरीसमेत लुकाइ राखेको अवस्थामा बरामद गरिसकेको स्रोतले जनाएको छ ।