रौतहट,०२ मंसिर । नेपाली कांग्रेसले मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि रौतहट जिल्लाका तीन वडाका अध्यक्ष पदका उम्मेदवारलाई औपचारिक रूपमा टिकट वितरण गरेको छ। गढीमाई नगरपालिका–८, राजपुर नगरपालिका–६, र इशनाथ नगरपालिका–७ मा हुने उपनिर्वाचनका लागि पार्टीले आफ्नो उम्मेदवारहरूको टुंगो लगाएको हो।
कांग्रेसका मधेश प्रदेश प्रचार विभाग प्रमुख नितेश कुमार गुप्ताका अनुसार, गढीमाई नगरपालिका–८ का लागि सुबोध कुमार यादव,राजपुर नगरपालिका–६ का लागि सम्से आलम, र इशनाथ नगरपालिका–७ का लागि शेख अब्दुल खलिकलाई पार्टीको तर्फबाट उम्मेदवार बनाइएको छ।
प्रचार विभाग प्रमुख गुप्ताले यी तीन वडामा नेपाली कांग्रेसको बलियो पकड रहेको बताउँदै उपनिर्वाचनमा पार्टीले तीनवटै वडामा जित हासिल गर्ने दाबी गरे। उनले भने, “हाम्रो संगठन, जनाधार र उम्मेदवारहरूको लोकप्रियताले हामीलाई जित सुनिश्चित गर्नेछ।”
मङ्सिर २ गते आज उम्मेदवारहरूको मनोनयन दर्ता प्रक्रिया सम्पन्न हुने भएकाले कांग्रेसले यस अवसरमा नेता, कार्यकर्ता, र शुभेच्छुकहरूलाई व्यापक रूपमा सहभागी भई पार्टीको एकताको प्रदर्शन गर्न आग्रह गरेको छ।
रौतहटसहित देशका विभिन्न जिल्लामा रिक्त स्थानीय पदहरूमा मङ्सिर १६ गते उपनिर्वाचन हुन लागेको हो। यस चुनावले पार्टीहरूको स्थानीय राजनीतिक पकडको परीक्षण गर्ने अपेक्षा गरिएको छ।
रौतहटका कांग्रेस समर्थकहरू पनि उम्मेदवारहरूलाई जिताउन एकजुट भएका छन्। तीनवटै वडामा उम्मेदवारहरूको प्रचारप्रसार कार्य तीव्र रूपमा भइरहेको र आम जनताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको छ।
उपनिर्वाचनको लागि तयारी अवस्थामा रहेको कांग्रेसले आफ्ना उम्मेदवारहरूमाथि विश्वास व्यक्त गर्दै उनीहरूलाई जिताउन सम्पूर्ण संगठनलाई परिचालन गरिसकेको छ। अब चुनावी परिणामले कांग्रेसको रणनीति र जनाधार कति बलियो छ भन्ने देखाउनेछ।