पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीको नेता कार्यकर्ताको विरोध प्रदर्शनले उग्र रुप लिँदा पोखरा तनावग्रस्त बनेको छ ।
पार्टी सभापति रवी लामिछाने पक्राउको विरोधमा उत्रेका रास्वपाका नेता कार्यकर्ताले निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि स्थिति तनावग्रस्त बनेको हो ।
केही प्रदर्शनकारीलाई प्रहरीले पक्राउसमेत गरेको छ । विरोध प्रदर्शनमा सहभागी ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले बताए ।
‘नियन्त्रणमा लिएर सुरक्षितसाथ राखेका छौं’, उनले भने । जिल्ला प्रशासन कार्यालय नजिकै वाइचोकमा प्रहरीले भीडलाई तितरबितर पार्न ४ सेल अश्रुग्याससमेत प्रहार गरेको थियो । तर,पनि भीड तितरबितर भएको छैन ।
रास्वपाले माइकिङ गरिरहेको सवारीको चाबी प्रहरीले खोसिदिएको छ । सादा पोशाकमा खटिएका प्रहरीलाई प्रदर्शनकारीले मुक्का हानेका छन् । प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेलको स्थिति छ ।
सहकारीको रकम ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री लामिछाने यतिबेला जिल्ला अदालत कास्कीमा छन् । जिल्ला न्यायाधीश चन्द्रकान्त पौडेलको इजालसमा बहस छ ।
रविको गोरखा मिडिया नेटवर्कमा व्यवसायिक साझेदार पूर्वडिआइजी छविलाल जोशीसँगै सूर्यदर्शन सहकारी प्रकरणमा गितेन्द्रबाबु राई (जिबी) सँग मिलेर रकम अपचलन गर्ने लीला पछाइ र नेचर हर्ब्स् इन्टरनेशनलका सञ्चालक रामबहादुर खनाललाई पनि म्याद थपका लागि प्रहरीले अदालतमा उपस्थित गराएको छ ।
लामिछानेलाई राजनीतिक प्रतिशोध साँधेर पक्राउ गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीको आह्वानमा विरोध प्रदर्शन भइरहेको छ । मंगलबार विहान पोखराको जिरोकिलोमिटरबाट सुरु भएको विरोध प्रदर्शन सृजनाचोक, रत्नचोक हुँदै वाइचोकमा पुगेको हो ।
वाइचोकबाट निषेधित क्षेत्रमा प्रवेश गर्न खोज्दा अवस्था तनावग्रस्त बनेको छ ।