वीरगञ्ज । राप्रपा नेपालले धर्मनिरपेक्षता, संघीयता र गणतन्त्र असफल भएको निष्कर्ष निकालेको छ । वीरगञ्जमा सम्पन्न तराई मधेश राष्ट्रिय सम्मेलनको निर्णयमा सो पार्टीले भनेको छ- '२०६२/६३ को आन्दोलनपछि अवलम्बन गरिएका धर्मनिरपेक्षता, संघीयता र गणतन्त्र असफल प्रमाणित भएका छन् ।'
त्यस्तै राष्ट्रियता र प्रजातन्त्रलाई थप सुदृढ तुल्याउँदै सर्वधर्म समभाव र पूर्ण धार्मिक स्वतन्त्रतासहितको हिन्दुराष्ट्र, संवैधानिक राजसंस्था र सुदृढ स्थानीय स्वायत्त शासनप्रणाली कायम गरिनु पर्छ भन्ने आफ्नो माग रहेको पनि राप्रपा नेपालले जनाएको छ ।
हेर्नुस् राप्रपा नेपालको निर्णयः
राप्रपा नेपाल केन्द्रिय कार्यसमितिद्वारा बिरगंजमा आयोजित “तराई मधेस राष्ट्रिय सम्मेलन” उत्साहपूर्णरुपमा सम्पन्न भएको छ । सम्मेलनमा तराई मधेसका २१ जिल्लाका १८५ प्रतिनिधिहरूको सहभागिता रहेको थियो । सम्मेलनले देहायबमोजिम निर्णयहरू गरेको छः
१) सम्मेलनमा उपाध्यक्ष धीरेन्द्र झा तथा महामन्त्री राजराम वर्तौलाद्वारा प्रस्तुत ‘मधेस उत्थान बिशेष अभियान’ सम्बन्धि अवधारणापत्र र कार्ययोजना परिमार्जनसहित पारित गरेको छ ।
२) २०६२/६३ को आन्दोलन पछि अवलम्बन गरिएका धर्मनिरपेक्षता, संघियता र गणतन्त्र असफल प्रमाणित भएका छन् । राष्ट्रियता र प्रजातन्त्रलाई थप सुदृढ तुल्याउँदै सर्वधर्म समभाव र पूर्ण धार्मिक स्वतन्त्रतासहितको हिन्दुराष्ट्र, संवैधानिक राजसंस्था र सुदृढ स्थानीय स्वायत्त शासनप्रणाली कायम गरिनु पर्छ भन्ने राप्रपा नेपालको धारणा रहेको छ । उल्लेखित विषय मधेस उत्थान अभियानको प्रमुख एजेण्डा रहने छ ।
३) भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट देशलाई मुक्त तुल्याउने, हिन्दुराष्ट्र स्थापना तथा तराई मधेसको उत्थानको मुख्य उदेश्यका साथ आगामि २०८१ पौष महिनामा ‘चतराधाम-त्रिवेणीधाम जनजागरण अभियान’ संचालन गरिने छ ।
४) तराई मधेसका जनताको आर्थिक अवस्था सृदृढ तुल्याउने उदेश्यका साथ आर्थीक बिकासको समग्र पक्षलाई समेटेर नीति निर्माण गर्न तथा कार्यान्वयन गर्न सर्वाधिकार सम्पन्न ‘सिमावर्ती क्षेत्र एकिकृत बिकास प्राधिकरण’ (Border Area Integrated Development Authority) निर्माण गर्न राप्रपा नेपाल माग गर्दछ । यस सम्बन्धि कानुन संसदबाट अविलम्ब तयार गरिनु पर्छ ।
५) मिटरव्याजीको शोषण र सहकारी ठगीबाट पिडित जनताको हित रक्षाको निम्ति हालसम्म ठोस नीति र कदम चाल्न नसकेको तथा यस सम्बन्धि सरकारको उदासिनताप्रति सम्मेलन भत्सर्ना गर्दछ । सहकारीमा जम्मा भएको वचतकर्ताको रकम सुरक्षित गर्न तथा मिटरव्याजीको शोषणको जालोबाट स्थायीरूपमा पिडितलाई मुक्त तुल्याउन सरकारले तत्काल आबश्यक कानुनी र प्रशासनिक कदम उठाओस् भन्ने राप्रपा नेपालको माग रहेको छ ।
