काठमाडौं । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल कार्तिक २३ गतेदेखि दैनिक १० घण्टा बन्द हुने भएको छ ।
विमानस्थलको धावनमार्गको कार्य क्षमता बढाउनका लागि रनवेसँग समानान्तर हुनेगरी ट्याक्सी वे बनाउन काम गर्नुपरेकोले दैनिक १० घण्टा बन्द हुने भएको बताइएको छ ।
विमानस्थलको धावनमार्गको क्षमता अभिवृद्धिका लागि दैनिक १० घण्टाका दरले काम गर्दा करिव ५ महिना लाग्ने हुँदा कार्तिकमा नै काम गर्नुपरेको नेपाल नागरिक उड्डयन प्राधिकरणले स्पष्ट पारेको छ ।
गर्मी याममा काम गर्न नसकिने, त्यसै बेला मनसुन पनि हुने भएकोले अहिलेको समय मात्र विकल्प भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले जानकारी दिए ।
महानिर्देशक इन्जिनियर अधिकारीले रनवेसँग समानान्तर हुनेगरी ट्याक्सी वे निर्माण गरेर सो विमानस्थलको कार्य क्षमता बढाउने काम गर्न लागिएको बताए ।
महानिर्देशक अधिकारीले सो कामको योजना करिव ८ महिना अघि देखिकै भएकाले यसलाई भैरहवा अन्तर्राष्ट्रिय राष्ट्रिय विमानस्थलको उडानसँग जोडेर नहेर्न पनि आग्रह गरे ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्य क्षमता अभिवृद्धिका लागि शुरु गर्न लागिएको सो काम विशुद्ध व्यावसायिक भएकाले यसलाई कुनैपनि खालको रणनीति वा राजनीतिक नभएको महानिर्देशक अधिकारीको स्पष्टीकरण थियो ।
उनले धावनमार्गको स्तरोन्नतिको काममा सबै क्षेत्रका वायुसेवा प्रदायक संस्थाबाट सहमति लिइएको बताए ।
हिउँद महिनामा कम उडान हुने भएकाले पनि विमानस्थलको धावनमार्ग स्तरोन्नतिको कामलाई अघि बढाउन लागिएको पनि प्राधिकरणले जनाएको छ ।
महानिर्देशक अधिकारीले चालु आर्थिक वर्षको अनुमानित आयमा करिव २ अर्ब नोक्शान पर्ने भएपनि विमानस्थलको कार्य क्षमता अभिवृद्धिका लागि सो काम शुरु गर्नुपरेको उल्लेख गरे ।
समानान्तर ट्याक्सी वे निर्माण भएपछि अहिले जस्तो धावनमार्गबाट नै एप्रोनमा जानुपर्ने बाध्यता हट्ने महानिर्देशक अधिकारीले स्पष्ट पारे ।
ट्याक्सी वे निर्माण पछि विमानस्थलको कार्य क्षमता २५ प्रतिशतले बढेर जाने महानिर्देशक अधिकारीले बताए ।
महानिर्देशक अधिकारीले भने– ‘हामीलाई मिनिमम १० घण्टा चाहिन्छ भन्ने हाम्रो क्याल्कुलेशन हो । त्यो क्याल्कुलेशनअनुसार हामीले एयरपोर्ट ५ महिनाका लागि बन्द गरेको हो । यो १० घण्टा किन गर्नुभयो, ८ घण्टा किन गर्नुभएन ? भन्ने प्रश्न पनि छ । १० घण्टा बन्द गर्दा यो ५ महिनामा सकिन्छ । यो वीन्टर सेडयुलमा सिद्ध्याउने हाम्रो टार्गेट छ । यसलाई १० को ठाउँमा ८ घण्टा लिएर आयो भने के हुन्छ भने ७ महिना बढी जान्छ । यसले अर्को समर सेड्युललाई पनि असर ग¥यो । अहिले नोभेम्बरको १५ दिन हामीलाई अलि बढी असर गर्छ नै । किनभने नोभेम्बरको २०/२५ सम्म हामी हाम्रो सिजन हो । त्यसपछि डिसेम्बर, जनवरी, फेब्रुअरी काठमाडौँ र तराईका अन्य विमानस्थलमा पनि हुस्सुका कारण धेरै फ्लाइट हुने होइन । मनसुनमा हामी यो काम गर्न सक्दैनौ । यस कारण यो नै उपयुक्त समय हो भनेर हामीले १० घण्टा बन्द गरेर यो काम सकाउन लागेको हो । ’
प्राधिकरणले सो स्तरोन्नतिको कामले वाह्य उडान मात्रै नभएर आन्तरिक उडानमा पनि ३० प्रतिशत कटौती हुने बताएको छ ।
महानिर्देशक अधिकारीले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि सरकारले सस्तोको टिकटको व्यवस्था गरेको पनि स्मरण गराए ।
उनले सो अन्तर्राष्ट्रिय विमानस्थलका लागि पनि करिव ३ वटा अन्तर्राष्ट्रिय वायु यानले उडान भर्ने प्रतिवद्धता जनाएको पनि जानकारी दिए ।
महानिर्देशक अधिकारीले भने– ‘आन्तरिक उडान पनि कम्तीमा ३० प्रतिशत कटौती हुन्छ । तर डोमेस्टिक एयरलाईन्सँग पनि हामीले प्रशस्त छलफल गरेका छौँ । उहाँहरू एकदमै सकारात्मक हुन्छ । यो बनिसकेपछि एयरर्पोटको इफिसेन्सी नै अर्को हुन्छ नि । यो वर्षेदेखि पाइलटले खोजेको कुरा हो नि । यो विषयमा उहाँहरूको पूर्ण समर्थन छ । ३ वटा अन्तर्राष्ट्रिय वायु यान उडान भर्ने प्रतिवद्धता आएको छ । भैरहवाबाट ३ वटा वायु यानले आफ्नो उडान निकट भविष्यमा नै शुरु गर्नेछन् ।’
सरकारले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल उडान सञ्चालनका लागि त्यसको टिकट दर सस्तो उपलब्ध गराउने निर्णय गरिसकेको छ ।