धनगढी । गृहमन्त्री रमेश लेखकले तत्काल मन्त्री फेरिने चर्चा हल्लामात्र भएको बताएका छन्।
आज धनगढीमा नेपाल प्रेस युनियन कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले नेपाली कांग्रेस र नेकपा एमालेको समीकरणमै बनेको सरकारमा मन्त्री फेरिने चर्चा अहिलेसम्म हल्लामात्र भएको दावी गरेका हुन्।
मन्त्री फेर्ने अधिकार प्रधानमन्त्रीमा निहीत भए पनि आजसम्म त्यसबारे मन्त्रिपरिषदमा कुनै कुरा नउठेको उनले बताए।
‘सरकार गठन भएकै हुँदैन सरकार ढल्छ भन्ने हल्ला र वेलावेलामा मन्त्री हेरफेर हुन्छन् भन्ने हल्ला एकथरीले चलाइरहन्छन्, त्यसकारण अहिले नै त्यस्तो मन्त्री हेरफेर हुने कुरा हल्लामात्रै हो‚’ गृहमन्त्री लेखकले भने।
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणलाई लिएर सत्ता गठबन्धनमा कुनै समस्या नरहेको पनि उनले बताए।
उनले भने, ‘अहिले प्रधानमन्त्री चीन भ्रमणमा जानुहुन्छ, त्यसपछि मित्रराष्ट्र भारत जानुहुन्छ। यसले गठबन्धन ढल्ने तथा सरकारै परिवर्तन हुने कुरामा खासै महत्व राख्दैन।’
बीआरआईअन्तर्गतका परियोजनाका लागि सहयोग लिने सम्बन्धमा कांग्रेस र एमालेका फरक फरक मान्यता देखिएको भए पनि दुवै दल समझदारीका आधारमा अघि बढ्ने पनि उनले बताए।
उनले भने,‘बीआरआईमा अनुदान लिने तर ऋणका रुपमा भने स्वीकार नगर्ने कांग्रेसको औपचारिक निर्णय हो।’
मन्त्री लेखकले आफ्नो गृहजिल्ला कञ्चनपुरमा भएको निर्मला पन्त बलात्कार तथा हत्याको अनुसन्धान जारी रहेको समेत बताए।
उनले भने, ‘निर्मला हत्याको घटना लामो समय भइसक्यो, अनुसन्धान जारी रहन्छ। गृहमन्त्री लेखक केही दिनअघि सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुन सुदूरपश्चिम आएका थिए।