वीरगञ्ज । प्रादेशिक आयुर्वेदिक तथा वैकल्पिक चिकित्सालय वीरगञ्जले आज पाँच वर्षमुनिका बालबालिकालाई स्वर्णबिन्दु खोप खुवाउँदै छ। बालबालिकाको प्रतिरक्षा प्रणाली वृद्धि गर्न तथा शारीरिक र मानसिक विकासमा टेवा पुर्याउने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको हो।
चिकित्सालयले प्रत्येक महिनाको निश्चित मितिमा यस्तो कार्यक्रम सञ्चालन गर्दै आएको छ। चिकित्सालयका प्रमुख डा. शिवनारायण गुप्ताका अनुसार स्वर्णबिन्दुले बालबालिकाको मस्तिष्कको विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउँदै बालबालिकालाई यस खोप खुवाउन अभिभावकलाई आग्रह गरेका छन्।
स्वर्णबिन्दुको महत्व
डा. गुप्ताले बालबालिकाको शारीरिक तथा मानसिक विकासको प्रारम्भिक अवस्था (एकदेखि पाँच वर्ष) अत्यन्तै संवेदनशील हुने भएकाले स्वर्णबिन्दु खुवाउन आवश्यक रहेको बताए। यो खोपले निमोनिया, झाडापखालालगायत रोगबाट बच्न सहयोग गर्ने र बालबालिकाको तौल वृद्धिमा पनि सहयोग पुर्याउने उनले जानकारी गराए।
नियत समय तालिका
डा. गुप्ताका अनुसार चालू आवमा साउन २०, भदौ १५, असोज ११, कात्तिक ८ मा स्वर्णबिन्दु खुवाइएको थियो। आगामी खोप कार्यक्रम मङ्सिर ६ गतेका लागि तय गरिएको छ। यसैगरी, पुस ३, माघ २, फागुन २६, वैशाख २१, जेठ १८, र असार ११ मा पनि स्वर्णबिन्दु खुवाउने योजना रहेको छ।
चिकित्सालयले यो अभियानमा सक्रिय सहभागिता जनाउन अभिभावकहरूलाई आह्वान गरेको छ।