सप्तरी । राजविराज कारागारमा बन्दी जिवन बिताइरहेकी एक महिला कैदीलाई बलात्कार गरेको आरोप लागेका सोही कारागारका कर्मचारी बिरुद्ध अदालतले पक्राउ पूर्जी जारि गरेको छ ।
राजविराज ८ निवासी चन्दन भनिने चन्द्रनारायण यादवबिरुद्ध सप्तरी जिल्ला अदालतले आइतबार पक्राउ पुर्जी जारि गरेको हो ।
३० वर्षि यादव राजविराज कारागारका कार्यालय सहयोगि हुन् । विगत १७ वर्षदेखी करार सेवामा कार्यरत यादवविरुद्ध पक्राउ पूर्जी जारि भएसँगै उनको करार सम्झौता रद्द गरिएको जेलर प्रविण कुमार अधिकारीले जानकारी दिए ।
पीडित भनिएकी महिलाले ८ महिना अघि कार्यालय सहयोगि यादवले कारागारको प्रशासनिक कक्ष नजिकैको बिजुली घरमा लगेर बलात्कार गरेको भन्दै उनी बिरुद्ध जिल्ला प्रहरी कार्यालय उदयपुरमा जाहेरी दिएकी थिइन् । ती महिला हाल उदयपुर जिल्ला कारागारमा बाँकी जेल सजाय भुक्तान गरिरहेकी छिन् ।
राजविराज कारागारमा कैद सजाय भुक्तान गरिरहेका बखत २०८० माघ ५ गते दिउँसो ४ बजेतिर कार्यालय सहयोगि चन्दनले “जरुरी काम छ भन्दै बिजुली घरमा लगेर डर, त्रास र धम्की दिँदै बलात्कार गरेको” उनले जाहेरीमा उल्लेख गरेकी छिन् ।
सो जोहरी जिल्ला प्रहरी कार्यालय उदयपुरहुँदै जिल्ला प्रहरी कार्यालय सप्तरी आइपुगेपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।
पीडित भनिएकी महिला २०७६ साउन १६ देखी कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र आत्महत्या दुरुत्साहन कसुरमा बन्दी जिवन बिताइरहेकी छिन् । यादव बिरुद्ध पक्राउ पूर्जी जारी भएपछि उनको खोजि कार्य थालिएको प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडाले बताए ।
आरोपी चन्दनले भने ती महिलाले लगाएको आरोप असत्य रहेको दाबीका साथ आफू बिरुद्ध पक्राउ पूर्जी जारी भएकाले एक दुई दिनभित्रै अदालतमा उपस्थित भई आफ्नो पक्ष राख्ने बताएका छन् ।