रौतहट। सर्लाही–सिन्धुली सिमा क्षेत्रमा अज्ञात समूहले आइतबार प्रहार गरेको गोली लागेर मकवानपुरको एक विद्यालयका प्रधानाध्यापक घाइते भएका छन् । उनको गालामा गोली लागेको छ ।
सिन्धुलीको हरिहरपुर गाउँपालिका–१ स्थित वापसी खोला भन्ने स्थानमा अज्ञात समूहले प्रहार गरेको गोली लागेर मकवानपुरको बाग्मती गाउँपालिका–१ बोटगाउँका ४० वर्षीय प्रेमबहादुर बम्जन घाइते भएका हुन् ।
उनी मकवानपुरको बकैया गाउँपालिकास्थित बुद्ध माविका प्रधानाध्यापक हुन् । बकैया मोरङे चिसापानीस्थित भिनाजु ज्ञानबहादुर लामाको घरमा पुजा सकेर प्र.२–०३–००६ प ८५५४ नम्बरको मोटरसाइकल चढेर रौतहट, सर्लाही, सिन्धुली सिमा हुँदै घर फर्कदै गर्दा गौडा कुरेर बसेका ३ जनाको समूहले गोली प्रहार गरेका थिए ।
गोली लागेर प्रेमबहादुर घाइते भएका उनका भाइ दिलबहादुर बम्जनले बताए । प्रेमबहादुरसँगै दिलबहादुर पनि भिनाजुको घरबाट फर्कर्दै थिए । दिलबहादुरका अनुसार मोटरसाइकलमा घर फर्कर्दै गर्दा वापसी खोल्सी भन्ने स्थानमा पेस्तोल बोकेका तीन जनाले मोटरसाइकल रोकेर साइड लगाउन भनेका थिए ।
त्यसपछि नगद र समान के-के छ भनेर मागेका थिए । त्यही बेला दाजु प्रेममाथि गोली प्रहार भएको उनले सुनाए । ‘पहिलो गोली दाजु माथि प्रहार गरे,‘ उनले भने, ‘दोश्रो गोली म माथि प्रहार गर्दा पेस्तोल पड्किएन र उनीहरु भागे ।’
घाइते प्रेमबहादुरलाई सर्लाहीको कर्मैयास्थित मोडेल अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि वीरगञ्जस्थित वयोधा अस्पताल लगिएको छ ।