वीरगञ्ज। वीरगञ्ज महानगरपालिकाले करिब १० हजारभन्दा बढी छात्राहरुलाई लक्षित गर्दै आत्मरक्षा तालिमको आयोजना गरेको छ। बुधबार बिहान १० बजे सुरु भएको एक दिने तालिममा महानगरपालिका क्षेत्रभित्रका कक्षा ६ देखि १२ सम्मका छात्राहरु सहभागी भएका छन्।
यो तालिम वीरगञ्ज महानगरपालिकाको आयोजना तथा नेपाल भारत सहयोग मञ्चको समन्वयमा सम्पन्न भईरहेको छ। भारतका ख्यातिप्राप्त मार्शल आर्ट प्रशिक्षक डा. चिता यजनेश शेट्टीले छात्राहरुलाई आत्मरक्षा सम्बन्धी प्रशिक्षण दिदै छन ।
प्रशिक्षण कार्यक्रम आदर्शनगर रंगशालामा सञ्चालन भईरहेको छ , जसबारे महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णले जानकारी गराए।
प्रशिक्षक शेट्टी मार्शल आर्टिस्ट मात्र नभई अभिनेता, निर्देशक, निर्माता र फिटनेस प्रशिक्षकसमेत हुन्। उनले अमिताभ बच्चन, सलमान खान, अजय देवगन, गोविन्दा, फरहान अख्तर, ऋतिक रोशन, रेखा, करिश्मा कपुर, रवीना टंडन, माधुरी दीक्षित, रोजर मूर, ज्याकी च्यानजस्ता चर्चित बलिउड र हलिउड स्टारहरुलाई समेत प्रशिक्षण दिइसकेका छन्।
नेपाल भारत सहयोग मञ्चका अध्यक्ष अशोक वैद्यका अनुसार, यस आत्मरक्षा तालिमले छात्राहरुको आत्मविश्वास र आत्मसुरक्षामा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।
महानगरका सामुदायिक तथा निजी विद्यालयका छात्राहरुको उत्साहजनक सहभागिताले कार्यक्रमलाई थप प्रभावकारी बनाएको छ।