रौतहट । चन्द्रपुर नगरपालिकामा प्रथम चन्द्रपुर मेयर कप टी–२० क्रिकेट प्रतियोगिता भव्य रुपमा सुरु भएको छ। नयाँ खेलाडी उत्पादन गर्दै स्थानीयस्तरमा क्रिकेटको विकास र खेलाडीको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले चन्द्रपुर नगरपालिका र संघर्ष युवा क्लब चन्द्रपुर–५ को सहकार्यमा प्रतियोगिता आयोजना गरिएको हो।
प्रतियोगिता मंसिर ७ देखि १७ गतेसम्म चन्द्रपुर वडा नम्बर ८ को कोटीहोम क्रिकेट मैदानमा सञ्चालन हुनेछ। आयोजकका अनुसार रौतहटका छ नगरपालिका र भारतका दुई टोलीसहित कुल आठ टोलीले सहभागिता जनाएका छन्।
खेलको उद्घाटन गर्दै नगर प्रमुख सञ्जय कुमार काफ्लेले खेलकुदले राष्ट्र र स्वास्थ्य दुवैका लागि महत्वपूर्ण भूमिका खेल्ने बताउँदै, चन्द्रपुर नगरपालिकाले खेल क्षेत्रलाई प्राथमिकता दिएको उल्लेख गरे। “क्रिकेटजस्तै प्रतियोगिताले स्थानीय खेलाडीलाई अवसर प्रदान गर्नुका साथै रौतहटलाई क्रिकेटको उर्वर भूमि प्रमाणित गर्न मद्दत गर्नेछ,” मेयर काफ्लेले भने।
उद्घाटन खेलमा गौरको जित
उद्घाटन खेलमा गौर नगरपालिकाले चन्द्रपुर नगरपालिकालाई ४ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको छ। टस जितेर फिल्डिङ रोजेको गौरले उत्कृष्ट बलिङ गर्दै चन्द्रपुरलाई १७.२ ओभरमै ८० रनमा समेट्यो।
८१ रनको लक्ष्य पछ्याएको गौरले १६.१ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पूरा गर्यो। गौरको जितमा असाब हुसेनले २३ रनको महत्वपूर्ण योगदान दिए भने रियाज शेखले १४ रन बनाए।
चन्द्रपुरका लागि गौरब खड्काले २२ रन जोडे भने अभिषेक रौनियारले १२ रन बनाए। गौरका बलर आषिक बैठाले उत्कृष्ट प्रदर्शन गर्दै ४ विकेट लिए। यसैगरी, सनि साहले २ विकेट हात पार्दा इस्तियाक अली, रोहित क्षेत्री, र रियाज शेखले एक–एक विकेट लिए। खेलको म्यान अफ द म्याच गौरका आषिक बैठा घोषित भए।
आजका खेल
कार्यक्रम संयोजक देवराज कार्कीका अनुसार आज प्रतियोगितामा दुई खेल हुनेछ। पहिलो खेल गरुडा नगरपालिका र मधवनारायण नगरपालिकाबीच हुनेछ भने दोस्रो खेल गौर नगरपालिका र यमुनामाई नगरपालिकाबीच हुनेछ।
प्रतियोगिताले स्थानीय खेलाडीलाई अघि बढाउन मात्र नभई चन्द्रपुरलाई क्रिकेटको नयाँ गन्तव्यका रूपमा परिचित गराउने विश्वास गरिएको छ।