६) धर्मनिरपेक्षताको आडमा देशभर सनातन धर्म संस्कृति माथी आक्रमण भैरहेको छ । संगठित र योजनावद्धरुपमा धर्मपरिवर्तन गराउने कार्य व्यापक भैरहेको छ । तराई मधेसमा तुलनात्मक रुपमा यसको प्रभाव अहिले केही कम छ । तर, धर्मान्तरणकारीहरु मधेसमा पनि आक्रमण गर्ने तयारी गरी रहेका छन् । यो यथार्थलाई दृष्टिगत गर्दै नेपालको राष्ट्रिय पहिचान र मधेसको शानको रुपमा रहेको सनातन हिन्दुधर्मको रक्षार्थ आगामि दिनमा राप्रपा नेपालले सशक्त अभियान संचालन गर्नेछ ।
७) तराई मधेसको आर्थिक अवस्थालाई मात्र होईन, मुलुककै अर्थतन्त्रलाई कायापलट गर्न सक्ने पुर्व पश्चीम रेलमार्गको तत्काल संभाव्यता अध्ययन गरी दश वर्ष भित्र सम्पन्न गर्न गराउन राप्रपा नेपालले दवाव दिनेछ ।
८) तराई मधेसको मातृभाषाकोरुपमा रहेको मैथिली, भोजपुरी, अवधि र थारू भाषाको संरक्षण र सम्बर्धनका निम्ति सरकारले बिशेष ध्यान दिनुपर्छ । यस क्रममा ‘मातृभाषा संरक्षण आयोग’ गठन गरियोस् भन्ने राप्रपा नेपाल माग गर्दछ ।
९) कृषीको बिकासको निम्ति सिंचाईको ठूलो महत्व हुने हुँदा सिंचाईको बिकास र विस्तारको निम्ति तराईका सबै जिल्लाका सवै उर्वर भूमीमा सिंचाई सुविधा उपलव्ध गराउने गरी वृहत सिंचाई योजना तर्जुमा गरिनु पर्दछ । हाल निर्माणाधीन र चालु रहेका विभिन्न सिंचाई आयोजनाहरूको एकिकृत र समन्वयात्मक बिकास र विस्तारका निम्ति छुट्टै ‘तराई मधेस एकिकृत सिंचाई आयोजना’ ईकाई खडा गरिनु पर्छ भन्ने राप्रपा नेपालको धारणा रहेको छ ।
१०) देशको अन्न भण्डारकोरुपमा तराईलाई फेरी पुनर्स्थापित गर्न ‘कृषी बिकासको वैकल्पिक मोडल’ तयार गर्न पर्दछ । पाँच वर्ष भित्र खाद्यान्न, तरकारी, मासु, दुध, अण्डामा देशलाई आत्मनिर्भर गराउने गरी योजना बनाउन राप्रपा नेपालले सरकारलाई दवाव दिनेछ । यसक्रममा बिदेशबाट आयत गरिने उपरोक्त वस्तुहरुलाई नियन्त्रण गरियोस् भन्ने राप्रपा नेपालले माग गर्दछ ।
११) विगत केही वर्ष यता नेपाल-भारत सिमा वारपार अपराधिक घटना व्यापकरूपले बृद्धि हुँदै गैरहेको छ । यसबाट दुवै देशको सुरक्षामा समेत खतरा बढ्दै गैरहेको छ । त्यसर्थ, आवागमनमा वाधा नपर्ने गरी सिमा व्यवस्थापनको निम्ति भारतसँग सरकारले तत्काल वार्ता गरी उपयुक्त कदम चालोस् भन्ने पनि राप्रपा नेपालको माग रहेको छ ।
१२) प्रमुख भनिने राजनीतिक दलहरु असफल भएको वर्तमान अवस्थामा देशले बलियो राष्ट्रवादी प्रजातान्त्रिक विकल्प खोजिरहेको छ। यो यथार्थलाई आत्मसात गर्दै तथा मुलुकमा विद्यमान संकट समाधान गर्न समान विचारधारा भएका सबै दल र समुहका बिचमा एकता र सहकार्यको निमित्त सम्मेलन आह्वान गर्दछ ।
१३) सदियौंदेखि शोषण र विभेदको शिकार भएका दलित उत्पिडित समुदायको हित र उत्थानका निम्ति राज्यको सबै निकायमा र खासगरी जनप्रतिनिधित्वको क्षेत्रमा जनसंख्याको अनुपातमा सिट आरक्षण गर्न सम्मेलन माग गर्दछ।