धनुषा । मधेस प्रदेश सरकारले जनतालाई सरकारको अनुभूति दिलाउन नसकेको सत्ता गठबन्धन दलका नेताहरूको बैठकले निष्कर्ष निकालेको छ ।
जनमत पार्टी संसदीय दलको कार्यालयमा बिहीबार बसेको सत्ता गठबन्धन दलका नेताहरूको बैठकले मधेस प्रदेश सरकारको पछिल्लो चार महिनाको समीक्षा गर्दै प्रदेश सरकारले सक्रियता बढाउनु पर्ने निर्णय गरेको छ ।
प्रदेश सरकारको बजेट खर्च निराशाजनक भएको र सरकारको गतिविधि अघिल्लो सरकारको तुलनामा समेत कमजोर रहेको निष्कर्षमा पुगेको जनमत पार्टी संसदीय दलका नेता महेश यादवले बताए । ‘सत्ता गठबन्धनको स्प्रिटअनुसार प्रदेश सरकारले काम गर्न सकेको छैन,’ यादवले भने, ‘सरकार गठन हुँदा गरेको प्रतिबद्धता पूरा गर्न, गठबन्धन दलहरूबीच समन्वय एवं सरकारको प्रभावकारी कामका लागि दलहरूबीच समन्वय आवश्यक रहेको र जनतालाई प्रदेश सरकारको अनुभूति गराउन पहल गर्ने दलहरूबीच सहमति भएको छ ।’ बैठकमा प्रदेश सरकारको पहिलो चौमासिकको समीक्षा गरेको नेता यादवले बताए ।
जनतम पार्टीका मुख्यमन्त्री सतिशकुमार सिंह नेतृत्वको सरकारलाई चार महिनामा काम गर्न भएको समस्या तथा बाधा अवरोधलाई समाधान गरी सरकारलाई सफल बनाउन गठबन्धन दलका नेताहरू छलफलमा जुटेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) संसदीय दलका उपनेता उपेन्द्र महतोले बताए ।
‘सरकारमा सहभागी मन्त्रीहरूले मुख्यमन्त्रीसँग समन्वय भए/नभएको बारे मुख्यमन्त्री र मन्त्रीहरूलाई राखेर सरकारको समीक्षा गर्ने सहमति भएको छ,’ महतोले भने, ‘मन्त्रीको कर्यक्षमतामाथि प्रश्न उठेको खण्डमा पुनःविचार गर्ने दलका नेतहरूबीचमा सहमति भएको छ । एक/दुई जना मन्त्रीका कारण सरकारमाथि प्रश्न उठ्न नदिने दलहरूबीच सहमति भएको छ ।’
प्रदेश सरकारको काम प्रभावकारी बनाउने र बजेट खर्चमा भएको अवरोध खुलाउन गठबन्धन दल एकमत भएको महतोले बताए । आगामी दिनमा संसदीय दलको कार्यालयहरूमा सबै दलको संयुक्त बैठक बस्ने परम्परा अगाडि बढाउने विषयमा दलका नेताहरूले सहमति पनि गरेका छन् ।
गठबन्धन दलको बैठकमा नेकपा (एमाले) संसदीय दलका नेता एवं भौतिक पूर्वाधार मन्त्री सरोज यादव, नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव, जनमत पार्टी संसदीय दलका नेता महेश यादव र लोसपा संसदीय दलका उपनेता उपेन्द्र महतो सहभागी थिए । सम्भार ;कान्तिपुर