काठमाडौं । ‘पुष्पा २’को ट्रेलर सार्वजनिक गर्न दक्षिण भारतीय सुपरस्टार अल्लु अर्जुन आइतबार नेपाल सीमावर्ती बिहार आइपुगेका छन् । ट्रेलर सार्वजनिक गर्न पटनाको गान्धी मैदानमा भव्य मंच तयार पारिएको छ ।
भारतीय संचारमाध्यमले यसलाई अहिलेसम्मकै ग्रान्ड ट्रेलर रिलिज समारोह भनेका छन् । ‘पुष्पा २’जस्ता ठूला फिल्मका निर्माताले ट्रेलर सार्वजनिक गर्न बिहारलाई रोज्नुलाई अर्थपूर्णरुपमा लिइएको छ ।
भारतीय फिल्मको ट्रेलर लन्च सामान्यतया दिल्ली, मुम्बई, चेन्नइ र बैंगलोरमा हुन्छ । तर, ‘पुष्पा २’ धेरै कारणले पहिलो रोजाइमा पर्यो । तर, किन ? पटनामा गर्न लागिएको यो भव्य कार्यक्रम ऐच्छिक भने होइन ।
सन् २०२१ मा रिलिज भएको ‘पुष्पा’पछि अल्लु अर्जुन ‘पान-इण्डिया’ स्टार बनिसकेका छन् । तेलुगुभन्दा अन्य भारतीय राज्यमा पहिलोपटक यो फिल्मको सफलतालाई सेलिब्रेसन गरिएको थियो । यसबाट उनले नयाँ लोकप्रियता हासिल गरे । सुकुमार निर्देशित फिल्मबाट अभिनेताले भारतको राष्ट्रिय चलचित्र अवार्ड पनि जिते ।
बिहार पनि पुष्पाको क्रेजबाट अछुतो रहेन । अल्लुको देशी गुण्डा अवतारले विहारीलाई आकर्षित गर्यो । बिहारले विशेषगरि पुष्पाको प्रशंसामा निकै चासो देखायो । यस्तो पात्र जो च्यातिएको चप्पल र धोती लगाएर पनि राजाको जीवन बाँच्न मन पराउँछ ।
‘पुष्पा : द राइज’ बिहार राज्यको सबैभन्दा ठूलोे दक्षिण भारतीय हिट मध्ये एक हो । पुष्पाको जीवनशैली, उनको हाउभाउ, बोलीलाई बिहारमा निकै रुचाइयो । फिल्मको संगीत, विशेष गरी ‘श्रीवल्ली’ गीत यति लोकप्रिय थियो कि सन् २०२२ मा एक गायकले भोजपुरी संस्करण पनि बनाए जुन सोसल मिडियामा भाइरल भयो । यो फिल्म बिहारको स्याटेलाइट टेलिभिजनमा पनि ठूलो हिट भयो ।
निकै विश्लेषणपछि अल्लु अर्जुन लगायत निर्माताले पटनामा भव्य ट्रेलर लन्च आयोजना गरेर बिहारमा रहेका आफ्ना फ्यानप्रति कृतज्ञता व्यक्त गर्ने निर्णय गरे । भावनात्मक पक्ष बाहेक यो निर्णयले व्यावसायिक सोच पनि झल्काउँछ ।
अल्लु अर्जुनलाई दक्षिणमा कुनै परिचयको आवश्यकता छैन । ‘पुष्पा’ श्रृंखलाको लोकप्रियता दक्षिण राज्यमा अधिक छ । यदि निर्माताले दक्षिणी राज्यमा कम कमाइको आँकलन गरे भनेपनि, यसले बक्सअफिसको दौडलाई कहिल्यै असर गर्नेछैन ।
उत्तरी भारत विशेष गरी बिहारमा विशेष कार्यक्रम गर्नाले भीडलाई आकर्षित गर्नेछ । यसले दर्शकमा यो फिल्मलाई लिएर आत्मीय भावना जगाउने विश्वास छ । यसको असर, टिकटको झ्यालमा स्पष्ट देखिने अनुमान छ । ट्रेलर लन्च इभेन्ट नेपाली समयानुसार बेलुका ६ः१५ बजे आयोजना हुनेछ । उक्त समारोहमा भोजपुरी स्टार अक्षरा सिंहले पनि प्रस्तुति दिने जनाइएको छ । फिल्ममा रश्मिका मन्दाना र फदाह फासिलले पनि अभिनय गरेका छन् ।