काठमाडौं । शुक्रबारदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘अग्निदहन’लाई लिएर दर्शकमाझ प्रतीक्षा छ । निर्माताले सोमबार पत्रकार सम्मेलन गर्दै फिल्म हेर्नुपर्नाको कारण र निर्माण अनुभव बाँडेका छन् ।
साहित्यकार लोकमणि पौडेलको सोही नामको उपन्यासमा आधारित रहेर बनेको फिल्मले बोक्सीको नाममा महिलामाथि हुने हिंसाको कथा भन्छ । प्रस्तुतकर्ता कोविदशरण उपाध्यायले बोक्सी कुप्रथा उन्मूलन गराउन आफूहरुले फिल्म बनाएको बताए ।
‘समाजमा बोक्सी छैन भन्ने सन्देश दिन हामीले फिल्म बनाएका हौं । बोक्सीका नाममा अझै पनि महिलामाथि अत्याचार भइरहेका घटना बेलाबेलामा सार्वजनिक भइरहन्छन् । हामी फिल्ममार्फत बोक्सी हुँदैन र महिलालाई बोक्सीका नाममा अत्याचार गरिनुहुन्न भन्ने सन्देश दिन चाहन्छौं’, उनले भने ।
अभिनेत्री प्रमिला तुलाचनले आफूले ‘बोक्सी’को आरोप लागेकी माइली दमिनीको चरित्र निर्वाह गरेको जानकारी दिंदै त्यो चरित्र अध्ययन गर्न सुकुम्बासी बस्ती पुगेको बताइन् । ‘मैले निर्वाह गरेको चरित्र चुनौतीपूर्ण थियो । समाजको दुःखी, गरिब महिलाप्रति गरिने व्यवहार, एकल महिलालाई गरिने दुर्व्यवहार, असहाय महिलालाई लगाइने लाञ्छनाजस्ता दृश्य देखेर यही चरित्रलाई पर्दामा उतार्ने प्रयास गरेकी छु’, उनले भनिन् ।
कलाकार तुलसी क्षेत्रीले बोक्सीको आरोप लागेका महिलालाई धामीझाँक्रीले दिने यातना साँच्चै असह्य हुने गरेको बताइन् । ‘फिल्ममा मलाई धामीले फलाम डामेको दृश्य छ । त्यो दृश्यको सुटिङ गरेको भोलिपल्टसम्म मेरो शरीरमा घाउ थियो । बोक्सीको आरोप लागेका महिलालाई साँच्चै धामीले त्यसरी डाम्दा उनीहरुलाई झन् कति पीडा भयो होला’, उनले भनिन् ।
निर्देशक घनश्याम लामिछानेले यो फिल्म व्यावसायिक हिसाबले नबनाएको बताए । ‘मान्छे कोही पनि बोक्सी हुँदैन भन्ने सोचलाई देशव्यापी रुपमा अभियानको रुपमा अगाडि बढाउन फिल्म निर्माण गरेका हौं’, उनले भने ।
फिल्ममा प्रकाश घिमिरे, प्रमिला तुलाचन, माओत्से गुरुङ, अनुपमा भण्डारी, तुलसी क्षेत्री, विष्णु बास्तोला, ताराबहादुर गुरुङको अभिनय छ । फिल्ममा लोकमणि पौडेलको पटकथा तथा संवाद, कोविदशरण उपाध्यायको परिकल्पना, परिच्छेद सेनको सहायक निर्देशन, दीर्घ गुरुङको छायांकन, दीर्घ खड्काको सम्पादन, शंकर पाण्डेको प्रोडक्सन डिजाइन छ ।
यो फिल्म भारतको बिहारस्थित सीतामढीमा कमाण्डेन्ट अफ एसएसबी–२० औं बटालियनमा बटालियन प्रमुख गिरीशचन्द्र पाण्डेय र फिल्मको निर्माण पक्षको उपस्थितिमा प्रदर्शन गरिएको थियो । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि फिल्म हेरेका छन् । चलचित्र विकास बोर्डले ‘विशेष चलचित्र अवार्ड’ समेत दिइसकेको छ ।