काठमाडौं । नेकपा (एमाले)ले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय पत्रिका द हिन्दुलाई दिएको अन्तर्वार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीको विरुद्ध गरेका टिप्पणीहरूप्रति गम्भीर आपत्ति जनाएको छ ।
द हिन्दुसँगको अन्तर्वार्तामा प्रचण्डले प्रधानमन्त्री ओलीले ‘चाइना कार्ड’ प्रयोग गरेको र प्रधानमन्त्रीको चीन भ्रमणको निर्णय अपरिपक्व रहेको भन्दै सरकारको आलोचना गरेका थिए । प्रचण्डले नेपाल-भारत सम्बन्ध तनावग्रस्त भएको र फेरि सीमा समस्या चर्कने खतरा रहेकोलगायतका टिप्पणी गरेका थिए ।
एमालेले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै प्रचण्डको आरोप निराधार, गैरजिम्मेवारपूर्ण र नेपालको सार्वभौम छवि र परराष्ट्र नीतिमा गहिरो चोट पुर्याउने कार्य भएको जनाएको हो ।
एमाले सचिव तथा विदेश विभाग प्रमुख रघुवीर महासेठले जारी गरेको विज्ञप्तिमा प्रचण्डको यस्तो आरोपलाई निराधार र गैरजिम्मेवारपूर्ण भनिएको छ ।
सचिव महासेठले यस्ता टिप्पणीहरूलाई कूटनीतिक प्रोटोकलको उल्लंघन र नेपालको सार्वभौमसत्ताको अवहेलना भएको उल्लेख गरेका छन् ।
एमालेले स्पष्ट पारेको छ कि प्रधानमन्त्रीको चीन भ्रमण नेपालको स्वतन्त्र परराष्ट्र नीतिको प्रतिबिम्ब हो, कुनै ‘कार्ड कूटनीति’ होइन ।
एमालेले भारत र चीन दुवै नेपालको विकास र समृद्धिको महत्त्वपूर्ण साझेदार भएको उल्लेख गर्दै प्रचण्डको भनाइले यी दुई छिमेकी मुलुकसँगको सन्तुलित सम्बन्धमा असर पार्न सक्ने चिन्ता व्यक्त गरेको छ । एमालेले परराष्ट्र नीतिलाई सामान्य राजनीतिक विवादको विषय बनाउन नहुने बताउँदै प्रचण्डको अभिव्यक्ति नेपालको अन्तर्राष्ट्रिय छविका लागि हानिकारक भएको जनाएको छ ।
एमालेले पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहाललाई आफ्ना गैरजिम्मेवार अभिव्यक्तिहरू फिर्ता लिन र नेपाली जनतासँग माफी माग्न आग्रह गरेको छ । साथै, एमालेले भारत र चीन दुवैसँग सन्तुलित सम्बन्ध कायम राख्ने आफ्नो प्रतिबद्धता पनि दोहोर्याएको छ ।