काठमाडौं । नेकपा एमालेका सचिव शंकर पोखरेलले नेकपा एमाले र त्यसको नेतृत्वका विरुद्धमा षडयन्त्रपूर्ण कुप्रचार भइरहेको बताउनुभएको छ ।
सामाजिक सञ्जाल फेसबुक मार्फत पोखरेलले किन र कसको प्रायोजनमा यो भइरहेको छ भन्दै प्रश्न गर्नुभएको छ । उहाँले एमाले राष्ट्र र राष्ट्रियताको पक्षमा उभिएको कारण एमालेविरुद्ध कुप्रचार गरिएको बताउनुभएको छ । ‘के नेकपा एमालेले स्वाधीनता, स्वाभिमान र राष्ट्रिय हितका पक्षमा अडान लिनु र नेपालको गुमेको भूभाग समेटेर नक्सा प्रकाशित गर्नु अपराध हो ?’, उहाँले प्रश्न गर्नुभएको छ ।
‘नेपालको विकास र समृद्धिका लागि मेघा परियोजनाहरू अघि बढाउनु, सुरुङ, रेल र पानी जहाजको योजना अघि सार्नु गलत हो ?, नेपालको विकासका लागि छिमेकी मित्र राष्ट्रहरूबाट सहुलियतपूर्ण ऋण सहायता लिनु के गÞलत हो ?, नेपाललाई भूपरिवेष्टित मुलुकबाट भू जडित मुलुकमा बदल्नका लागि उत्तरी छिमेकी चीनसँग व्यापार र पारवहन सम्झौता गर्नु गलत हो ?’, पोखरेलले प्रश्न गर्नुभएको छ ।
एमालले भरतबाट थप बन्दरगाह प्रयोगको अधिकार प्राप्त गरेको स्मरण गराउँदै पोखरेलले लेख्नु भएको छ– ‘के भारतको कलकत्ता पोर्टको विकल्पका रूपमा भारतबाट थप बन्दरगाह प्रयोगको अधिकार सुनिश्चित गर्नु गÞलत हो ?’
उहाँले एमालेको पालामा भएका विभिन्न कामको फेहरिस्त प्रस्तुत गर्दै अगाडि लेख्नु भएको छ– ‘के नेपालले भैरहवा गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलका लागि भारतसँग अनुकूल एअररुटको माग गर्नु गलत हो ? के नेपालले आफूलाई स्वाधीन राष्ट्रकारुपमा समनताका आधारमा व्यवहारको माग गर्नु गलत हो ? के राष्ट्रको विकास र समृद्धिका लागि सहुलियतपूर्ण ऋण सहायता परिचालन गर्नु गÞलत हो ?’
यदि यसो गर्नु गलत लाग्छ भने नेकपा एमालेको विरोध गर्नु जायज हुने उहाँले स्पष्ट पार्नुभएको छ । ‘होइन भने देश बनाउनका लागि उसले गरेका राम्रा काममा साथ देऊ, काम गर्नेलाई हौसला देऊ, कमीकमजोरी भए सुझाव देऊ, विकल्प भए विकल्प देऊ’, पोखरेलले लेख्नु भएको छ ।
अस्थिरता सिर्जना गर्ने उद्देश्य अनुरूप प्रायोजित रूपमा सिर्जित षडयन्त्र र भ्रमबाट समाज र राजनीतिलाई मुक्त गर्न पनि पोखरेलले आह्वान गर्नुभएको छ ।