पछिल्ला केही महिनादेखि एप्पलले आगामी वर्ष लञ्च गर्ने विभिन्न प्रडक्ट बारेका विभिन्न खुलासाहरु समाचारका शीर्षक बन्दै आएका छन् । आगामी वर्ष सन् २०२५ मा एप्पलले सार्वजनिक गर्ने आइफोन एसईको नयाँ संस्करणसँगै आइफोन १७ सिरिज तथा नयाँ म्याकबुक एयरका बारेमा पनि विभिन्न अनुमान तथा समाचार आइनै रहेका छन् । यी सबैको बीचमा एप्पलले सन् २०२५ मा लञ्च गर्ने आइफोन एसईको नयाँ संस्करण सबैभन्दा प्रतिक्षित प्रडक्टको रुपमा रहनेछ । किनकि एप्पलले ३ वर्षपछि आइफोन एसई सिरिजको नयाँ फोन सार्वजनिक गर्दैछ ।
एप्पलले आगामी वर्ष आइफोन एसई ४ को अपग्रेडेड भर्सन सार्वजनिक गर्ने बताइएको छ । समाचार अनुसार यो सस्तो आइफोनको नयाँ संस्करण सन् २०२५ को मार्च सम्ममा सार्वजनिक हुनेछ ।
एप्पलले आइफोन एसई ४ लाई विभिन्न महत्वपूर्ण अपग्रेडका साथमा पेश गर्नेछ । जसमा नयाँ फिचर निम्न रहनेछन् :
डिजाइन र डिस्प्लेः एप्पलले सन् २०२० मा आइफोन एसई २ सँगै नयाँ नयाँ सुरुवात गरेको थियो । उसले आइफोन एसई ४ लाई आइफोन ८ को डिजाइनमा पेश गरेको थियो । आइफोन एसई २ मा टच आइडी तथा होम बटन राखिएको थियो, जुन एप्पलको आइकनिक बटन हो । यसमा ४.७ इन्चको एलसिडी डिस्प्ले थियो । तर, अब आइफोन एसई ४ को नयाँ संस्करणमा आइफोन १४ मा जस्तै नच डिस्प्ले र ६.१ इन्चको ओएलइडी डिस्प्ले रहनेछ ।
नयाँ क्यामरा सेटअप : आइफोन एसई ४ को नयाँ संस्करणमा पनि पछाडिको भागमा हुने मुख्य क्यामरा एउटा मात्रै हुनेछ । तर, यसको क्यामेरा चाहिं अधिक मेगापिक्सेल सहित शक्तिशाली हुनेछ । क्यामेरामा स्मार्ट एचडिआर, डीप फ्युजन तथा उत्कृष्ट नाइट मोड फिचर उपलब्ध हुनेछ । आइफोन एसई ४ मा ४८ मेगापिक्सेलको मूख्य क्यामेरा र १२ मेगापिक्सेलको सेल्फी क्यामेरा रहनेछ।
एप्पल इन्टेलिजेन्स : ब्लुम्बर्गका मार्क गुरमनको रिपोर्ट अनुसार आगामी आइफोन एसईले एप्पल इन्टेलिजेन्स सपोर्ट गर्नेछ, जसमा ए१८ चिप र ८ गिगाबाइट र्याम रहनेछ । यो एप्पलको सबैभन्दा सस्तो आइफोनका लागि एक अप्रत्यासित कदम हुनसक्छ । यसबाट एप्पलले आफ्नो एआईलाई सबै ग्राहकसम्म पूराउन चाहेको प्रष्ट हुन्छ।
एप्पलको पहिलो फाइभ जी मोडेम : एप्पलले लामो समयदेखि आफ्नै मोडेम विकाश गर्ने प्रयास गरिरहेको छ । अन्ततः आइफोन एसई ४ सँगै कम्पनीको यो सपना पूरा हुँदैछ । रिपोर्ट अनुसार यो नयाँ मोडेमले ब्याट्री खपतलाई धेरै हदसम्म कम गर्नेछ, खासगरी जब प्रयोगकर्ताले लो पावर मोड सक्रिय बनाउँछन् । आइफोन एसई ४ सफल भएमा भविष्यमा आइफोनका अन्य मोडेलमा पनि यो प्रविधि अपनाइनेछ ।
यूएसबी चार्जिङ : आइफोन एसई ४ मा लाइटनिंग कनेक्टरको साटो यूएसबी सी पोर्ट हुनेछ । वास्तवमा एप्पलले आइफोन १५ सिरिज पछिका आफ्ना सबै नयाँ आइफोन मोडेलमा यूएसबी सी पोर्ट राख्न थालेको छ ।
मूल्य : महत्वपूर्ण अपग्रेडसँगै एप्पलले यो पटक एसई सिरिजको मूल्य पनि बढाउनेछ । हालको आइफोन एसई ४ को मूल्य ४२९ डलर रहेकोमा अब नयाँ संस्करणको मूल्य करिब ५ सय डलर हुने अपेक्षा गरिएको छ ।