वीरगञ्ज । विश्व विद्यार्थी दिवसको अवसरमा वीरगञ्जमा वादविवाद तथा सांस्कृतिक नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।
उत्तम नेपाल संस्थाको आयोजनामा वीरगञ्ज पब्लिक कलेजको सभा हलमा प्रतियोगिता सम्पन्न भएको हो ।
वादविवाद प्रतियोगितामा सिद्धार्थ माध्यमिक विद्यालयले प्रथम स्थान हासिल गरेको छ । नेपाल रेल्वे माध्यमिक विद्यालय दोस्रो तथा श्री नेपाल राष्ट्रिय गीता गजेन्द्र जोशी माध्यमिक विद्यालय तेस्रो स्थानमा हासिल गरेको छ ।
सांस्कृतिक नृत्य प्रतियोगितामा भने श्री नेपाल राष्ट्रिय गीता गजेन्द्र जोशी माध्यमिक विद्यालयले प्रथम स्थान प्राप्त गरेको छ । यसै गरी सुरजी देवी माध्यमिक विद्यालयले दोस्रो तथा नेपाल रेल्वे माध्यमिक विद्यालयले तेस्रो स्थान हासिल गरेको छ ।
विजयी विद्यालयका छात्रछात्रालाई मेडल, शिल्ड र प्रमाणपत्रले सम्मान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि मधेस विश्वविद्यालयका उपकुलपति दीपक शाक्यले विद्यार्थीहरूलाई शुभकामना दिँदै सामुदायिक विद्यालयमा अतिरिक्त क्रियाकलापको कमी रहेको र यस्ता कार्यक्रमले नयाँ ऊर्जा तथा उत्साह सिर्जना गर्ने बताए । साथै, उनले यस्ता कार्यक्रमलाई निरन्तरता दिन सुझाव दिए ।
१० सामुदायिक विद्यालयको सहभागिता
उक्त प्रतियोगितामा १० वटा सामुदायिक विद्यालयहरूको सहभागिता रहेको संस्थाका अध्यक्ष विट्टु गुप्ताले जानकारी दिए । वादविवाद प्रतियोगिताको निर्णायक मण्डलमा एनप्याब्सन वीरगञ्ज महानगरका अध्यक्ष जियालाल गुप्ता र प्रधानाध्यापक अशोक साह रहेका थिए ।
सांस्कृतिक नृत्य प्रतियोगिताका निर्णायक मण्डलमा नृत्य प्रशिक्षक अमन गुप्ता र इसुध खडकी रहेका थिए ।
कार्यक्रम उत्तम नेपाल संस्थाका संस्थापक फिरोज अन्सारीको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन आयुस्मा सोनीले गरेकी थिइन् ।
विद्यार्थीको प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजना गरिएको यो प्रतियोगितामा उपस्थित शिक्षक तथा निर्णायकहरूले विजयी र सहभागी विद्यार्थीहरूलाई शुभकामना दिँदै आगामी प्रतियोगिताका लागि अझ राम्रो तयारी गर्न सुझाव दिए ।