बारा । बारा जिल्ला अदालतबाट विभिन्न मुद्दामा दोषी ठहर भएका पाँच फरार प्रतिवादीलाई निजगढ प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक सुमित कुशवाहाको नेतृत्वमा खटिएको टोलीले निजगढ नगरपालिका क्षेत्रका विभिन्न स्थानमा लुकेर बसेका उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेका व्यक्तिहरूमा निजगढ वडा नम्बर ९ का खडकराज मैनाली, वडा नम्बर २ का सागर राई, वडा नम्बर ८ की माया गोले (नानसाईली), बालकृष्ण थापा (अर्जुन थापा), र इन्दीरा थापा रहेका छन्।
अदालतको फैसला र प्रक्रियाः
- खडकराज मैनाली: चेक अनादर मुद्दामा जिल्ला अदालतले ५ सय रुपैयाँ जरिवाना तोकेको थियो। जरिवाना बुझाएर उनी मंगलवार नै छुटेका छन्।
-
- सागर राई: सवारी ज्यान मुद्दामा १ महिना कैद र १ हजार जरिवाना सुनाइएको थियो। उनले पनि जरिवाना बुझाएर छुटेका छन्।
-
- माया गोले: लागूऔषध मुद्दामा एक वर्ष कैद र ५ हजार जरिवाना फैसला भएको थियो। उनलाई निजगढकै घरबाट पक्राउ गरिएको हो।
-
- बालकृष्ण थापा: एक वर्ष ६ महिना कैद र ५ हजार जरिवाना तोकिएको थियो।
-
- इन्दीरा थापा: २ हजार रुपैयाँ जरिवाना फैसला भएको थियो।
मैनाली र राई जरिवाना बुझाएर रिहा भए पनि अन्य तीन जनालाई जिल्ला अदालत बारामा बुझाइएको प्रहरीले जनाएको छ।
फरार प्रतिवादीद्वारा आत्मसमर्पण
यसैबीच, फरार प्रतिवादीहरूमाथिको पक्राउ अभियानले थप प्रभाव जमाउँदै गर्दा एक जना प्रतिवादी आफैँ आएर आत्मसमर्पण गरेका छन्। डिभिजन वन कार्यालय सिमराको सूचनाअनुसार, करैयामाई गाउँपालिका वडा नम्बर ५, तेतरिया निवासी जयप्रकाश सहनीले आत्मसमर्पण गरेका हुन्।
सहनीको स मीलबाट १ सय क्युफिट अबैध काठ बरामद भएपछि वन पैदावार हानीनोक्सानी तथा ओसारपसार मुद्दामा उनलाई एक वर्षदेखि खोजी गरिँदै आएको थियो। कार्यालयले सहनीमाथि १ लाख १८ हजार ७५० रुपैयाँ बिगो असुली दाबी गरेको छ।
डिभिजन वन कार्यालय बाराका डिभिजनल वन अधिकृत राजीवकुमार झाले सहनीलाई अहिले थुनुवा कक्षमा राखिएको जानकारी दिए।
प्रहरी र वन कार्यालयका प्रयास
निजगढ प्रहरी र डिभिजन वन कार्यालयको सक्रियताले फरार प्रतिवादीहरू पक्राउमा ठूलो सफलता प्राप्त गरेको छ। यसले कानून कार्यान्वयनमा नागरिकको विश्वास बढाउने अपेक्षा गरिएको छ।