विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले विवादास्पद् ‘डेडिकेडेट’ र ‘ट्रंकलाइन’ महशुल विवादका क्रममा काटिएको विजुली पुनः नजोडिएकोमा असन्तुष्टि ब्यक्त गरेका छन् ।
विराटनगरस्थित एक होटलमा सोमबार राति पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री ओलीले मन्त्रीपरिषद् बैठकले गरेको निर्णयसमेत कार्यान्वयन हुन नसकेको जनाउँदै असन्तुष्टि जनाएका हुन् ।
आइतबारको मन्त्रीपरिषद् बैठकले काटिएका उद्योगको विद्युत् लाइन २४ घण्टाभित्र जडान गर्न विद्युत प्राधिकरणलाई निर्देशन दिने निर्णय गरेको थियो । बैठकको निर्णय भएको २४ घण्टा बितिसक्दासमेत हालसम्म उद्योगमा लाइन नजोडिएको सन्दर्भमा उनले भने, ‘विद्युत्को लाइन जोडिएन होइन ? ठीक छ हेर्दै जानुपर्छ । देश बिगार्न, उद्योगधन्दा बन्द गर्न र देशलाई टाट पल्टाउन चाहिँ दिइँदैन ।’
सोही क्रममा प्रधानमन्त्री ओली प्रदेश सरकारको कामकार्वाहीमा समेत सकारात्मक देखिएनन्। प्रदेश सरकारले काम गर्न नसकेर अधिकार मात्र माग्ने गरेकोमा आपत्ती जनाएका प्रधानमन्त्री ओलीले प्रदेश सरकारलाई अधिकार हस्तान्तरणमा अनिच्छा देखाएका हुन्।
प्रदेश सरकारले केन्द्र सरकारसमक्ष अधिकार माग गरिआएको विषयमा उनले भने, ‘अधिकार माग्ने मात्रै होइन काम पनि हेर्नुपर्छ । ती सबै अधिकारको कुराभन्दा कामको कुरा गरौं न, काम चाहिँ अघि बढेको छैन केही, काम गर्नुपर्यो ।’ प्रदेश सरकारले अझैपनि देश र जनताका लागि काम गर्न नसकेको भाव ब्यक्त गरे । उनले भने, ‘देश र जनताको पक्षमा प्रदेशले काम गर्नु पर्यो, विकासको काम गर्नु पर्यो, सुशासनको काम गर्नु पर्यो, यसतर्फ त कसैले ध्यान दिनु पर्यो, अधिकार, अधिकार मात्रै सधैं ?’
कांग्रेससंगको सम्झौता अनुरुप संविधान संशोधन के हुन्छ भनि पत्रकारले राखेको जिज्ञासामा उनले भने,’संविधान संशोधन गर्न किन आयोग गठन हुन्छ । संशोधन संसदले गर्ने हो । बनाउनका लागि आयोग चाहिने हो । अब सबै कुरामा आयोग बनाउन जरुरी छैन ।’