बिरगंज । विश्वहिन्दू परिषद् धनुषाले जनकपुरधामबाट तिलकको भार सहित अयोध्याका लागि शनिवार प्रस्थान गरेको छ ।
मिथिलामा बेहुली पक्षले बेहुलालाई तिलक चढाउने चलन छ । तर जनकपुरधामको जानकी मन्दिरबाट अयोध्या तिलक पठाइने चलन रहेको छैन् ।जानकी मन्दिरले राममन्दिरमा तिलकोत्सव कार्यक्रमको आयोजना गर्दै आएको छ । पहिलो पटक विश्वहिन्दू परिषद्को अगुवाईमा भगवान रामलाई अयोध्यामा तिलक चढाउने कार्यक्रमको थालनी गरिएको छ ।
भारसहित अयोध्या तिलक लिएर गएको टोलीलाई मधेश प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंह र जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहले विदाइ गरे । तिलकको भारसहित प्रस्थान गरेको यात्रामा मेयर साह लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको छ ।तिलक लिएर गएको टोली शनिवार राती बारा जिल्लाको गढीमाईमा रात्रि विश्राम गरेको छ ।
आइतवार तिलक लिएर गएको टोली साँझसम्म अयोध्या पुग्ने छ । सोमबार बिहान अयोध्यामा राममन्दिर ट्रष्टका सचिव समेत रहेका चम्पत्त रायलाई भारसँगै जानकी मन्दिरको आमन्त्रण पत्र हस्तान्तरण गरिने बताइएको छ ।जनकपुरधामबाट तिलकको नेतृत्व विश्वहिन्दू परिषद्का धनुषा जिल्ला अध्यक्ष सन्तोष साहले गरेका छन् ।
विश्वहिन्दू परिषद् अयोध्याका महासचिव राजेन्द्र सिंह पंकजको विशेष सकृयतामा जनकपुरधामबाट अयोध्यामा तिलक मगाइएको छ ।प्रारम्भमा जानकी मन्दिरबाट नै तिलक अयोध्या पठाउन महासचिव पंकजले दबाब बनाएका थिए । तर जानकी मन्दिरको चलनमा अयोध्या तिलक पठाउने कार्यक्रम नरहेको बताउँदै गौ संरक्षण मंचका अध्यक्ष जगदीश महासेठले विरोध गरेपछि मन्दिर पछाडि हटेको थियो । विश्वहिन्दू परिषद्को सकृयतामा थपिएको तिलक कार्यक्रमबारे स्थानीय र साधुसन्तहरु विभाजित छन् ।
तिलकमा साधुसन्तहरुको सहभागिता रहेको छैन् ।जानकी मन्दिरको प्रतिनिधित्व नरहेको तिलकको सम्पूर्ण तयारी विश्वहिन्दू परिषद् धनुषाले नै गरेको छ । यद्यपि तिलकको भार जानकी मन्दिर परिसरबाट नै पठाइएको हो ।तिलक सहितको टोलीलाई विदाइ गर्नेमा जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवको सहभागिता थियो ।
मङ्सिर २१ गते आयोजना हुने सीताराम विवाह महोत्सव जनकपुरधाममा सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रमहरुको आयोजनागरी मनाइन्छ ।भगवान रामको नगर दर्शन, फुलवारी लिला, धनुषयज्ञ, तिलकोत्सव, मटकोर , विवाहमहोत्सव र रामकलेवागरी विवाहमहोत्सवको सात दिने कार्यक्रम पूरा गरिन्छ ।विवाहमहोत्सवको सातैदिनको कार्यक्रम जानकी मन्दिरले नै आयोजना गर्छ ।
विवाहमहोत्सवमा अयोध्याबाट राममन्दिर ट्रष्टका सचिव चम्पत्त रायको नेतृत्वमा ५ सय बढी संख्यामा जन्ती आउन लागेको छ ।हप्ता दिन लगाएर जनकपुरधाम स्वयंरको दिन आइपुग्ने छ ।सीता स्वयंरमा अयोध्याबाट आउने जन्ती पनि सहभागि हुने बताइएको छ । सीताराम विवाहमहोत्सवमा जन्ती आउन तिलक सहितको टोलीले निम्तो दिने बताइएको छ ।त्यसका लागि जानकी मन्दिरबाट औपचारिक पत्र पनि टोलीको नेतृत्व गरिरहेको विश्वहिन्दू परिषद् धनुषाका अध्यक्ष साहले बताए ।
जानकी विवाह उत्सवमा सहभागी हुन प्रतीकात्मक रुपमा भगवान् श्रीरामका साथै चारै दाजुभाइ र तीन महारानीका लागि लत्ताकपडा गरगहनासँगै मखान, दहीच्यूरा, फलफूल पकवान मिष्ठान्न सौगातस्वरुप विश्वहिन्दू परिषद् अयोध्याका महासचिव राजेन्द्र सिंहको अगुवाईमा चम्पत्त रायलाई हस्तान्तरण गर्ने कार्यक्रम छ । भार सहितको टोलीलाई कारपुरममा रायले भेँटने छन् । त्यहाँ विश्वहिन्दू परिषदको कार्यालय रहेको छ ।त्यहाँबाट जनकपुरधामको टोली फिर्ता आउनेछ ।